काठमाडौं । नेपाली इस्पोर्ट्स टोली होरा इस्पोर्ट्स पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप (पिएमजिसी) २०२६ मा प्रतिस्पर्धा गर्न टर्किए प्रस्थान गरेको छ । प्रतियोगिता नोभेम्बर २६ देखि डिसेम्बर १३ सम्म टर्किएको इस्तानबुलमा आयोजना हुँदैछ । पब्जी मोबाइलको सन् २०२६ को प्रतिस्पर्धात्मक सिजनको अन्तिम प्रतियोगिताका रूपमा रहेको पिएमजिसीमा विश्वका ३९ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको कुल पुरस्कार राशि ३० लाख अमेरिकी डलर रहेको छ । प्रतियोगिता गन्टलेट, ग्रुप स्टेज, लास्ट चान्स र ग्राण्ड फाइनल गरी चार चरणमा सञ्चालन हुनेछ । नोभेम्बर २६ र २७ मा हुने गन्टलेट चरणमा १६ टोली सहभागी हुनेछन् । यस चरणबाट शीर्ष ६ टोली सिधै ग्राण्ड फाइनलमा प्रवेश गर्नेछन् भने बाँकी १० टोलीले ग्रुप स्टेजमा प्रतिस्पर्धा गर्नेछन् । ग्रुप स्टेज नोभेम्बर २९ र ३० तथा डिसेम्बर २ र ३ मा सञ्चालन हुनेछ । यस चरणमा ३२ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । दुवै समूहका शीर्ष तीन टोलीले ग्राण्ड फाइनलमा स्थान सुरक्षित गर्दा चौथोदेखि ११औँ स्थानसम्मका टोलीले लास्ट चान्समा प्रतिस्पर्धा गर्नेछन् । डिसेम्बर ५ र ६ मा हुने लास्ट चान्सबाट शीर्ष तीन टोली ग्राण्ड फाइनलमा पुग्नेछन् । डिसेम्बर ११ देखि १३ सम्म सञ्चालन हुने ग्राण्ड फाइनलमा १६ टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । नेपाली टोली होरा इस्पोर्ट्सले विश्वस्तरीय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै उपाधि यात्राका लागि प्रतिस्पर्धा गर्नेछ ।
पिएमजिसी खेल्न होरा इस्पोर्ट्सको टोली टर्किए प्रस्थान

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






