काठमाडाैँ । नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी इकाई (एफआईयू–नेपाल) ले “रणनीतिक विश्लेषण प्रतिवेदन, २०२६: हुन्डी” सार्वजनिक गरेको छ। प्रतिवेदनअनुसार हुन्डी परम्परागत व्यापार र रेमिट्यान्सको साधनबाट अपराधजन्य रकम शुद्धीकरणको सङ्गठित, सीमापार र डिजिटल रूपमा समन्वय हुने माध्यम बनेको छ। प्रतिवेदनमा २०२५ जनवरी २ देखि २०२६ जुलाई १६ सम्मको तथ्याङ्क विश्लेषण गरिएको छ। यस अवधिमा एफआईयूमा कुल १५ हजार ८१५ एसटीआर/एसएआर प्राप्त भएका थिए भने तीमध्ये एक हजार ६७२ (१०.५७ प्रतिशत) हुन्डीसँग सम्बन्धित थिए। यी प्रतिवेदनमध्ये ८९.८९ प्रतिशत वाणिज्य बैंकले पठाएका हुन्। विकास बैंकले ७.१८ प्रतिशत, वित्त कम्पनीले १.६७ प्रतिशत, रेमिट्यान्स कम्पनीले ०.७८ प्रतिशत र भुक्तानी सेवा प्रदायक/सञ्चालकले ०.४८ प्रतिशत पठाएका छन्। शंकास्पद व्यक्तिमध्ये ८४ प्रतिशत पुरुष र १६ प्रतिशत महिला छन्। उमेर समूहमा २५–३४ वर्ष (३९ प्रतिशत), ३५–४४ वर्ष (२६.५ प्रतिशत) र १८–२४ वर्ष (१८ प्रतिशत) छन्। भौगोलिक रूपमा मधेश प्रदेशको हिस्सा ५३ प्रतिशत छ भने कोशी प्रदेशको १६ प्रतिशत र लुम्बिनीको १२.५ प्रतिशत छ। जिल्लागत रूपमा सिराहा (१०.५ प्रतिशत), सप्तरी (१० प्रतिशत), सुनसरी (९ प्रतिशत), धनुषा (८ प्रतिशत) र महोत्तरी (७.५ प्रतिशत) शीर्ष पाँचमा छन्। प्रतिवेदनले यसको कारण भारतसँगको खुला सिमाना र यी क्षेत्रबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या धेरै हुनुलाई मानेको छ। पेसाका हिसाबले खाता खोल्दा “व्यवसाय” उल्लेख गर्ने ५१.५ प्रतिशत छन्। तलबी कर्मचारी १३ प्रतिशत, कृषि ११ प्रतिशत, विद्यार्थी ९ प्रतिशत, वैदेशिक रोजगार ७ प्रतिशत र गृहिणी ५.५ प्रतिशत छन्। विद्यार्थी र गृहिणीको उपस्थितिले तेस्रो पक्षको खाता (मनी म्युल) प्रयोग भएको सङ्केत गर्ने प्रतिवेदनले उल्लेख गरेको छ। फर्महरूमा खुद्रा व्यापार (४३ प्रतिशत) र रेमिट्यान्स सब–एजेन्ट (४१.५ प्रतिशत) ले मात्र ८४ प्रतिशत छन्। करिब ४० प्रतिशत प्रतिवेदन खाता खोलेको एक वर्षभित्र पठाइएको छ, जसले केही खाता हुन्डीकै लागि खोलिएको वा अर्काको खाता भाडामा लिइएको हुन सक्ने सङ्केत गर्छ। पाँच वर्षमा कुल बिगो ३८७.०२ करोड रूपैयाँ कायम भएको छ। प्रहरीले ३८६.१३ करोड रूपैयाँ सिज र १६.४४ करोड रूपैयाँ फ्रिज गरेको छ भने अदालतबाट २७३.६२ करोड रूपैयाँ जफत भएको छ। जफत रकम बिगोको करिब ७१ प्रतिशत हो। एक फैसलामा संलग्न व्यक्तिको औसत सङ्ख्या १.८६ बाट ३.५३ पुगेको छ। प्रतिवेदनले यसलाई व्यक्तिगत नभई सञ्जालमा आधारित मुद्दा बढेको सङ्केत मानेको छ। प्रतिवेदनले नेपालमा देखिएका आठ कार्यशैली (टाइपोलोजी) पहिचान गरेको छ। पहिलो, मनी म्युल खाता, जसमा कम साक्षर वा अस्थिर आम्दानी भएका युवाका खाता प्रयोग गरिन्छ। प्रहरीले एक अगुवाले ५२ खाताबाट करिब १.०३ अर्ब रूपैयाँ घुमाएको मुद्दा खुलासा गरेको थियो। दोस्रो, सीमाभन्दा कम नगद निक्षेप, जसमा दैनिक १० लाखको टीटीआर सीमा नपुग्ने गरी धेरै खातामा नगद जम्मा गरी कनेक्ट आईपीएसबाट तुरुन्तै अन्यत्र सारिन्छ। पर्साका एक ३८ वर्षीयको मुद्दामा २० करोडभन्दा बढी रकम ८९ व्यक्ति/फर्मका खातामा जम्मा भएको थियो। तेस्रो, कानुनी व्यक्ति अर्थात् ढाल वा सेल कम्पनीको प्रयोग छ। सुनसरीको एउटा मुद्दामा २१ खाता र १७ वित्तीय संस्था प्रयोग भई करिब २.२९ अर्ब रूपैयाँको कारोबार भएको थियो। चौथो, क्रिप्टोकरेन्सी हो, जहाँ हुन्डी सञ्चालकबिचको हिसाब मिलान गर्न युएसडीटी जस्ता स्टेबलकोइनको प्रयोग बढ्दो छ। पाँचौं, नगद ओसारपसार हो, जसमा खुला सिमानाबाट नगद ल्याएर बैंकमा जम्मा गरिन्छ। वीरगञ्जमा एक व्यक्तिमाथि रक्सौलबाट रकम ल्याएर करिब २.४१ अर्ब रुपैयाँको कारोबार गरेको आरोप छ। छैटौं, डिजिटल समन्वय हो। सञ्चालकहरू व्हाट्सएप जस्ता इन्क्रिप्टेड एप प्रयोग गर्छन्, तर हिसाबकिताब परम्परागत नै छ। काठमाडौंको एउटा मुद्दामा नोटको सिरियल नम्बरको फोटो प्रमाणीकरण कोडका रूपमा पठाइएको थियो र रसियाका नेपाली कामदारको करिब १.९९ अर्ब रूपैयाँ यसरी सारिएको आरोप छ। सातौं, रेमिट्यान्स सब–एजेन्टको प्रयोग हो, जसमा औपचारिक रेमिट्यान्सको आडमा हुन्डी हिसाब मिलान गरिन्छ। महोत्तरीको एउटा मुद्दामा २८ करोडभन्दा बढी नगद जम्मा भएको थियो, तर कुनै रेमिट्यान्स कम्पनीले रकम जम्मा गरेको थिएन। आठौं, सुन तस्करीसँगको सम्बन्ध हो। पेवेल नेपाल र सजिलो पे प्रकरणमा करिब १२३–१२४ अर्ब रूपैयाँको अस्वीकृत कारोबार भएको र त्यसको करिब ९० प्रतिशत अवैध सुनसँग जोडिएको उल्लेख छ। नेपाल राष्ट्र बैंकले दुवैको इजाजतपत्र खारेज गरिसकेको छ। प्रतिवेदनले नेपालमा हुन्डीलाई टिकाइरहेका संरचनागत कारण औँल्याएको छ। औपचारिक बैंकभन्दा हुन्डीमा राम्रो दर पाइने, विदेशी मुद्रा सीमा र प्रक्रियागत झन्झट हुने र आयात मूल्य कम देखाएर भन्सार छल्ने प्रवृत्ति यसका मुख्य कारण हुन्। अर्थतन्त्रको करिब ५० प्रतिशत अनौपचारिक र नगदमा आधारित हुनु (एपीजी २०२३ को मूल्याङ्कन), १,७५१ किलोमिटर खुला सिमाना र ठूलो सङ्ख्यामा वैदेशिक रोजगारीमा जानेहरूले पनि हुन्डीलाई सहज बनाएका छन्। भर्चुअल सम्पत्ति र अनलाइन जुवामाथिको प्रतिबन्धले पैसाको प्रवाहलाई भूमिगत बनाएको पनि प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनले १७ वटा सूचक (रेड फ्ल्याग) अद्यावधिक गरेको छ। यीमा विद्यार्थी वा गृहिणीको खातामा ठूलो नगद कारोबार, सीमाभन्दा तल बारम्बार निक्षेप, धेरै असम्बन्धित व्यक्तिले एउटै खातामा रकम जम्मा गर्नु र “सापटी” वा “पारिवारिक सहयोग” जनाइएका तेस्रो पक्षको नगद निक्षेप पर्छन्। विदेशमा रहेको व्यक्तिको खाता नेपालको आईपी वा एउटै उपकरणबाट चलाइनु पनि सूचकमा परेको छ। बैंक तथा वित्तीय संस्थालाई निरन्तर अनुगमन, सूचकलाई स्वचालित नियममा परिणत गर्ने, कडा ग्राहक पहिचान, उपकरण र स्थान ट्र्याकिङ तथा गुणस्तरीय र समयमै प्रतिवेदन पठाउन सुझाइएको छ। कानुन कार्यान्वयन निकायलाई जोखिममा आधारित प्राथमिकता, डिजिटल फरेन्सिक र ब्लकचेन विश्लेषण, सञ्जालका नेता र सम्पत्तिमाथि कारबाही तथा हुन्डीसँगै समानान्तर सम्पत्ति शुद्धीकरण अनुसन्धान गर्न भनिएको छ। नियामकलाई जनचेतना अभियान, डिजिटल वालेटको कडा निगरानी, मुद्रा सटही, सुन–चाँदी र आयात–निर्यात व्यवसायको जोखिममा आधारित निरीक्षण तथा रेमिट्यान्स एजेन्ट र सहकारीको अनुगमनको सुझाव दिइएको छ। नीति निर्मातालाई समयबद्ध कार्ययोजना, दफा १२५क को सजायको पुनरावलोकन, औपचारिक रेमिट्यान्स सस्तो र सहज बनाउने, व्यापार पारदर्शिता र सीमामा नगद नियन्त्रणतर्फ ध्यान दिन सिफारिस गरिएको छ। हुन्डीलाई राष्ट्रिय अपराध संहिताको दफा १२५क मा अपराध ठहर गरिएको छ। यसमा संलग्न रकम जफत र एक वर्षसम्म कैदको व्यवस्था छ। २०८१ पुस १८ (२ जनवरी २०२५) को नेपाल राजपत्रको सूचनाले हुन्डीलाई सम्पत्ति शुद्धीकरण निवारण ऐनको अनुसूचीमा सहायक अपराधका रूपमा समावेश गरेको छ। त्यसपछि एफआईयूले गोएएमएलमा हुन्डीको छुट्टै सूचक राखेर शंकास्पद कारोबार प्रतिवेदन (एसटीआर/एसएआर) छुट्टै प्राप्त गर्न थालेको हो।
नेपालमा हुण्डी काराेबारका आठ कार्यशैली, कम साक्षर र अस्थिर आम्दानी भएका युवाका खाता प्रयोग

Read Complete Original Article
Published originally on टक्सार




.jpeg)

