काठमाडौं । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले नेपाल सम्वत् नेपालको ऐतिहासिक सभ्यता, सांस्कृतिक गौरव र राष्ट्रिय पहिचानसँग जोडिएको साझा राष्ट्रिय सम्पदा भएको बताएका छन्। मंगलबार नेपाल सम्वत् ११४७ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख अर्यालले नेपाल सम्वत् कुनै एक जात वा भाषा विशेषको मात्रै नभएको बताएका हुन्। ‘नेपाल सम्वत् कुनै एक समुदायको मात्र सम्पत्ति नभई सम्पूर्ण नेपालीको साझा राष्ट्रिय सम्पदा हो। त्यसैले नेपाल भाषा, नेपाल लिपि र समग्र मौलिक सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धनमा राज्य र समाज दुवैको सक्रिय भूमिका आवश्यक छ,’ अर्यालले भने। उनले नेपाल सम्वत् केवल समय गणना गर्ने पात्रो मात्र नभई नेपालको मौलिक इतिहास र सभ्यताको महत्त्वपूर्ण धरोहर भएको उल्लेख गरे। ‘नेपाल सम्वत् केवल समय गणना गर्ने पात्रो मात्र होइन, यो नेपालको ऐतिहासिक सभ्यता, सांस्कृतिक गौरव र राष्ट्रिय पहिचानको महत्त्वपूर्ण सम्पदा हो,’ उनले भने। नेपाल सम्वतको प्रारम्भ राष्ट्रिय विभूति शंखधर साख्वाको लोककल्याणकारी योगदानसँग जोडिएको बताउँदै उनले ऋणमा डुबेका जनतालाई ऋणमुक्त गराएर साख्वाले सामाजिक न्याय, परोपकार र सामूहिक हितको सन्देश दिएको स्मरण गरे। नेपाल सम्वत् ऐतिहासिक, सामाजिक तथा सांस्कृतिक महत्त्व नेपाल मण्डलको जीवन पद्धतिसँग गहिरो रूपमा जोडिएको उनको भनाइ छ। The post नेपाल सम्वत् सबै नेपालीको साझा राष्ट्रिय सम्पदा हो: सभामुख अर्याल appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
नेपाल सम्वत् सबै नेपालीको साझा राष्ट्रिय सम्पदा हो: सभामुख अर्याल

Read Complete Original Article
Published originally on कर्पोरट खबर






