काठमाडौं। नेपाली फुटबलमा नयाँ अवधारणा र व्यावसायिक रूपान्तरणको लक्ष्यसहित घोषणा गरिएको नेपाल फुटबल लिग (एनएफएल) सञ्चालनका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अनुमति प्रदान गरेको छ। नेपाल फुटबल लिगका अध्यक्ष कल्याण गुरुङले सोमबार विज्ञप्ति जारी गर्दै लिग सञ्चालनका लागि राखेपबाट अनुमति प्राप्त भएको जानकारी दिएका हुन्। उनले अनुमतिले प्रतियोगिता आयोजनाको तयारीलाई थप व्यवस्थित र तीव्र बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। एक महिनाअघि घोषणा गरिएको एनएफएलको ऐतिहासिक पहिलो संस्करण आगामी २०८३ साल फागुन १ गतेदेखि सुरु हुनेछ। पहिलो संस्करणमा घरेलु फुटबलका सात पुराना र तीन नयाँ गरी कुल १० क्लबले प्रतिस्पर्धा गर्नेछन्। लिगमा देशका विभिन्न सहरको प्रतिनिधित्व रहनेछ। १० सहरका क्लबलाई एउटै प्रतिस्पर्धात्मक मञ्चमा जोडेर नेपाली फुटबलको दायरा विस्तार गर्ने र देशव्यापी रूपमा फुटबलको वातावरण निर्माण गर्ने आयोजकको लक्ष्य छ। अध्यक्ष गुरुङले नेपाली फुटबलको व्यावसायिक रूपान्तरणका लागि समय, लगानी, प्रतिबद्धता र सबै पक्षको सहकार्य आवश्यक रहेको बताएका छन्। चुनौतीका बाबजुद सम्भावनाको खोजी गर्दै अघि बढ्नुपर्ने उल्लेख गर्दै उनले एनएफएललाई एउटा प्रतियोगितामा मात्र सीमित नराखी नेपाली फुटबलको दिगो व्यावसायिक विकासको आधार बनाउने लक्ष्य रहेको स्पष्ट पारेका छन्।
नेपाल फुटबल लिग सञ्चालन गर्न राखेपको अनुमति

Read Complete Original Article
Published originally on नेपालन्युज






