नेपाल टेलिकमले गत आवको तुलनामा आफ्नो आम्दानी बढाउन नसकेको देखिएको छ। कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा ग्राहकहरुबाट ८ अर्ब ६७ करोड ८२ लाख ५५ हजार रुपैयाँ आम्दानी गरेको छ। यो रकम रकम गत आ.व. को सोही अवधिको कुल सञ्चालन आय ८ अर्ब ६७ करोड ९५ लाख रुपैयाँको तुलनामा १२ लाख ६० हजार रुपैयाँ (अर्थात् ०.०१ प्रतिशत) ले न्यून रहेको देखिएको छ। यसैगरी यस आ.व. को प्रथम त्रैमासिकको कुल आय ९ अर्व ४७ करोड ७६ लाख ९५ हजार रुपैयाँ रहेको छ। उक्त रकम गत आ.व. को सोहि अवधिको कुल आय ९ अर्व ४७ करोड १० लाखको तुलनामा ६६ लाख छयालीस हजार रुपैयाँ (अर्थात् ०.०७ प्रतिशत) ले बढी भएको देखिन्छ। कम्पनीले आम्दानी बढाउन नसकेसँगै नाफामा समेत कमी आएको छ। यस आ.व.को प्रथम त्रैमासिकसम्मको कर अगाडिको मुनाफा Earnings Before Interest, Taxes, Depreciation and Amortization (EBITDA) ४ अर्ब ४५ करोड ९० लाख ३६ हजार रुपैयाँ रहेको छ। उक्त रकम गत आ.व. को सोहि अवधिको ४ अर्ब ७५ करोड ४ लाख ७१ हजारको तुलनामा रु. २९ करोड १४ लाख (अर्थात् ६.१३ प्रतिशत) ले न्यून हो। सार्वजनिक विवरणअनुसार, यस आ.व.को प्रथम त्रैमासिकसम्मको कर अघिको मुनाफा २ अर्व ९८ करोड ७४ लाख रुपैयाँ रहेको छ। उक्त रकम गत आ.व. को सोहि अवधिको कर अघिको मुनाफा २ अर्व ८८ करोड २१ लाख रुपैयाँको तुलनामा १० करोड ५२ लाख रुपैयाँ (अर्थात् ३.६५ प्रतिशत) ले बढी हो। यस आ.व. को प्रथम त्रैमासिकसम्मको खुद मुनाफा १ अर्व ८२ करोड १ लाख रुपैयाँ रहेको छ भने उक्त रकम गत आ.व. को सोहि अवधिको खुद मुनाफा १ अर्ब ३२ करोड ५१ लाख रुपैयाँको तुलनामा ४९ करोड ४९ लाख रुपैयाँ (अर्थात् ३७.३५ प्रतिशत) ले बढी देखिएको छ। कम्पनीको प्रति शेयर आम्दानी रु.४०.४५ रहेको छ। नेपाल टेलिकमले गत आ.व. को तुलनामा यस आ.व. मा राजश्व तथा खुद मुनाफामा परिवर्तन हुनुमा रसुवा जिल्लाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीलाई प्रमुख कारण भएको दाबी गरेको छ। कम्पनीकाअनुसार आ.व. २०८३/८४ को प्रथम त्रैमासिक अवधि अर्थात् भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण प्रभावित सेवाग्राहीहरूलाई नेपाल टेलिकमले १७ दिनको लागि निःशुल्क डेटा तथा भ्वाइस सेवा उपलब्ध गराएको थियो। साथै, उक्त प्राकृतिक विपद्का कारण प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा अवरुद्ध हुनु तथा व्यावसायिक गतिविधिमा व्यवधान उत्पन्न हुन गई सेवा बिक्रीमा समेत कमी आएको उल्लेख छ। असोज २५ को बुढीगण्डकी बाढीका कारण समेत सेवामा नकारात्मक प्रभाव पर्न गएको र निःशुल्क सेवा उपलब्ध गराइएको र सेवा सञ्चालनमा आएको अवरोधका कारण उक्त अवधिको सेवा बिक्रीबाट प्राप्त हुने राजस्वमा प्रतिकूल असर परेको कम्पनीको भनाई छ। यसका साथै कम मूल्य तथा ठूला मोबाइल डाटा प्याकेजको बढ्दो प्रयोगका कारण समेत जीएसएम सेवा समेतको कार्य सञ्चालन राजस्व बढेको जिकिर गरेको छ। जसले गर्दा, कार्य संचालन राजश्वको हकमा जीएसएम र एफटीटीएच तर्फ क्रमश: १० लाख १६ हजार र ४ करोड ४० लाख रुपैयाँले वृद्धि भएको उल्लेख गरेको छ। यसैगरी, यस आ.व.मा भएको तलब स्केलमा भएको वृद्धिका कारण कर्मचारी खर्चमा वृद्धि भएको जनाएको छ। ह्रास खर्चमा कमि र मूल्यह्रास क्षति फिर्ता समायोजन (Impairment Reversal) भएको कारणले खुद खर्चमा ४८ करोड १२ लाख रुपैयाँ (५.९०%) ले कमी आएको उल्लेख छ। साथै, बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्य समेत प्राथमिकतामा राखी गर्ने गरेको कारण आम्दानी र नाफामा परिवर्तन भएको जनाएको छ। The post नेपाल टेलिकमको प्रथम त्रैमासिक आम्दानी स्थिर, रसुवाको भोटेकोशी बाढीले आम्दानी र नाफामा असर पारेको दाबी appeared first on Technology Khabar.
नेपाल टेलिकमको प्रथम त्रैमासिक आम्दानी स्थिर, रसुवाको भोटेकोशी बाढीले आम्दानी र नाफामा असर पारेको दाबी

Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर






