निर्वाचन आयोगले चौथो पञ्चवर्षीय रणनीतिक योजनाअन्तर्गत दुई वर्षमा सम्पन्न गर्नुपर्ने ३५ वटा क्रियाकलापमध्ये ९ वटामात्रै पूर्ण रूपमा कार्यान्वयन गरेको छ । आयोगका अनुसार १६ वटा क्रियाकलाप आंशिक रूपमा कार्यान्वयन भएका छन् भने १० वटा क्रियाकलाप अझै सुरु हुन सकेका छैनन् । शुक्रवार ललितपुरमा आयोजित चौथो पञ्चवर्षीय रणनीतिक योजनासम्बन्धी सरोकारवालासँगको छलफल कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले यस्तो जानकारी दिएका हुन् । उनका अनुसार आयोगको रणनीतिक योजनामा पाँचवटा रणनीतिक स्तम्भ, २० वटा कार्यनीति र १४६ वटा मुख्य क्रियाकलाप समावेश छन् । तीमध्ये पछिल्ला दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएका ३५ वटा क्रियाकलापको कार्यान्वयन अवस्थाबारे समीक्षा गरिएको हो । कार्कीले केही क्रियाकलाप निर्धारित समयभन्दा अगावै सम्पन्न भए पनि प्राथमिकतामा राखिएका कतिपय काम भने अघि बढ्न नसकेको बताए । १० वटा क्रियाकलाप कार्यान्वयन नै हुन नसकेपछि ती काम गर्न नसकिने प्रकृतिका थिए वा कार्ययोजना निर्माणमै कमजोरी थियो भन्ने विषयमा समेत छलफल गरिएको उनको भनाइ छ । उनले रणनीतिक योजनामा समावेश गरिएका कार्यनीति तथा क्रियाकलाप कार्यान्वयन गर्न नसकिने प्रकृतिका नरहेको समीक्षाबाट देखिएको बताए । कार्कीले भने, ‘दुई वर्षमा सम्पन्न गर्नुपर्ने ३५ वटा क्रियाकलापमध्ये ९ वटा पूर्ण कार्यान्वयन भएका छन् । १६ वटा आंशिक कार्यान्वयन भएका छन् भने १० वटा हुँदै नभएका रहेछन् । केही पछिल्ला अवधिमा गर्नुपर्ने काम अगाडि नै गरिएछन् भने अगाडि गर्नुपर्ने केही काम हुन सकेका रहेनछन् ।’ उनले कार्यान्वयन हुन नसकेका क्रियाकलापबारे समीक्षा गर्दै योजनामा राखिएका काम गर्नै नसकिने प्रकृतिका नभएको निष्कर्षमा पुगेको बताए । ‘हामीले रणनीतिक योजनामा राखेका कार्यनीति र क्रियाकलाप वास्तवमै गर्नै नसकिने खालका रहेनछन् भन्ने देखिएको छ । त्यसैले ती काम गर्नैपर्छ भन्ने सुझाव आएको छ,’ उनले भने । छलफलबाट प्राप्त सुझावका आधारमा आवश्यक विषय परिमार्जन गरी रणनीतिक योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता पनि कार्कीले व्यक्त गरे । आयोगले आगामी दिनमा समेत सरोकारवालासँग नियमित छलफल तथा सुझाव आदानप्रदानलाई निरन्तरता दिने अपेक्षा राखेको जनाएको छ ।
निर्वाचन आयोगको दुई वर्षे कार्ययोजना : ३५ क्रियाकलापमध्ये ९ वटामात्रै पूर्ण कार्यान्वयन

Read Complete Original Article
Published originally on पर्दाफास






