नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज (नास-आईटी) ले आगामी मंसिर ५ र ६ गते (नोभेम्बर २१–२२) ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा ‘आकाशटेल नास-आईटी एक्स्पो २०२६’ आयोजना गर्ने भएको छ। ‘नेपालको आगामी अर्थतन्त्रलाई गति दिँदै’ (पावरिङ नेपाल्स नेक्स्ट इकोनोमी) नारासहित हुन लागेको एक्स्पोमा यस वर्ष स्टार्टअप पेभिलियन र दुईवटा विषयगत छलफल थपिएका छन्। शनिबार र आइतबार बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुने एक्स्पोमा साइबर सुरक्षा, वित्तीय प्रविधि तथा बैंकिङ, सफ्टवेयर सेवा तथा व्यावसायिक सफ्टवेयर, कृत्रिम बुद्धिमत्ता (एआई) तथा सफ्टवेयर विकास, सञ्चार तथा डिजिटल प्लेटफर्म र शैक्षिक प्रविधि तथा जनशक्ति विकास गरी छ क्षेत्रमा कार्यरत ३० भन्दा बढी प्रविधि कम्पनी सहभागी हुनेछन्। मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नास-आईटीका अध्यक्ष दिपेन चापागाईंले नेपाली सूचना प्रविधि क्षेत्रसँग देशको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्याउने ठूलो सम्भावना रहेको बताए। उनका अनुसार नेपाली कम्पनीले अन्तर्राष्ट्रिय स्तरका प्रविधि उत्पादन तथा सेवा विकास गरिरहेका छन् र अब ती उत्पादनको बजार विस्तार, स्वदेशमै प्रयोग वृद्धि र अन्तर्राष्ट्रिय पहुँच बढाउनु आवश्यक छ। स्टार्टअप पेभिलियन र छलफल यस वर्ष यूरोपेली संघको सहयोगमा नयाँ तथा प्रारम्भिक चरणका कम्पनीलाई लक्षित गरी स्टार्टअप प्याभिलियन थपिएको छ। यसले स्टार्टअपलाई आफ्ना नवीन विचार, उत्पादन तथा प्रविधिमा आधारित समाधान प्रस्तुत गर्ने अवसर दिनेछ। पहिलो दिन कूटनीतिक प्रतिनिधिको सहभागितामा ‘नेपालदेखि विश्वसम्म’ विषयमा छलफल हुनेछ। दोस्रो दिन ‘नेपालको आन्तरिक प्रविधि बजार निर्माण’ विषयमा प्यानल छलफल आयोजना गरिनेछ। दुवै दिन सञ्चालन हुने पिच सत्रमा प्रविधि कम्पनी तथा स्टार्टअपले आफ्ना उत्पादन, सेवा र समाधान प्रस्तुत गर्नेछन्। आयोजकका अनुसार एक्स्पोले नेपाली प्रविधि कम्पनीलाई बैंक तथा वित्तीय संस्था, कर्पोरेट क्षेत्र, सरकारी निकाय, लगानीकर्ता र अन्तर्राष्ट्रिय साझेदारसँग प्रत्यक्ष जोड्ने लक्ष्य राखेको छ। विद्यार्थी तथा युवा पेसाकर्मीलाई नेपालमै प्रविधि क्षेत्रमा उपलब्ध रोजगारी, उद्यमशीलता र करियरका अवसरबारे जानकारी दिने उद्देश्य पनि छ। नास-आईटीकी महासचिव श्रेया श्रेष्ठले एक्स्पो प्रविधि प्रदर्शन गर्ने मञ्च मात्र नभई व्यवसाय, प्रविधि र प्रतिभालाई जोड्ने अवसर पनि भएको बताइन्। खरिदकर्ता, स्टार्टअप र विद्यार्थीले उपयोगी अवसर पहिचान गर्न सकून् भन्ने आयोजकको चाहना रहेको उनको भनाइ छ। गत वर्ष नोभेम्बर २०२५ मा भएको पहिलो एक्स्पोमा २ हजार ५०० भन्दा बढी आगन्तुक र ३० भन्दा बढी प्रविधि कम्पनी सहभागी भएका जानकारी दिईयो। एक्स्पोकी संयोजक तथा नास-आईटीकी कार्यसमिति सदस्य प्रार्थना साख:का अनुसार पहिलो संस्करणको अनुभवलाई निरन्तरता दिँदै यस वर्ष एक्स्पोलाई थप प्रभावकारी र व्यावसायिक सहकार्यमा केन्द्रित बनाइनेछ। The post नास-आईटी एक्स्पो मंसिर ५ र ६ मा हुँदै, एआई देखि आन्तरिक प्रविधि बजार निर्माण विषयसम्ममा छलफल हुँदै appeared first on Technology Khabar.
नास-आईटी एक्स्पो मंसिर ५ र ६ मा हुँदै, एआई देखि आन्तरिक प्रविधि बजार निर्माण विषयसम्ममा छलफल हुँदै

Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर






