नयाँ दलले कुरा धेरै गरे, काम गरेर देखाउन सकेनन् : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसले अघि सारेको बहुदलीय लोकतान्त्रिक विचार अहिले नेपालको राजनीतिमा सर्वस्वीकार्य बनेको दाबी गरेका छन्। नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ को पदस्थापन कार्यक्रमलाई पोखरामा सम्बोधन गर्दै उनले सत्ता र संसद्को सङ्ख्या अस्थायी हुने तर विचारको प्रभाव स्थायी रहने बताए। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फ संकेत गर्दै पौडेलले नयाँ दलहरूले प्रचार र भाषण धेरै गरे पनि काम गरेर देखाउन नसकेको टिप्पणी गरे। ‘नयाँ आउनुभएका साथीहरूले अनेकौँ कुरा गर्नुभयो। तर केही पनि काम गर्नुभएन,’ उनले भने। नेपालमा बहुदलीय लोकतान्त्रिक व्यवस्थाबारे कांग्रेसले नै नेपाली समाजमा बहस सुरु गराएको उनको दाबी थियो। विगतमा लोकतान्त्रिक पद्धति अस्वीकार गर्ने कम्युनिस्ट, राजावादीदेखि अहिलेका नयाँ दलहरूसमेत यही व्यवस्थाबाट सत्तामा पुगेको उनले बताए। ‘कम्युनिस्ट विचारले यो विधिलाई मान्दैनथ्यो, राजावादीहरूले पनि मान्दैनथे। अहिले नयाँ आएका साथीहरू पनि यही व्यवस्थाबाट सत्तामा पुग्नुभएको छ,’ उनले भने, ‘त्यसैले अहिले कसैले पनि कांग्रेसको विचार नमानेको स्थिति छैन।’ पौडेलले राजनीतिमा पद र संसद्को सङ्ख्याभन्दा विचारको प्रभाव महत्त्वपूर्ण हुने बताए। अहिले नेपालको राजनीतिमा कांग्रेसको विचार सर्वस्वीकार्य भएको उनको भनाइ थियो। कांग्रेसले विगतको इतिहासको गौरव गरेर मात्र वर्तमान र भविष्य निर्माण गर्न नसक्ने उल्लेख गर्दै उनले बीपी कोइरालाले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवादको मूल मर्मलाई आत्मसात् गरी त्यसलाई समयअनुसार परिमार्जन गर्नुपर्नेमा जोड दिए। भर्खरै महाधिवेशन सम्पन्न गरेर जिल्ला दौडाहामा निस्किएका पौडेलले पार्टीको आन्तरिक निर्वाचनमा पराजित भएकाहरूलाई पनि सँगै लिएर अघि बढ्नुपर्ने बताए। जित्नेले हार्नेलाई कार्यकालभरि साथमा लिएर हिँड्नुपर्ने र हार्नेले पनि निर्वाचनको परिणाम स्वीकार गरी संगठन निर्माणमा सहयोग गर्नुपर्ने उनको भनाइ थियो।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






