काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई कैद सजाय भुक्तान गरिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी रिहा भएका छन्। उनी बिहीबार बिहान डिल्लीबजार कारागारबाट कैदमुक्त भएका हुन्। ६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकले पाउने कैद छुट सुविधाअन्तर्गत रायमाझी रिहा भएका हुन्। उनलाई कैदमुक्त गर्न काठमाडौं जिल्ला अदालतले कारागार कार्यालयलाई पत्राचार गरेको थियो। रायमाझीको निवेदनका आधारमा अदालतले ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाअनुसार कैद छुट दिने निर्णय गर्दै संशोधित कैदीपुर्जी कारागारमा पठाएको थियो। तिहारअघि नै प्राप्त संशोधित कैदीपुर्जीका आधारमा उनलाई रिहा गरिएको बताइएकाे छ। डिल्लीबजारका जेलर बाबुराम अर्यालले पनि रायमाझीलाई बिहीबार रिहा गर्नुपर्ने भन्दै अदालतबाट तिहारअघि नै पत्र प्राप्त भएको जानकारी दिएका छन्। उनका अनुसार संशोधित कैदीपुर्जीअनुसार बिहीबार रायमाझीको कैद अवधि पूरा हुने दिन थियो। नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा रायमाझी २०८० वैशाख २० गते पक्राउ परेका थिए। काठमाडौं जिल्ला अदालतले २०८३ असार ३० गते उनलाई चार वर्ष कैद सजाय सुनाएको थियो। ज्येष्ठ नागरिकलाई कैद सजायमा २५ प्रतिशत छुट दिने कानुनी व्यवस्था छ। सोही सुविधाअनुसार रायमाझी कैदमुक्त भएका हुन्।
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल परेका टोपबहादुर रायमाझी रिहा

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु





