नुवाकोट। नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा पोखरेली जेठोबुढो धान खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ। स्थानीय हावापानीमा राम्रो फल्ने, सुगन्धित र स्वादिलो हुने तथा परालसमेत पर्याप्त उत्पादन हुने भएपछि किसानले यसको खेती विस्तार गर्न थालेका छन्। दुप्चेश्वर गाउँपालिका–६ बोक्सेफाँटका किसान निरञ्जनप्रसाद आचार्यले यस वर्ष आठ रोपनीमा जेठोबुढो धान लगाएका छन्। उनीसँगै स्थानीय ध्रुवप्रसाद आचार्य र केदारनाथ धितालले पनि यही जातको धान खेती गरेका छन्। निरञ्जनप्रसादले दुई वर्षअघि बागलुङबाट एक पाथी बीउ ल्याएर यसको खेती सुरु गरेका थिए। गत वर्ष परीक्षणका रूपमा खेती गर्दा चार मुरी धान उत्पादन भएपछि यस वर्ष उनले छ पाथी बीउ प्रयोग गरी आठ रोपनीमा खेती विस्तार गरे। यस वर्षको खेतीका लागि उनले वैशाख अन्तिम साता बीउ राखेर जेठको अन्तिम साता रोपाइँ गरेका थिए। मङ्सिरको पहिलो सातामै धान भित्र्याइसकेका उनले बीउ राखेदेखि धान पाकेर भित्र्याउन छ महिना लागेको बताए। “जेठोबुढो धानको भात नरम, स्वादिलो र बास्नादार हुन्छ। आफैँले बीउ छानेर राखेका छौँ,” उनले भने। आठ रोपनीमा खेती गर्दा यस वर्ष २० मुरी धान उत्पादन भएको छ। त्यस्तै, १२० भारी परालसमेत फलेको छ। धानको स्वाद र सुगन्ध, परालको राम्रो उत्पादन तथा बजारमा राम्रो मूल्य पाउन सकिने भएकाले यसको खेती विस्तार गर्न उत्साहित भएको आचार्यले बताए। इच्छुक किसानलाई खेती विस्तारका लागि आवश्यक बीउ सहुलियत शुल्कमा उपलब्ध गराउन सकिने उनको भनाइ छ। दुप्चेश्वर गाउँपालिकाका कृषि शाखा प्रमुख सुदेश सुवेदीले स्थानीय हावापानी जेठोबुढो धान खेतीका लागि अनुकूल रहेकाले यसको विस्तारको प्रशस्त सम्भावना रहेको बताए। किसानले यसको खेतीबाट उत्पादन लिन थालेसँगै रैथाने जातको धानप्रति चासो र आकर्षण बढ्नु सकारात्मक भएको उनको भनाइ छ। “दुप्चेश्वरको हावापानी जेठोबुढो धान खेतीका लागि उपयुक्त छ। उत्पादन केही कम भए पनि स्वाद, सुगन्ध, बजार मूल्य र पराल उत्पादनका हिसाबले यो किसानका लागि लाभदायी हुन सक्छ,” सुवेदीले भने, “त्यसैले रैथाने बीउ संरक्षण गर्दै यसको खेती विस्तारमा गाउँपालिकाले प्रोत्साहन र प्राविधिक सहयोग गर्नेछ।” शिखरबेँसीको परम्परागत कृषि पहिचानका रूपमा रहेको समुन्द्रफिनी जातको धान खेती गर्ने किसानको सङ्ख्या भने घट्दै गएको छ। फल लिन लामो समय लाग्ने र उत्पादन कम हुने भन्दै किसानको आकर्षण घटेपछि पुस्तौँदेखि जोगिँदै आएको यस रैथाने जातको बीउ नै लोप हुने जोखिम बढेको सुवेदीले बताए। “समुन्द्रफिनी धान शिखरबेँसी–दुप्चेश्वरको मौलिक कृषि पहिचान बोकेको रैथाने जात हो। यसको खेती गर्ने किसान घट्दै जाँदा बीउ संरक्षणमा चुनौती थपिएको छ,” उनले भने, “जेठोबुढाजस्तै समुन्द्रफिनी धानको खेती पनि पुनः विस्तार गरी रैथाने जातको संरक्षण गर्न आवश्यक छ।” उनका अनुसार गाउँपालिकाले जेठोबुढो तथा समुन्द्रफिनीजस्ता स्थानीय जातको खेती विस्तार गर्न किसानलाई प्रोत्साहन गर्ने, आवश्यक बीउ व्यवस्थापनमा सहजीकरण गर्ने र प्राविधिक सहयोग उपलब्ध गराउनेछ। “रैथाने जातका धान खेतीलाई निरन्तरता दिन किसानलाई प्रोत्साहित गर्न आवश्यक छ। उत्पादन, गुणस्तर र बजारको सम्भावनालाई जोडेर खेती विस्तार गर्न सके किसानको आम्दानी बढाउनाका साथै स्थानीय बीउ जोगाउन सकिन्छ,” उनले भने। रैथाने धानको बीउ संरक्षण, खेती विस्तार र बजार व्यवस्थापनलाई एकसाथ अघि बढाउन सके नुवाकोटका मौलिक कृषि उपजको पुनःस्थापना हुनुका साथै किसानको आयआर्जनमा योगदान पुग्ने अपेक्षा गरिएको छ।
दुप्चेश्वरमा जेठोबुढो धान खेती विस्तार हुँदै

Read Complete Original Article
Published originally on नेपालन्युज



![चिसो बढेसँगै मंगल बजारमा न्यानो कपडा किन्नेको चहलपहल [तस्बिरहरू]](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/third-party/photo-971e74ad0-23112026070220-watermarked.jpg)


