काठमाडौँ । भारतको दुई दिने औपचारिक राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री वालेन्द्र शाह आज साँझ स्वदेश फर्किएका छन् । करिब २८ घण्टाको औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री शाह नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत काठमाडौँ फर्किएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री शाहलाई कार्यवाहक प्रधानमन्त्रीकोसमेत जिम्मेवारी सम्हालेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले स्वागत गरे । त्यसअघि नेपाल प्रस्थान गर्नुअघि नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई भारत सरकारका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसाद, भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला र भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावारले बिदाइ गरेका थिए । हिजो नयाँदिल्ली प्रस्थान गरेका प्रधानमन्त्री शाहलाई आज बिहान राष्ट्रपति भवनमा ’गार्ड अफ अनर’ सहित राजकीय सम्मान प्रदान गरिएको थियो । सो क्रममा भारतीय समकक्षी नरेन्द्र मोदीसँग उच्चस्तरीय द्विपक्षीय वार्तापछि दुवै देशले ‘विकसित भारत र समुन्नत नेपाल ः साझेदारीको पुनर्कल्पना’ शीर्षकको साझा भिजन दस्तावेज सार्वजनिक गरेका छन् । भ्रमणका क्रममा उनले महात्मा गान्धीको समाधिस्थल राजघाटमा श्रद्धाञ्जली अर्पण गर्नुका साथै भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र विदेशमन्त्री एस जयशंकरसँग पनि भेटवार्ता गरेका थिए । भ्रमणका क्रममा भारतले नेपालको विपद्पछिको पुनर्निर्माण (विशेषगरी गत अगस्तमा रसुवा–भोटेकोसी बाढीपहिरोबाट क्षतिग्रस्त संरचना) र नयाँ पूर्वाधारका लागि ५ हजार ६०० करोड रुपैयाँ अनुदान तथा ऊर्जा क्षेत्रका परियोजनाका लागि १८ हजार ४०० करोड रुपैयाँ बराबरको ऋण सुविधा गरी कुल २४० अर्ब नेपाली रुपैयाँ (१५ हजार करोड भारु) को विकास प्याकेज घोषणा गरेको छ । यस्तै, दुई प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट अयोध्या–जनकपुर ‘सरयु–कमला एक्सप्रेस’ रेल सेवा (मङ्सिर १२ बाट नियमित चल्ने) र धार्चुला–दार्चुला जोड्ने मोटरेबल सडक पुलको संयुक्त उद्घाटन गरेका छन् । यसका साथै नेपालले भारतका थप दुई बन्दरगाह (गुजरातको काण्डला र ओडिशाको पारादीप) प्रयोग गर्न पाउने, लखनउ–भैरहवा हवाई रुट उपलब्ध हुने, रक्सौल–काठमाडौँ रेलमार्गको अन्तिम सर्वेक्षण सकिएको तथा पूर्व–पश्चिम रेलमार्ग (बर्दिवास–निजगढ खण्ड) र सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइन निर्माण अघि बढाउने सहमति भएको छ । शिक्षा, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा नेपालमा भारतीय प्रविधि संस्थान (आइआइटी) को ‘अफसोर क्याम्पस’ स्थापना गर्ने, नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने र युवा उद्यमीका लागि ‘स्टार्टअप इन्क्युबेटर तथा इनोभेसन हब’ निर्माण गर्ने सहमति जुटेको छ । भ्रमणकै क्रममा नेपाल र भारतबिच अन्तरिक्ष प्रविधि (इसरो र सञ्चार मन्त्रालयबिच ‘साउथ एसिया स्याटेलाइट’ सञ्जाल विकास), फरेन्सिक विज्ञान, प्रहरी तालिम, प्रशासनिक क्षमता अभिवृद्धि, आयुर्वेद तथा परम्परागत चिकित्सा, दिगो सहरी विकास, स्वास्थ्य सेवा र कृषि तथा पशुपालन गरी ८ वटा महत्त्वपूर्ण क्षेत्रमा सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर तथा आदानप्रदान भएको छ । भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय समकक्षी मोदीलाई नेपाल भ्रमणको औपचारिक निम्तो दिनुका साथै आतिथ्यताका लागि धन्यवाद ज्ञापन गरेका छन् । सो अवसरमा दुई देशका प्रधानमन्त्रीबिच ‘रामायण’ पेन्टिङ, बनारसी दोसल्ला, गङ्गाजल र नेपाली रुद्राक्षको उपहार आदानप्रदानसमेत भएको थियो , अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह र परराष्ट्र सचिव अमृतबहादुर राईलगायत ३५ सदस्यीय प्रतिनिधिमण्डलले भ्रमणमा सहभागिता जनाएको थियो ।
दुई दिने भारतको राजकीय भ्रमण सकेर प्रधानमन्त्री वालेन्द्र शाह स्वदेश फिर्ता

Read Complete Original Article
Published originally on टक्सार






