चालकलाई मात्र दोष दिन नमिल्ने निष्कर्ष मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा भएको विद्युतीय सवारी दुर्घटनामा चालकको थकान, पर्याप्त विश्रामको अभाव, क्षमताभन्दा बढी यात्रु र सडकको भौगोलिक बनावटलाई सम्भावित कारणका रूपमा औँल्याइएको छ । दुर्घटनाको छानबिन गर्न गठित समितिले चालकलाई मात्र दोषी ठहर गर्न नहुने निष्कर्ष निकाल्दै सडक पूर्वाधार, सवारीसाधनको प्राविधिक अवस्था, यातायात व्यवस्थापन र नियामक निकायको भूमिकामाथि समेत प्रश्न उठाएको छ । मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलको संयोजकत्वमा गठित पाँच सदस्यीय समितिले सोमबार प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीलाई प्रतिवेदन बुझाएको हो । समितिले दुर्घटनास्थलको अवस्था, चालकको कार्यतालिका, यात्रुको संख्या, सवारीसाधनको प्राविधिक अवस्था र सडक सुरक्षासम्बन्धी विभिन्न पक्षको अध्ययन गरेर प्रतिवेदन तयार पारेको जनाएको छ । प्रतिवेदनमा लामो समयसम्म निरन्तर सवारी चलाउँदा चालकको एकाग्रता, निर्णय क्षमता र तत्काल प्रतिक्रिया जनाउने क्षमतामा ह्रास आउन सक्ने उल्लेख छ । पर्याप्त आरामको अभावमा उत्पन्न हुने शारीरिक तथा मानसिक थकानले दुर्घटनाको जोखिम बढाउने समितिको विश्लेषण छ । समितिका संयोजक पौडेलले चालकको कार्यअवधि र विश्रामको समय व्यवस्थित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । दुर्घटना न्यूनीकरणका लागि चालकको व्यवहारसँगै सवारीसाधनको अवस्था, सडक संरचना र यातायात व्यवस्थापन प्रणालीमा रहेका कमजोरीसमेत सुधार गर्नुपर्ने उहाँको भनाइ छ । समितिले सार्वजनिक यातायातमा तोकिएको क्षमताभन्दा बढी यात्रु राख्ने प्रवृत्ति नियन्त्रण गर्न, लामो दूरीका चालकलाई पर्याप्त विश्रामको व्यवस्था मिलाउन र सवारीसाधनको नियमित प्राविधिक परीक्षण अनिवार्य गर्न सुझाव दिएको छ । त्यस्तै, भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डको समग्र सडक सुरक्षा परीक्षण गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । सडकको बनावट, जोखिमपूर्ण घुम्ती, ढलान, सतह, निर्माण गुणस्तर, सञ्चालन अवस्था र मर्मतसम्भारको विस्तृत अध्ययन गरी आवश्यक सुधार गर्न समितिले सिफारिस गरेको छ । सवारीसाधनको मर्मतसम्भार, चालकको कार्यअवधि र यात्रु व्यवस्थापनमा यातायात व्यवसायी तथा सवारीधनीलाई समेत जवाफदेही बनाउने कानुनी व्यवस्था आवश्यक रहेको समितिको ठहर छ । दुर्घटनापछि पीडित तथा प्रभावित परिवारले पाउने बीमा, क्षतिपूर्ति र राहत वितरण प्रणालीलाई प्रभावकारी बनाउन पनि समितिले सुझाव दिएको छ । सडक सुरक्षा परीक्षणबाट पहिचान भएका जोखिमपूर्ण स्थानमा तत्काल सुधार गर्न र दुर्घटना अनुसन्धान प्रणालीलाई संस्थागत तथा व्यवस्थित बनाउनसमेत सिफारिस गरिएको संयोजक पौडेलले जानकारी दिनुभयो । गत कात्तिक २६ गते काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको यात्रुवाहक विद्युतीय सवारी भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा दुर्घटनामा परेको थियो । सडकबाट करिब पाँच सयदेखि सात सय मिटर तल खसेको उक्त दुर्घटनामा १४ जनाको मृत्यु भएको थियो भने छ जना घाइते भएका थिए ।
भीमफेदी दुर्घटना प्रतिवेदन : चालकको थकान र क्षमताभन्दा बढी यात्रु सम्भावित कारण

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






