सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु हुन ३० दिन बाँकी रहँदा प्रतियोगिताको तयारीले तीव्रता पाएको छ । सोमबारदेखि प्रतियोगिताको औपचारिक ३० दिने काउन्टडाउन सुरु भएको हो । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सुर्खेत पुगेर रंगशाला तथा खेलकुद पूर्वाधारको स्थलगत निरीक्षण गर्दै दशौँ राष्ट्रिय खेलकुद आयोजनाका लागि कर्णाली तयार रहेको बताउनुभएको छ । खेलकुद पूर्वाधारको अवलोकनपछि सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रतिक्रिया दिँदै मन्त्री पोखरेलले सुर्खेत र समग्र कर्णाली प्रदेश प्रतियोगिता आयोजनाका लागि तयार रहेको बताउनुभएको हो । ‘सुर्खेत तयार छ । कर्णाली तयार छ । आज सुर्खेत पुगेर रंगशाला तथा खेल पूर्वाधारहरूको प्रत्यक्ष अवलोकन गरेपछि दशौँ राष्ट्रिय खेलकुदका लागि कर्णाली तयार रहेकोमा विश्वस्त रहन आग्रह गर्दछु,’ उहाँले लेख्नुभएको छ । निरीक्षणका क्रममा सरोकारवाला पक्षसँग पछिल्लो विकासक्रमबारे छलफल भएको उल्लेख गर्दै उहाँले पूर्वाधार निर्माणको गतिलाई तीव्र बनाउन निरन्तर प्रयास र संवाद भइरहेको बताउनुभयो । खेलकुदका संरचना निर्माण तथा व्यवस्थापनको काम अघि बढिरहेको र देशभर प्रतियोगितालाई लिएर उत्साह देखिएको उहाँको भनाइ छ । ‘अब हामी तयार छौँ । हाम्रा रंगशाला र संरचनाहरू तयार हुँदैछन् । देशैभरका प्रदेश, जिल्ला र स्थानीय तहहरूमा उत्तिकै उत्साह र तत्परता छ । आजबाट ३० दिनको काउन्टडाउन सुरु भएको छ’, मन्त्री पोखरेलले उल्लेख गर्नुभएको छ । लामो समयदेखि स्थगित हुँदै आएको राष्ट्रिय खेलकुद प्रतियोगितालाई यसपटक कर्णालीको भूगोलले नयाँ उचाइ दिने विश्वाससमेत उहाँले व्यक्त गर्नुभएको छ । पाँचौँपटक मिति तय गरिएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी २०८३ मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना गर्ने निर्णय भएको छ । यसअघि २०७९ सालमा गण्डकी प्रदेशमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएपछि दशौँ संस्करण २०८१ साल मंसिरमा कर्णालीमा आयोजना गर्ने घोषणा गरिएको थियो । तर, विभिन्न कारणले पूर्वनिर्धारित समयमा प्रतियोगिता हुन सकेन । पटक-पटक मिति सर्दै आएपछि खेलाडी, खेलकुद संघ तथा सरोकारवालामा अन्योल सिर्जना भएको थियो । पछिल्लो समय भने प्रतियोगिताका लागि खेलाडी छनोट, खेलस्थल व्यवस्थापन, पूर्वाधार निर्माण तथा समग्र आयोजना व्यवस्थापनका कामले गति लिएका छन् । प्रतियोगिता नजिकिँदै गर्दा आयोजक तथा सरोकारवाला निकायमाथि निर्धारित समयमै आवश्यक तयारी पूरा गरी सफलतापूर्वक प्रतियोगिता सम्पन्न गर्नुपर्ने चुनौती थपिएको छ । कर्णालीको खेलकुद गौरव बन्दै प्रदेश रंगशालाकर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा निर्माण भएको प्रदेश रंगशाला कर्णालीको खेलकुद गौरव र पहिचानको नयाँ आधारका रूपमा स्थापित हुन थालेको छ । आधुनिक खेल पूर्वाधारसहित निर्माण गरिएको यस रंगशालाले कर्णालीलाई राष्ट्रिय खेलकुदको महत्त्वपूर्ण गन्तव्यका रूपमा विकास गर्ने अपेक्षा गरिएको छ । मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेश रंगशालाले कर्णालीको खेलकुद विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार रंगशालाको निर्माणले प्रदेशमा खेलकुदका गतिविधि विस्तार हुनुका साथै राष्ट्रियस्तरमा कर्णालीको पहिचान स्थापित गर्न सहयोग पुग्नेछ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य आयोजनास्थलका रूपमा रहेको प्रदेश रंगशालामा करिब १० हजार दर्शक अट्ने क्षमता छ । प्रदेश गौरवको आयोजनाका रूपमा निर्माण गरिएको रंगशालामा फुटबल मैदान, एथलेटिक्स ट्र्याक, पौडी पोखरी र कभर्डहललगायत आधुनिक खेल पूर्वाधार तयार गरिएका छन् । रंगशालामा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको फुटबल मैदान र आठ लेनको एथलेटिक्स र्ट्याक निर्माण गरिएको छ । खेलाडी, रेफ्री, सञ्चारकर्मी तथा स्वास्थ्य सेवाका लागि आवश्यक कक्षसमेत व्यवस्था गरिएको छ । पौडी पोखरी र बहुउद्देश्यीय कभर्डहलले यसलाई विभिन्न खेलका प्रतियोगिता तथा प्रशिक्षण सञ्चालन गर्न सकिने बहुउपयोगी खेल परिसरका रूपमा विकास गरेको छ । करिब एक अर्ब ५९ करोड ४७ लाख रुपैयाँ लागतमा निर्माण गरिएको यो रंगशालालाई कर्णालीको खेलकुद पूर्वाधार विकासमा महत्त्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ । यसले फुटबल र एथलेटिक्ससँगै पौडी, भलिबल, बास्केटबल, ह्याण्डबललगायत खेलको अभ्यास तथा प्रतियोगिता सञ्चालनका लागिसमेत आधार तयार गरेको छ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन तथा समापन समारोह यही रंगशालामा आयोजना गर्ने तयारी गरिएको छ । प्रतियोगिताको तयारीसँगै रंगशालाले राष्ट्रियस्तरमा चर्चा पाउन थालेको छ । सोमबार रंगशालाबाटै दशौँ राष्ट्रिय खेलकुदको ३० दिने काउन्टडाउनसमेत सुरु गरिएको थियो । प्रदेश रंगशालाको निर्माणले कर्णालीका खेलाडीलाई आफ्नै प्रदेशमा आधुनिक खेल पूर्वाधार प्राप्त गर्ने अवसर सिर्जना गरेको छ । यसअघि व्यवस्थित खेलमैदान र प्रशिक्षण पूर्वाधारको अभाव झेल्दै आएका खेलाडीले अब नियमित अभ्यास र प्रतिस्पर्धाका लागि थप अवसर पाउने अपेक्षा गरिएको छ । आफ्नै प्रदेशमा स्तरीय पूर्वाधार उपलब्ध हुँदा खेलाडीको क्षमता अभिवृद्धि र नयाँ प्रतिभा पहिचानमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ । रंगशालाले खेलकुदसँगै आर्थिक तथा पर्यटन गतिविधि विस्तारमा पनि योगदान पुर्याउने अपेक्षा गरिएको छ । राष्ट्रियस्तरका प्रतियोगिता आयोजना हुँदा देशका विभिन्न प्रदेशबाट खेलाडी, प्रशिक्षक, खेल पदाधिकारी र दर्शक सुर्खेत आउनेछन् । यसबाट होटल, यातायात, व्यापार तथा स्थानीय व्यवसायमा आर्थिक गतिविधि बढ्ने व्यवसायीहरूको अपेक्षा छ । प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र पर्यटकीय सम्भावनाले भरिपूर्ण कर्णालीमा आधुनिक खेल पूर्वाधार निर्माण हुनुले खेल पर्यटनको विकासका लागि समेत नयाँ अवसर सिर्जना गरेको छ । राष्ट्रिय प्रतियोगितालाई प्रदेशका पर्यटकीय गन्तव्यसँग जोड्न सके खेलकुदका माध्यमबाट कर्णालीको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्न सक्ने देखिन्छ । यद्यपि, प्रदेश रंगशालाको वास्तविक उपलब्धि प्रतियोगिता सम्पन्न भएपछि यसको उपयोग र सञ्चालनबाट मापन हुनेछ । यसलाई नियमित खेल प्रशिक्षण, राष्ट्रिय प्रतियोगिता तथा दक्ष खेलाडी उत्पादनको केन्द्रका रूपमा सञ्चालन गर्न सकेमात्र यसको दीर्घकालीन प्रतिफल प्राप्त हुने सामाजिक विकासमन्त्री जितबहादुर मल्लले बताउनुभयो । दशौँ राष्ट्रिय खेलकुद कर्णालीका लागि प्रतियोगिता आयोजना गर्ने अवसरमात्र होइन, आफ्नो क्षमता, पूर्वाधार र सम्भावना राष्ट्रियस्तरमा चिनाउने महत्त्वपूर्ण अवसर पनि हो । प्रदेश रंगशाला यही सम्भावनाको प्रतीक बनेको छ । अब यसको प्रभावकारी सञ्चालन, संरक्षण र नियमित उपयोगमार्फत् कर्णालीलाई खेलकुदको स्थापित केन्द्र बनाउने चुनौती प्रदेश सरकारसामु छ ।
दशौँ राष्ट्रिय खेलकुदको काउन्टडाउन सुरु

Read Complete Original Article
Published originally on हिमालय टाइम्स





