भक्तपुर । काठमाडौं नजिकैको प्रमुख पर्यटकीय गन्तव्य नगरकोटमा पर्यटन तथा आतिथ्य क्षेत्रको डिजिटल सेवा र व्यावसायिक कनेक्टिभिटी थप सहज बनाउने उद्देश्यसहित वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले नयाँ सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले नगरकोटमा सञ्चालनमा ल्याएको उक्त कार्यालयले विशेषगरी नगरकोटका होटल, रिसोर्ट, रेस्टुरेन्ट तथा अन्य पर्यटन सम्बद्ध व्यवसायसँगको सम्बन्ध विस्तार र व्यावसायिक सहकार्यलाई प्राथमिकता दिने कम्पनीले जनाएको छ । प्राकृतिक सौन्दर्य, हिमशृंखलाको दृश्यावलोकन तथा शान्त वातावरणका कारण आन्तरिक र बाह्य पर्यटकमाझ लोकप्रिय नगरकोटमा पछिल्लो समय होटल तथा रिसोर्ट व्यवसाय विस्तार हुँदै गएको छ । पर्यटकलाई गुणस्तरीय सेवा प्रदान गर्न भरपर्दो इन्टरनेट तथा डिजिटल कनेक्टिभिटी पनि आतिथ्य क्षेत्रको महत्त्वपूर्ण आवश्यकता बन्दै गएको छ । पर्यटकको अनलाइन बुकिङ, डिजिटल भुक्तानी, सञ्चार, ग्राहक सेवा तथा होटलको दैनिक व्यवस्थापनजस्ता गतिविधिमा इन्टरनेटको भूमिका बढ्दै गएको सन्दर्भमा वर्ल्डलिंकको नयाँ सम्पर्क कार्यालयले स्थानीय पर्यटन व्यवसायीलाई आवश्यक डिजिटल समाधानबारे जानकारी तथा सेवा समन्वयमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ । नगरकोटमा सञ्चालनमा आएको सम्पर्क कार्यालयले मुख्यरूपमा इन्टरप्राइज बिक्री तथा व्यवसाय विकासमा केन्द्रित भई होटल, रिसोर्ट, रेस्टुरेन्ट, व्यावसायिक प्रतिष्ठान तथा अन्य संस्थालाई लक्षित गर्ने बताइएको छ । जसमार्फत् स्थानीय व्यवसायको इन्टरनेट तथा कनेक्टिभिटीसम्बन्धी आवश्यकता बुझ्ने, उपयुक्त समाधानबारे जानकारी उपलब्ध गराउने र ग्राहकसँग प्रत्यक्ष समन्वय गर्ने कम्पनीको लक्ष्य रहेको छ । नगरकोटमा सम्पर्क कार्यालय सञ्चालनसँगै वर्ल्डलिंकले नेपालभरका व्यवसायसँग आफ्नो सम्बन्ध विस्तार गर्दै उनीहरूको डिजिटल कनेक्टिभिटी आवश्यकतालाई सहयोग गर्ने प्रयासलाई निरन्तरता दिएको छ ।
नगरकोटमा वर्ल्डलिंकको नयाँ सम्पर्क कार्यालय

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






