काठमाडौँ । दशैँ नेपाली फिल्मका लागि राम्रो समय मानिन्छ । सोही कारण पनि दशैँलाई लक्षित गर्दै फिल्म प्रदर्शन गर्न निर्माता तथा निर्देशकले जोड गर्ने गरेका छन् ।
दशैँमा पारिवारिक माहोल हुने भएकाले परिवार नै दर्शक बनेर हल आउने र त्यसले सामान्य समयको तुलनामा व्यापार बढाउने अपेक्षाकै कारण गएको दशैँलाई लक्षित गर्दै टीका अगाडि तीन फिल्म ‘आ बाट आमा २’, ‘छ माया छपक्कै २’ र ‘१२ गाउँ २’ प्रदर्शन भए भने टीकापछाडि ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ प्रदर्शनमा आयो ।

यी फिल्मको बक्सअफिस हेर्दा ‘कबड्डी : आफ्टर द फाइनल म्याच’ ले १० करोड ७६ लाख ७३ हजार ७ सय १५ रुपैयाँको ग्रस कलेक्सन गरेको छ । उक्त फिल्मलाई कात्तिक १५ गते आइतबारसम्म ३ लाख ४६ हजार ४ सय २७ जना दर्शकले हेरिसकेको चलचित्र विकास बोर्डले तथ्यांक सार्वजनिक गरेको छ ।

यसका साथै ‘आ बाट आमा २’ ले सोही अवधिमा ६ करोड २४ लाख ७० हजार १ सय ३० रुपैयाँको व्यापार गरेको छ भने उक्त अवधिमा फिल्मको २ लाख १३ हजार १ सय ९४ वटा टिकट बिक्री भएका छन् ।

यस्तै, ‘छ माया छपक्कै २’ ले ३ करोड ३४ लाख ८४ हजार ४ सय ३५ र ‘१२ गाउँ २’ ले २ करोड २९ लाख ५७ हजार ९ सय ८६ रुपैयाँ कमाइ घरेलुबजारमा गरेको छ । यी सम्पूर्ण कमाइहरू फिल्म प्रदर्शन भएको मितिदेखि आइतबारसम्मको हो । यसपटक दशैँमा प्रदर्शन भएका फिल्म भन्दा पनि टीकाको भोलिपल्ट प्रदर्शन भएको ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ मा दर्शकको आकर्षण बढेको पाइएको छ ।

यी सबै फिल्म सिक्वेल वा सिरिजका रुपमा तयार भएका थिए । पहिलो भागले गरेको कमाइका आधारमा यी फिल्महरूले १० करोड माथिको न्यूनतम् कमाइ गर्नुपर्ने दबाब थियो । तर, दशैँ अगाडि दर्शकको उपस्थिति हलमा कम देखियो ।

गत कात्तिक ६ गतेदेखि प्रदर्शन भएको ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ ले मिश्रित प्रतिक्रिया पाउँदा पनि दर्शकको आकर्षण बढेको पाईयो । फिल्मले सुरुआती दिनदेखि नै आक्रामक व्यापार गर्यो । फलतः नयाँ फिल्मले असर नगरे यसको यात्रा लामो नै देखिन्छ ।

रामबाबु गुरुङको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा दयाहाङ राई, विजय बराल, विपिन कार्की, बुद्धी तामाङ, पुस्कर गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ । अभिनेता राईले दर्शक पात्रसँग जोडिएको कारणले पनि पर्दामा सजिलै कनेक्ट भएको हुनसक्ने बताए ।

‘काजी पात्रलाई दर्शकले पर्दामा देख्न थाल्नुभएको १२ वर्ष पुगिसक्यो । हामी जस्तै दर्शकलाई पनि पात्रको माया लाग्छ होला, त्यसैले पर्दा भित्रको सुख दुःख पर्दा बाहिरसम्म आइपुग्छ’, उनले भने । यद्यपि आगामी शृंखला केही समयको अन्तरलमा मात्र आउने उनले बताए ।

‘हामी कबड्डी ६ अवश्य ल्याउँछौं, तर समय लाग्छ । किनकि काजीमा आएको परिवर्तनसँगै एउटा उमेरमा पुगेपछि उसको मनोविज्ञान कस्तो हुन्छ भन्ने जिज्ञासा मलाई पनि छ । यसपटक अलि परिपक्क देखाईएको छ, आगामी शृंखलामा परिवर्तित नै हुन्छ होला । काजी त्यो समयमा उमेर, मनोविज्ञानसँगै शारीरिक रुपमा पनि फरक हुन्छ’, उनले भने ।

‘कबड्डी ५ : आफ्टर फाइनल म्याच’ बाहेक प्रदर्शन भएका अन्य फिल्मले ठीकठाक मात्र कमाइ गर्न सकेका छन् । ती फिल्मबारे सामाजिक सञ्जालमा कतै दर्शकको अपेक्षाअनुसार व्यापार नभएको चर्चा थियो भने कतै सुपरहिट भएको दाबीसमेत देखिएको थियो । आखिर यी तीन फिल्मको वास्तविक कमाइ कस्तो रह्यो त ?

अघिल्ला भागको सफलता, दशैँको लामो बिदा र सिक्वेलप्रति दर्शकको चासोका कारण तीनवटै फिल्मबाट राम्रो व्यापारको अपेक्षा गरिएको थियो । तर, सार्वजनिक तथ्यांकले अपेक्षालाई गलत सावित गरिदियो । चलचित्र विकास बोर्डले आज (सोमबार) सार्वजनिक गरेको आधिकारिक बक्सअफिस रिपोर्टले तीनवटै फिल्मको कमाइ अघिल्ला भागको तुलनामा कमजोर देखाएको छ ।

बोर्डले सार्वजनिक गरेको रिपोर्टअनुसार, ‘आ बाट आमा २’ ले ६ करोड २४ लाख ७० हजार १ सय ३० रुपैयाँ मात्र कमाइ गरेको छ । जबकी यसको पहिलो भागले १३ करोड बढीको कमाइ गरेको थियो । फिल्मका निर्देशक चन्द्र पन्तले यसपटक दशैँमा फिल्मको भिडभाड भएकाले अघिल्लो सफलता दोहोरिने अपेक्षा नगरिएको बताए ।

‘फिल्मको भिडभाडले पनि म मात्र नभई अन्यले पनि अघिल्लो भाग भन्दा बढी व्यापार गर्छ वा कमाउछु भन्ने सोच राखेको मलाई लाग्दैन । हाम्रो फिल्म राम्रो चल्छ भने अपेक्षा थियो, चलिरहेको पनि छ । किनकि एकल प्रदर्शन हुँदा हुने कमाइ, अन्यसँग भिड्दा कम नै हुन्छ’, निर्देशक पन्तले भने । उनले फिल्म चलाउनको लागि आफूले टिकेट नकिने पनि दाबी गरे ।

‘हामीले सञ्चारकर्मी, केहि शुभेच्छुक र आफन्तका लागि बढीमा डेढ लाखको टिकेट खरिद गर्यौं होला, त्यो बाहेक छैन । अहिले फिल्म प्रदर्शनको समयमा हल्ला हुनु स्वाभाविक नै हो तर हामीले त्यस्तो गरेका छैनौं’, उनले भने ।

फिल्ममा पल शाह, विपना थापा, मलिका महत र आकाश श्रेष्ठलगायत कलाकारको अभिनय छ । यसको अघिल्लो भाग ‘आबाट आमा’ले १३ करोड २० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो ।

पहिलो फिल्म ‘६ एकान ६’ देखि नै घरेलु दर्शकको माया र विश्वास कमाएका अभिनेता दीपकराज गिरी यसपटक अपेक्षा अनुसार सफल भएनन् । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार उनको फिल्मको कमाइ साढे तीन करोड पनि पुगेको छैन ।

जबकी उनका धेरै फिल्महरू ९ करोड बढी कमाइ गरेका छन् । त्यो दौडमा ‘छ माया छपक्कै २’ नपुग्ने लगभग तय नै भएको छ ।

दीपेन्द्र लामाको निर्देशनमा बनेको फिल्ममा दीपकराज गिरी, केकी अधिकारी, सनिशा भट्टराई, दीपाश्री निरौला, कर्मा शाक्य र रिहान गिरीलगायत कलाकारको अभिनय छ।

यसको अघिल्लो भाग ‘छ माया छपक्कै’ले नौ करोड ९२ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो । पहिलो भागको व्यावसायिक सफलताका कारण सिक्वेलप्रति पनि दर्शकको चासो थियो । तर, सार्वजनिक रिपोर्टअनुसार फिल्मको अहिलेसम्मको कमाइ अघिल्लो भागको तुलनामा निकै कम छ, जसलाई अभिनेता गिरीले स्वीकार गरेका छन् ।

‘हाम्रो फिल्मले गर्ने व्यापार वा कमाइको तुलनामा सबै भन्दा कम्जोर छ माया छपक्कै २ देखिएको छ, यो सत्य हामीले स्वीकार्नै पर्छ । तर, हामीले दर्शकबाट समीक्षा भने निकै रामो पाएका छौँ । यद्यपि, व्यवसायिक रुपमा सफल भएका छौँ’, उनले भने ।

उनले आफ्नो फिल्मको पछिल्लो व्यापारहरू हेर्दा यसपटक असफल भएको स्वीकार गरे । यद्यपि, एउटा सर्जकका हिसाबले दर्शकमार्फत पाएको प्रतिक्रियाले आफू उत्साहित भएको उनले बताए ।

‘फिल्म चल्दा जसरी मैले श्रेय पाउने गरेको छु, नचल्दा पनि यो मेरै जिम्मेवारी हो । यसपटक हास्यरस कम भयो भने प्रतिक्रिया पाएको छु, तर विषयगत रुपमा हामी अब्बल छौँ भन्ने पनि प्रतिक्रिया आएको छ । त्यसैले आगामी दशैंमा यसको तेस्रो भाग छ माया छपक्कै ३ लिएर आउने छु’, उनले भने ।

उनले आफ्नो एउटा फिल्म व्यवसायिक रुपमा सफल हुँदैमा सफल फिल्म ‘छक्का पञ्जा’ को शृंखला नल्याउने बताए । ‘ छ माया छपक्कै २’ को अधुरो कथालाई पुरा गर्न नयाँ शृंखला आगामी दशैँमा आउने उनले दाबी गरे ।

विराज भट्टको निर्देशनमा बनेको ‘१२ गाउँ २’ ले प्रदर्शन दशैँमा प्रदर्शनमा भएका फिल्म मध्ये निकै न्यून कमाइ गरेको छ । २ करोड २९ लाख ५७ हजार ९ सय ८६ रुपैयाँ मात्र कमाइ गरेपछि यो घरेलुबजार असफल भएको छ । किनकि यसको अघिल्लो भाग ‘१२ गाउँ’ले १९ करोड ९२ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो । फिल्ममा विराज भट्ट, समीर भट्ट, अनुपविक्रम शाही, कृशु शाही, वर्षा इटानी र सुनिल पोखरेललगायत कलाकारको अभिनय छ।

विसं २०८१ को दशैँमा तीन फिल्मले झन्डै ३९ करोड रुपैयाँको व्यापार गरेका थिए भने विसं २०८२ को दशैँमा त्यो १५ करोडमा सिमित भएको थियो । यस वर्षको दशैँलाई हेर्ने हो भने त्यो कमाइमा ह्रास नै आएको छ । कथा भन्दा पनि सिक्वेल वा सिरिजलाई कमाउने फिल्मका रुपमा हेर्ने, विदालाई लक्षित गर्दै प्रदर्शन घोषणा गरेर मात्र फिल्म छायांकनको तारतम्य मिलाउने, जबर्जस्ती कथा अगाडि बढाउने निर्माता तथा निर्देशकको शैलीले दशैँमा प्रदर्शन भएका फिल्महरूले दर्शकको साथ कम पाएको विश्लेषण फिल्मकर्मीहरूको छ ।

दशैँमा किन घट्यो फिल्मको कमाइ ?

Read Complete Original Article
Published originally on ओएसनेपाल