मुस्ताङ। चक्रिय अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने साहसिक थोराङ्ला पास हुँदै पछिल्लो चार महिनामा आठ हजारभन्दा बढी पर्यटकले यात्रा गरेका छन्। समुद्र सतहबाट पाँच हजार चार सय १६ मिटर उचाइमा रहेको उक्त पदमार्गमा जमेको हिउँ पन्छाउँदै साउनदेखि कात्तिकसम्म आठ हजार ६४ जना स्वदेशी तथा विदेशी पर्यटकले यात्रा पूरा गरेका हुन्। जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्याङ्कअनुसार साउनमा एक सय ३३, भदौमा तीन सय ९९, असोजमा एक हजार तीन सय ६८ र कात्तिक महिनामा सबैभन्दा धेरै छ हजार एक सय ६४ पर्यटकले थोराङ्ला पास पार गरेका छन्। कात्तिक महिनामा मात्रै कुल आगमनको ७६ दशमलव ४४ प्रतिशत पर्यटक मुस्ताङ भित्रिएको सूचना अधिकारी सन्तोष बस्यालले जानकारी दिनुभयो। चार महिनाको अवधिमा पाँच हजार दुई सय २३ विदेशी र दुई हजार आठ सय ४१ नेपाली पर्यटकले पदयात्रा गरेका छन्। कुल आगमनमा विदेशी पर्यटकको हिस्सा ६४ दशमलव ७७ प्रतिशत र नेपालीको हिस्सा ३५ दशमलव २३ प्रतिशत रहेको छ। कुल पर्यटकमध्ये पाँच हजार आठ सय ६५ पुरुष र दुई हजार एक सय ९९ महिला रहेका छन्। भदौमा भोटेकोशीमा आएको बाढीका कारण केही विदेशी पर्यटकले भ्रमण रद्द गरे पनि कात्तिकमा दुवै समूहको आगमन उत्साहजनक देखिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले जनाएको छ। पदयात्रा व्यवसायी तथा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पोखराका निर्वतमान अध्यक्ष कृष्ण आचार्यले पदमार्गको महत्त्व जोगाउनुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, ‘पदयात्राका लागि यो आकर्षक गन्तव्य हो, अब पदमार्ग जोगाउनुपर्छ, पदयात्रा नजिक सडक पुग्दा यात्रा खुम्चिएको छ, आम्दानी पनि गुमेको छ।’ सडक सञ्जालको विस्तारले पदयात्राको अवधि घटे पनि थोराङ्ला पास विदेशी पर्यटकको रोजाइमा पर्ने गरेको छ। सन् १९७० मा पदयात्राका लागि खुल्ला गरिएको यस क्षेत्रमा अनुकूल मौसममा बर्सेनि १५ हजारभन्दा बढी पर्यटक आउने गरेका छन्।
थोराङ्ला पासबाट चार महिनामा आठ हजारभन्दा बढी पर्यटक भित्रिए

Read Complete Original Article
Published originally on नेपालन्युज






