नेपाल प्रहरीका तीन जना प्रहरी उपरीक्षक (एसपी) सहित ११ जना प्रहरी अधिकृतको जिम्मेवारी हेरफेर गरिएको छ। प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले केही प्रहरी अधिकृतको काज सरुवा गर्ने निर्णय गरेका हुन्। सरुवाअनुसार कार्जी कुमार आचार्यलाई प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखामा ल्याइएको छ। उक्त शाखामा कार्यरत निरञ्जन दत्त भट्टलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा पठाइएको छ। एसपी सुदीप पाठकलाई प्रहरी प्रधान कार्यालयअन्तर्गत विशेष ब्युरोमा सरुवा गरिएको छ। त्यसैगरी, आठ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को पनि जिम्मेवारी परिवर्तन गरिएको छ। डीएसपी विश्वराज अधिकारीलाई प्रहरी प्रधान कार्यालयको केन्द्रीय लेखा, तर्कराज पाण्डेलाई आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय र दानबहादुर थापालाई कर्मचारी प्रशासन शाखामा ल्याइएको छ। कर्मचारी प्रशासन शाखामा कार्यरत मदक कुँवरलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पठाइएको छ। प्रबन्धमा कार्यरत प्रकाश थापालाई पहरा गण र केन्द्रीय लेखा प्रमुख शेखरजंग मल्ललाई सुरक्षा सेवा व्यवस्थापन महाशाखामा सरुवा गरिएको छ। यस्तै, अछाममा कार्यरत डीएसपी पविन्द्र बमलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय दमकमा कार्यरत डीएसपी हरि बस्नेतलाई सर्वोच्च अदालतस्थित सुरक्षा कार्यालयमा खटाइएको छ। प्रहरी प्रधान कार्यालयका एक अधिकृतका अनुसार डीएसपी बम र बस्नेतलाई प्रहरी स्टाफ कलेजको तयारीका लागि कार्यबोझ कम हुने कार्यालयमा सरुवा गरिएको हो।
तीन एसपीसहित ११ प्रहरी अधिकृतको जिम्मेवारी हेरफेर, को कहाँ ?

Read Complete Original Article
Published originally on पर्दाफास






