काठमाडौं । थाइल्याण्डमा जारी महिला टी-ट्वान्टी स्मास क्रिकेट प्रतियोगितामा नेपाल समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । टर्डथाइ क्रिकेट मैदानमा आयोजक थाइल्याण्डको ‘ए’ टोलीलाई नौ विकेटले पराजित गर्दै नेपालले समूह चरणमा शतप्रतिशत जित हासिल गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्ड ‘ए’ १५.४ ओभरमा १९ रनमै अलआउट भयो । उसका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । थान्चानोक फुप्लुकले बनाएको चार रन नै टोलीको व्यक्तिगत उच्च स्कोर रह्यो । थाइल्याण्डका पाँच खेलाडी शून्य रनमा आउट भएका थिए । टोलीले बनाएको १९ रनमध्ये ब्याटरबाट १२ रन आएको थियो भने अतिरिक्तमार्फत् सात रन जोडिएको थियो । नेपालका लागि आरती विडारीले सर्वाधिक तीन विकेट लिनुभयो । सरिता मगर र इन्दु बर्माले समान दुई विकेट हात पार्नुभयो । जवाफमा २० रनको सामान्य लक्ष्य पछ्याएको नेपालले ३.३ ओभरमै एक विकेट गुमाएर जित निकालेको थियो । नेपालका लागि ममता चौधरीले आठ रन बनाउँदा नेरी थापा पाँच र डोली भट्ट दुई रनमा अविजित रहनुभयो । समूह चरणमा नेपालले खेलेका चारवटै खेल जितेको छ । नेपालले पहिलो खेलमा चीनलाई १० विकेटले पराजित गरेको थियो । त्यस्तै, दोस्रो खेलमा मलेसियालाई ६ विकेट र तेस्रो खेलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई पनि ६ विकेटले हराएको थियो । लगातार चार जितसँगै समूह ‘ए’ को शीर्ष स्थानमा रहँदै नेपालले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
थाइल्याण्डमाथि नेपालको सानदार जित, अपराजित रहँदै सेमिफाइनलमा

Read Complete Original Article
Published originally on हिमालय टाइम्स





