मुम्बई । बेलायती राजकुमार विलियम र राजकुमारी क्याथरिन तीनदिने भ्रमणका लागि सोमबार भारत आइपुगेका छन्। सन् २०२४ मा क्याथरिनलाई क्यान्सर भएको पुष्टि भएपछि दुवै जना सँगै विदेश भ्रमणमा निस्किएको यो पहिलो अवसर हो। मुम्बईबाट भ्रमण सुरु गरेका उनीहरू मंगलबार राजकुमार विलियमले स्थापना गरेको ‘अर्थसट प्राइज’ वितरण समारोहमा सहभागी हुनेछन्। जलवायु परिवर्तनका चुनौती समाधान गर्ने नवीन उपायलाई प्रोत्साहन गर्ने यस पुरस्कारका पाँच विजेताले जनही १३ लाख अमेरिकी डलर प्राप्त गर्नेछन्। सन् २०२० मा स्थापना भएको पुरस्कारको अहिलेसम्मकै ठूलो समारोहमा भारतीय क्रिकेटर सचिन तेन्दुलकर, अभिनेत्री आलिया भट्ट र अभिनेता रामी मालेकसहितका विशिष्ट अतिथि सहभागी हुनेछन्। बेलायती पप समूह ‘टेक द्याट’ले पनि पहिलो पटक भारतमा प्रस्तुति दिने कार्यक्रम छ। भारत पुगेपछि राजकुमार विलियम र राजकुमारी क्याथरिनले मुम्बईमा स्थानीय बासिन्दासँग सडक क्रिकेट खेलेका थिए। उनीहरूले भारतको क्रिकेट, फेसन र चलचित्र क्षेत्रसँग सम्बन्धित कार्यक्रममा पनि सहभागिता जनाउनेछन्। त्यसपछि नयाँदिल्ली पुगेर बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने कार्यक्रम छ। यसअघि सन् २०१६ मा भारत भ्रमण गर्दा पनि उनीहरूले मोदीसँग भेट गरेका थिए। क्यान्सर उपचारपछि क्याथरिनको यो विदेशमा राजपरिवारका औपचारिक कार्यक्रममा दुवै जना सहभागी भएको पहिलो भ्रमण हो। उनले सन् २०२५ जनवरीमा आफू क्यान्सरमुक्त भएको घोषणा गरेकी थिइन्।
तीनदिने भ्रमणका लागि भारत आइपुगे राजकुमार विलियम र क्याथरिन

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






