नेपाल टेलिकमले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा ३७.३५ प्रतिशतले बढाएको छ। कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म १ अर्ब ८२ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ३२ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। गत वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा ४९ करोड ५० लाख रुपैयाँले बढेको हो। यद्यपि, कम्पनीको कुल सञ्चालन आयमा भने सामान्य गिरावट देखिएको छ। समीक्षा अवधिमा कम्पनीले ८ अर्ब ६७ करोड ८२ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी ८ अर्ब ६७ करोड ९५ लाख रुपैयाँ रहेको थियो। यसअनुसार सञ्चालन आम्दानी १२ लाख ६० हजार रुपैयाँ अर्थात् ०.०१ प्रतिशतले घटेको हो। सञ्चालन आम्दानीमा सामान्य कमी आए पनि अन्य आम्दानीसमेत जोड्दा कम्पनीको कुल आय बढेको छ। गत वर्षको पहिलो त्रैमासमा ९ अर्ब ४७ करोड १० लाख रुपैयाँ कुल आय रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ९ अर्ब ४७ करोड ७६ लाख रुपैयाँ पुगेको छ। कम्पनीको जीएसएम सेवातर्फको सञ्चालन राजस्वमा १० लाख १६ हजार रुपैयाँ र एफटीटीएच सेवातर्फको राजस्वमा ४ करोड ४० लाख रुपैयाँले वृद्धि भएको छ। कम मूल्यका तथा ठूला मोबाइल डेटा प्याकेजको प्रयोग बढ्दा कम्पनीको सेवा उपभोगमा सकारात्मक प्रभाव परेको छ। वित्तीय विवरणअनुसार कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ४० रुपैयाँ ४५ पैसा कायम भएको छ। त्यस्तै, ब्याज, कर, ह्रास तथा परिशोधनअघिको नाफा (ईबीआईटीडीए) ४ अर्ब ४५ करोड ९० लाख रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो नाफा ४ अर्ब ७५ करोड ४ लाख रुपैयाँ थियो। कम्पनीका अनुसार ह्रास खर्चमा कमी आउनु तथा मूल्यह्रास क्षति फिर्ता समायोजनका कारण समग्र खुद खर्च ४८ करोड १२ लाख रुपैयाँले घटेको छ। खर्चमा आएको यही कमीले सञ्चालन आम्दानीमा सामान्य गिरावट हुँदाहुँदै पनि खुद नाफा बढाउन सहयोग पुगेको देखिन्छ। The post तीन महिनामा नेपाल टेलिकमको नाफा ३७ प्रतिशतले बढ्यो appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
तीन महिनामा नेपाल टेलिकमको नाफा ३७ प्रतिशतले बढ्यो

Read Complete Original Article
Published originally on कर्पोरट खबर






