तनहुँ।तनहुँमा स्क्रब टाइफस संक्रमणको जोखिम देखिएको छ। चालु आर्थिक वर्षको असोज महिनामा मात्रै जिल्लाका सात स्थानीय तहका एक सय ५५ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ। प्रदेश जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी सुदीप कँडेलका अनुसार असोज महिनामा सबैभन्दा बढी आँबुखैरेनी गाउँपालिकामा ५४ जनामा स्क्रब टाइफस पुष्टि भएको छ। त्यसैगरी बन्दीपुर गाउँपालिका र व्यास नगरपालिकामा समान ३४÷३४ जनामा संक्रमण देखिएको छ। भिमाद नगरपालिकामा २३ जनामा संक्रमण पुष्टि हुँदा शुक्लागण्डकी नगरपालिकामा सात, म्याग्दे गाउँपालिकामा दुई र भानु नगरपालिकामा एक जनामा स्क्रब टाइफस संक्रमण देखिएको सूचना अधिकारी कँडेलले जानकारी दिए। स्थानीय तहअनुसारको विवरण हेर्दा आँबुखैरेनीमा मात्रै कुल संक्रमितको करिब ३४.८ प्रतिशत अर्थात् झन्डै एक तिहाइ संक्रमित भेटिएका छन्। स्क्रब टाइफस एक प्रकारको जीवाणुजन्य संक्रामक रोग हो। खेतबारी, झाडी, घाँस तथा झारपात भएको क्षेत्रमा काम गर्ने वा समय बिताउने व्यक्तिमा यसको जोखिम रहने सूचना अधिकारी कँडेलले बताए। स्क्रब टाइफस हुँदा सामान्यतया ज्वरो आउने, टाउको दुख्ने, शरीर तथा मांसपेशी दुख्ने, अत्यधिक थकान महसुस हुने र शरीरमा दाना देखिने जस्ता लक्षण देखिन सक्छन्। कतिपयमा खोकी, वाकवाकी, बान्ता वा पेट दुख्ने समस्या पनि हुन सक्छ। समयमै पहिचान र उपचार नभए संक्रमणले फोक्सो, मिर्गौला, मस्तिष्कलगायत शरीरका महत्वपूर्ण अङ्गमा असर पुर्याउन सक्छ। स्क्रब टाइफसबाट बच्न झाडी, घाँस तथा खेतबारीमा काम गर्दा पूरा शरीर ढाक्ने कपडा लगाउने, सम्भव भएसम्म जुत्ता र मोजा प्रयोग गर्ने तथा काम सकेपछि शरीर र कपडा जाँच गर्ने गर्नुपर्छ। घर वरपर झाडी तथा अनावश्यक घाँसपात हटाएर वातावरण सफा राख्नु पनि उपयोगी हुन्छ।
तनहुँमा स्क्रब टाइफसको जोखिम

Read Complete Original Article
Published originally on नेपालन्युज






