धनकुटा।धनकुटाका खेतबारी यतिबेला सयपत्री फूलले ढकमक्क छन्। पहेँलपुर र सुन्तला रङका फूलले गाउँका पाखा र बारीको सौन्दर्य मात्र बढाएका छैनन्, किसानको आम्दानीको आशा पनि बढाएका छन्। फूल किसान तिहार नजिकिएसँगै फूल टिप्ने, माला बनाउने र बजारसम्म पुर्याउने चटारोमा छन्। तिहार भन्ने बित्तिकै फूल, माला, दियो र देउसीभैलोको चाड हो। घरका झ्यालढोका सजाउनदेखि दाजुभाइको गलामा लगाइदिने भाइटीकाको मालासम्म फूलकै महत्व हुन्छ। यही मागलाई अवसरमा बदल्दै धनकुटाका किसान व्यावसायिक फूल खेती गर्दै आएका छन्। छथर जोरपाटी गाउँपालिका–६ मजुवाका किसान खगेन्द्र पौडेलका लागि यतिबेला खेतबारी नै व्यस्तताको केन्द्र बनेको छ। उनले सञ्चालन गर्दै आएको श्री पौडेल कृषि फर्ममा १० रोपनी जमिनमा लगाएको सयपत्री फूल अहिले बिक्रीका लागि धमाधम काम भइरहेको छ। तीन महिनाअघि रोपेका बिरुवा अहिले फूलले भरिएका छन्। फूल टिप्ने र ग्राहकको मागअनुसार बजार पठाउने कामले यतिबेला उनलाई भ्याइनभ्याइ छ। स्थानीय बजारदेखि धनकुटा, धरान, विराटनगर, बुटबलदेखि काठमाडौंसम्म उनले फूल पठाइरहेका छन्। जिल्लाभित्र र बाहिरबाट आएको मागअनुसार फूल पुर्याउन समेत कठिन भइरहेको छ। यस वर्ष करिब १० टन फूल उत्पादन गर्ने उनको लक्ष्य रहेको छ। अहिले फूल प्रतिकिलो तीन सयदेखि चार सय रुपैयाँसम्ममा बिक्री भइरहेको उनको भनाइ छ। उनले कतिपय ठाउँमा किलोग्राम र कतिपय ठाउँमा मुठाका आधारमा फूल बिक्री गर्दै आएको बताए। तिहारलाई लक्षित गरेर फूल खेती गर्दा बजारको माग राम्रो हुने भए पनि उत्पादनमा भने विभिन्न चुनौती छन्। तिहार आउन करिब १०० दिनअघि रोप्नु पर्ने फूलमा लेकाली क्षेत्रमा ढुसी लाग्ने र पातमा छिर्का बस्ने समस्या देखिने गरेको पौडेलको अनुभव छ। यस्ता समस्याका बाबजुद पनि बजारमा फूलको माग बढेकाले उनी उत्साहित भएको बताए। धनकुटा नगरपालिका–७ का प्रविण पोख्रेल पनि फूल खेतीबाट राम्रो आम्दानी गर्ने आशामा रहेका छन्। एक रोपनी जमिनमा लगाएको फूल खेतीबाट यस वर्ष करिब दुई लाख रुपैयाँ आम्दानी गर्ने उनको लक्ष्य छ। विगतका वर्षमा भारतीय फूल र कृत्रिम मालाका कारण नेपाली किसानले बजारमा प्रतिस्पर्धा गर्न कठिन भएको पोख्रेलको भनाइ छ। स्वदेशी किसानको उत्पादनले उचित बजार पाउन सरकारले भारतीय फूल र कृत्रिम फूलको अनियन्त्रित आयात तथा प्रयोगलाई नियन्त्रण गर्नुपर्ने उनको माग छ। पोख्रेलले गत भारतीय फूल नआउँदा किसानले उत्पादन गरेको फूल सहज रुपमा बिक्री भएको बताउँदै यो वर्ष पनि सोही अनुसार काम भए सहज हुने बताए। उनले बिचौलियाहरु फूल किन्ने गरि आएको भए पनि सिधै उपभोक्तालाई बिक्री गर्ने तयारीमा रहेको बताए। गाउँको बारीदेखि सहरको बजारसम्म धनकुटाको फूल धनकुटामा उत्पादित फूल स्थानीय बजारमा मात्र सीमित छैन। छिमेकी जिल्लासँगै तराईका विभिन्न सहर हुँदै काठमाडौं र बुटवलसम्म पुग्ने गरेको छ। यसले फूल खेतीलाई किसानको आयआर्जनको माध्यम बनाउँदै लगेको छ। कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार जिल्लामा कम्तीमा ५१ रोपनी क्षेत्रफलमा फूल खेती भइरहेको छ। यस वर्ष करिब ६ मेट्रिक टन फूल उत्पादन हुने अनुमान गरिएको ज्ञान केन्द्रले जनाएको छ। जिल्लाका किसानले न्यूनतम ५० हजार रुपैयाँदेखि ३५ लाख रुपैयाँसम्मको फूल उत्पादन गरी बिक्री गर्दै आएका छन्। ज्ञान केन्द्रमा फूल किसानलाई लक्षित छुट्टै कार्यक्रम नभए पनि आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख गोविन्दप्रसाद आचार्यले बताए। फूल खेतीप्रति किसानको आकर्षण बढ्दै जानु यस क्षेत्रका लागि सकारात्मक पक्ष भएको उनको भनाइ छ। आचार्यका अनुसार ज्ञान केन्द्रको तथ्याङ्कभन्दा पनि बढी मात्रामा धनकुटामा फूल उत्पादन हुने अनुमान रहेको छ। कृत्रिम मालाको मोहले स्वदेशी किसानलाई चुनौती पछिल्लो समय धनकुटामा फूल खेती विस्तार हुँदै गए पनि नेपाली किसानले बजारमा विभिन्न चुनौती सामना गर्नुपरेको छ। विशेष गरी, भारतीय फूलको आयात र बजारमा पाइने कृत्रिम मालाको प्रयोगले स्थानीय उत्पादनको बिक्रीमा असर पार्ने गरेको किसानको गुनासो छ। तिहारमा मात्र होइन, अन्य चाडपर्व, विवाह, पूजाआजा तथा मेला महोत्सवमा समेत कृत्रिम मालाको प्रयोग बढ्दै गएको छ। हेर्दा आकर्षक र लामो समय टिक्ने भएकाले कृत्रिम मालाप्रति उपभोक्ताको आकर्षण बढेको देखिन्छ तर यसको विकल्पका रुपमा स्थानीयस्तरमै उत्पादन भएका प्राकृतिक फूलको प्रयोग बढाउन सके किसानको आम्दानी बढ्नुका साथै स्थानीय उत्पादनले बजार पाउने किसान पौडेलले बताए। प्राकृतिक फूलको प्रयोगले गाउँको कृषि उत्पादनलाई प्रोत्साहन गर्नुका साथै स्थानीय अर्थतन्त्रमा समेत योगदान पु¥याउने सरोकारवालाको भनाइ छ। वातावरणीय दृष्टिले पनि कृत्रिम मालाको प्रयोग घटाउँदै प्राकृतिक फूललाई प्राथमिकता दिनु आवश्यक रहेको किसान पोख्रलले बताए।
ढकमक्क फूलले ढाकियो धनकुटा

Read Complete Original Article
Published originally on नेपालन्युज






