कांग्रेसका स्थानीय सभापतिको सिफारिसमा दुवाकोटमा ५०, सिनामंगलमा २५ र नोबेल अस्पतालमा २० प्रतिशत सहुलियत, अति विपन्न र असहायलाई शतप्रतिशतसम्म छुट दिने घोषणा सिन्धुली । नेपाली कांग्रेसका नेता तथा गिरिजाप्रसाद कोइराला फाउन्डेसनका सभापति डा. सुनीलकुमार शर्माको पहलमा सिन्धुली, सिरहा र महोत्तरी जिल्लाका नागरिकले काठमाडौं मेडिकल कलेज (केएमसी) मा उपचार गराउँदा विशेष सहुलियत पाउने भएका छन्। आर्थिक अवस्था कमजोर भएका नागरिकलाई सहज रूपमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले डा. शर्माको उपस्थितिमा केएमसी र नेपाली कांग्रेसका स्थानीय तह, क्षेत्र तथा जिल्ला तहका सभापतिहरूबीच उपचारमा छुट उपलब्ध गराउने सम्झौता गरिएको हो। समाजसेवामा सक्रिय डा. शर्मा लामो समयदेखि आर्थिक अभावका कारण उपचारबाट वञ्चित नागरिकलाई सहयोग गर्दै आएका छन्। निःशुल्क उपचार, स्वास्थ्य शिविर तथा विभिन्न सामाजिक सेवामार्फत नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा पुर्याउने अभियानमा उनको संलग्नता रहँदै आएको छ। सोही सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै यसपटक तीन जिल्लाका नागरिकलाई अस्पतालमा उपचार गराउँदा विशेष छुट उपलब्ध गराउने व्यवस्था मिलाइएको हो। सम्झौता कार्यक्रममा डा. शर्माले अति विपन्न तथा असहाय नागरिकलाई आवश्यकताअनुसार शतप्रतिशतसम्म उपचार छुट उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे। आर्थिक अभावकै कारण कसैले पनि उपचारबाट वञ्चित हुनुपर्ने अवस्था आउन नदिन आफूले सक्दो सहयोग गर्ने उनको भनाइ थियो। सामान्य सहुलियतले मात्र उपचार सम्भव नहुने अवस्थाका नागरिकलाई समेत अस्पतालले विशेष प्राथमिकताका साथ सहयोग गर्ने उनले बताए। सम्झौताअनुसार भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा उपचार गराउँदा ५० प्रतिशत, काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा २५ प्रतिशत र विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा २० प्रतिशत छुट पाइनेछ। यो सुविधा नेपाल सरकारबाट सञ्चालित स्वास्थ्य बीमा, विपन्न नागरिक औषधि उपचार कोषलगायतका सरकारी स्वास्थ्य सुविधाको पूर्ण उपयोग गरिसकेपछि बाँकी उपचार खर्चमा लागू हुनेछ। स्वास्थ्य बीमामा आबद्ध नभएका तथा बीमा गराए पनि सेवा सक्रिय नभइसकेका बिरामीले समेत यो सुविधा पाउनेछन्। यसैक्रममा शनिबार सिन्धुली जिल्लाका विभिन्न नगरपालिका तथा गाउँपालिकाका नेपाली कांग्रेसका सभापतिहरूसँग केएमसीले सम्झौता गरेको हो। डा. शर्मा प्रमुख अतिथि रहेको कार्यक्रममा नेपाली कांग्रेस मोरङका सभापति तथा पूर्वमन्त्री डिकबहादुर लिम्बू, कांग्रेस नेत्री उषा गुरुङ, धनकुटा जिल्ला सभापतिलगायतको उपस्थिति थियो। सम्झौतापत्रमा केएमसीका तर्फबाट प्रशासन प्रमुख नारायण दाहालले हस्ताक्षर गरेका थिए। त्यस्तै, कमलामाई नगरपालिकाका कांग्रेस सभापति समुद्र श्रेष्ठ, तीनपाटन गाउँपालिका सभापति लालबहादुर स्याङ्ताङ, घ्याङलेख गाउँपालिका सभापति श्याम कर्माचार्य र सिन्धुली क्षेत्र नम्बर २ का सभापति विजय कुँवरलगायतले हस्ताक्षर गरेका छन्। अब सिरहा र महोत्तरी जिल्लाका सम्बन्धित स्थानीय तह तथा क्षेत्रका कांग्रेस सभापतिहरूसँग पनि सम्झौता गरिनेछ। सम्झौताको अवधि २०८४ साल असार मसान्तसम्म रहनेछ। सामाजिक उत्तरदायित्वअन्तर्गत अघि बढाइएको यस पहलले आर्थिक अवस्था कमजोर भएका नागरिकको उपचारमा आर्थिक भार कम गर्दै गुणस्तरीय स्वास्थ्य सेवा लिन सहज हुने अपेक्षा गरिएको छ। सम्झौताअनुसार ओपीडी दर्ता, जनरल बेड, आईसीयू, एचडीयू, सीसीयू, प्रयोगशाला परीक्षण, सीटी स्क्यान, एमआरआई, एक्सरे, ईसीजी, इन्डोस्कोपी, कोलोनोस्कोपी, ईएनटी, फिजियोथेरापी, दन्त उपचारलगायतका प्रत्यक्ष उपचारसँग सम्बन्धित सेवामा तोकिएको छुट उपलब्ध हुनेछ। सम्झौतापत्रमा उल्लेखित सेवागत सूचीअनुसार केही सेवामा २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ। तर, आईभीएफ, प्लास्टिक सर्जरी, प्रत्यारोपण, कस्मेटिक सर्जरी तथा न्युरो इन्टरभेन्सनलगायतका सेवामा छुट पाइने छैन। क्याबिनमा बसेर उपचार गराउँदा पनि छुट लागू हुने छैन। त्यस्तै, औषधि तथा चिकित्सकीय सामग्री, इम्प्लान्ट, शल्यक्रियामा प्रयोग हुने सामग्री र उपभोग्य सामग्रीमा समेत छुटको व्यवस्था गरिएको छैन। छुट प्रत्यक्ष स्वास्थ्य उपचारसँग सम्बन्धित सेवामा मात्र लागू हुनेछ। सहुलियत लिनका लागि बिरामीले सम्बन्धित नेपाली कांग्रेसको स्थानीय तह, क्षेत्र वा जिल्लाबाट सिफारिसपत्र लिएर अस्पताल आउनुपर्नेछ।
डा. सुनील शर्माको पहलमा सिन्धुली, सिरहा र महोत्तरीवासीलाई केएमसीमा ५० प्रतिशतसम्म छुट

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






