काठमाडौं । विश्व चर्चित रेस्लिङ प्रतियोगिता वर्ल्ड रेस्लिङ इन्टरटेनमेन्ट (डब्ल्यूडब्ल्यूई) का स्टार ब्रोनसन रिडको ३८ वर्षको उमेरमा निधन भएको छ। डब्ल्यूडब्ल्यूईले शुक्रबार एक विज्ञप्ति जारी गर्दै उनको निधन भएको जानकारी दिएको हो। रिडको वास्तविक नाम जर्मेन हेली थियो। डब्ल्यूडब्ल्यूईका अनुसार उनको निधन स्वास्थ्यसम्बन्धी जटिलताका कारण भएको हो। यद्यपि, कम्पनीले उनको निधनको थप विवरण सार्वजनिक गरेको छैन। ‘जर्मेन डब्ल्यूडब्ल्यूईमा ठूलो व्यक्तित्वका धनी थिए। त्योभन्दा पनि उनी असाधारण व्यक्ति, समर्पित परिवारका सदस्य र सबैका प्रिय सहकर्मी थिए,’ डब्ल्यूडब्ल्यूईले जारी गरेको विज्ञप्तिमा भनिएको छ। यसै महिनाको सुरुवातमा साउदी अरबमा आयोजित डब्ल्यूडब्ल्यूई क्राउन ज्वेल प्रतियोगिताका क्रममा रिड घाइते भएका थिए। विभिन्न सञ्चारमाध्यमका अनुसार उनको करङका केही हड्डी भाँचिएका थिए भने मिर्गौलामा समेत चोट लागेको थियो। थप उपचारका लागि उनी साउदी अरबमै बसेका थिए। अस्ट्रेलियाली नागरिक रिडले डब्ल्यूडब्ल्यूईमा दुई चरणमा आबद्ध भएर काम गरेका थिए। उनी सन् २०१९ देखि २०२१ सम्म कम्पनीमा रहेर काम गरेका थिए। त्यसपछि एक वर्षको अन्तरालमा पुनः डब्ल्यूडब्ल्यूईमा फर्किएका उनी निधन हुनुअघिसम्म कम्पनीमै आबद्ध थिए। पछिल्लो केही महिनामा निधन हुने उनी दोस्रो रेस्लिङ खेलाडी हुन्। यसअघि गत सेप्टेम्बरमा ४० वर्षीय बेलायती रेस्लिङ स्टार बेन्जामिन स्याटरलीको निधन भएको थियो। उनको निधनको कारण भने सार्वजनिक गरिएको थिएन।
डब्ल्यूडब्ल्यूई स्टार ब्रोनसन रिडको ३८ वर्षको उमेरमा निधन

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






