एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुससँग युक्रेनबाहेक सम्पूर्ण युरोपलाई समेट्ने गरी व्यापक सुरक्षा सम्झौता हुनसक्ने संकेत गरेपछि युरोपेली नेताहरूले त्यसको कडा प्रतिवाद गरेका छन् । युरोपेली देशहरूलाई सहभागी नगराई महाद्वीपको सुरक्षा संरचना पुनर्परिभाषित गर्ने अमेरिका र रुसको कुनै पनि प्रयासलाई अस्वीकार गर्ने युरोपेली संघ र उसका सहयोगी राष्ट्रहरूले स्पष्ट पारेका छन् । राष्ट्रपति ट्रम्पले मस्कोसँग युक्रेन मात्र नभई ‘सम्पूर्ण युरोप’ लाई समेट्ने एउटा ‘ठूलो र भव्य सम्झौता’ हुने सम्भावना रहेको र यसबाट सबै उत्साहित हुने दाबी गरेका थिए । ट्रम्पको यस अभिव्यक्तिले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका पुराना मागहरूलाई युरोपेली हितविपरीत सम्बोधन गर्न खोजिएको त होइन भन्ने चिन्ता युरोपेली सहयोगीहरूमा पैदा गरेको छ । अमेरिकी विशेष दूत तथा ट्रम्पका ज्वाइँ ज्यारेड कुश्नरले पनि दीगो शान्तिका लागि व्यापक युरोपेली सुरक्षा संरचना बनाउन काम भइरहेको पुष्टि गरेका छन् । युरोपेली संघकी वैदेशिक नीति प्रमुख काजा कल्लासले वारसभमा पत्रकारहरूसँग कुरा गर्दै युरोपमा पहिले नै सुरक्षा संरचना विद्यमान रहेको र रुसी राष्ट्रपति पुटिनसँग युरोपेली सुरक्षामा भिटो प्रयोग गर्ने अधिकार नरहेको स्पष्ट पारिन् । नाटोले सन् २०२१ मा पनि रुसलाई कुनै खतरा नपुर्याएको र हाल पनि कुनै खतरा नरहेको उल्लेख गर्दै उनले रुसले सम्झौताहरूको निरन्तर उल्लंघन गरिरहेको आरोप लगाइन् । साथै, कुनै पनि सम्झौता कार्यान्वयन हुनका लागि युरोपेली संघको प्रत्यक्ष सहभागिता अनिवार्य हुनुपर्नेमा उनले जोड दिइन् । पोल्याण्डका परराष्ट्रमन्त्री राडोस्लाव सिकोलस्कीले युरोप र युक्रेनको भविष्यबारे युरोपेली राष्ट्रहरूलाई बाहिर राखेर सम्झौता गर्नु राजनीतिक रूपमा अस्वीकार्य, अविवेकी र व्यावहारिक रूपमा असम्भव हुने चेतावनी दिएका छन् । यसैगरी युक्रेनका परराष्ट्रमन्त्री आन्द्री सिबिहाले मस्कोलाई युरोपेली सुरक्षाको ग्यारेन्टर मान्न नसकिने भन्दै क्रेमलिनसँग प्रभावको क्षेत्रबारे वार्ता गर्नुको साटो रुसी आक्रमणबाट युरोपको रक्षा गर्नु मुख्य प्राथमिकता हुनुपर्ने बताएका छन् । कल्लाससँगको भेटपछि सिबिहाले युक्रेनको भविष्य वा युरोपको सुरक्षाबारे दुवै पक्षको प्रत्यक्ष सहभागिताविना कुनै निर्णय हुन नसक्ने दोहोर्याए । अमेरिकाले युक्रेन युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास तीव्र पारेको छ र आगामी साता अबुधाबीमा किभ र मस्कोबीच पुनः वार्ता गराउने तयारी गरिरहेको छ । यसअघि अमेरिकी प्रतिनिधिहरूले ब्रसेल्समा नाटो, ईयु र मुख्य युरोपेली शक्तिहरूसँग युक्रेनको सुरक्षा ग्यारेन्टी र युरोपको व्यापक सुरक्षा व्यवस्थाबारे दुई दिन छलफल गरेका थिए । भिडियो लिङ्कमार्फत छलफलमा सहभागी भएका कुश्नरले सामाजिक सञ्जाल एक्समार्फत अमेरिकाले सबै पक्षको सुरक्षा चिन्ता सम्बोधन गर्ने व्यावहारिक व्यवस्थाका लागि काम गरिरहेको दाबी गरेका छन् । कुश्नरले अबुधाबी वार्ताका क्रममा युरोपेली साझेदारहरूसँग घनिष्ट परामर्श गरिने र प्रगति भएमा उनीहरूको प्रत्यक्ष सहभागितामा बहुपक्षीय ढाँचातर्फ अघि बढ्ने आश्वासन दिएका छन् । यद्यपि, युरोपेली आयोगकी मुख्य प्रवक्ता पाउला पिन्होले शान्ति सम्झौतामा पुग्नुअघि धेरै काम बाँकी रहेको र युरोपेली संघले आफ्नो सुरक्षा मामिला आफैं तय गर्ने स्पष्ट पारेकी छन् । सन् २०२२ मा युक्रेनमा पूर्ण आक्रमण गर्नुअघि रुसले सन् १९९७ पछि नाटोमा जोडिएका देशहरूबाट सेना फिर्ता हुनुपर्ने माग राखेको थियो, जसलाई पश्चिमी सैन्य गठबन्धनले अस्वीकार गरेको थियो । वासिङ्टन र मस्कोबीच मुख्य रूपमा हुने वार्तामा युरोपलाई पन्छाउने प्रयास भएमा त्यसको कडा प्रतिरोध हुने सन्देश वारसभ, ब्रसेल्स र किभको प्रतिक्रियाले स्पष्ट पारेको छ ।
ट्रम्पद्वारा रसिया र युरोपबीचमा गर्न लागेको ठूलो सम्झौताको इयुले गर्यो अस्वीकार

Read Complete Original Article
Published originally on विश्वखबर






