काठमाडौं / एजेन्सी। विश्वप्रसिद्ध प्रविधि कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङले पदबाट राजीनामा दिएका छन्। कम्पनीले बिहीबार उनको राजीनामा स्वीकृत गरेको अन्तराष्ट्रिय समाचार संस्थाहरुले पुष्टि गरेका छन् । हुआङको राजीनामासँगै एनभिडियाको प्रमुख वित्तीय अधिकृत (सीएफओ) कोलेट क्रेसलाई अन्तरिम सीईओको जिम्मेवारी दिइएको छ। कम्पनीले स्थायी उत्तराधिकारी चयनका लागि प्रक्रिया अघि बढाउने जनाएको छ। ६३ वर्षीय हुआङ एनभिडियाका सहसंस्थापकसमेत हुन्। उनको नेतृत्वमा एनभिडिया कृत्रिम बौद्धिकता (एआई) का लागि आवश्यक अत्याधुनिक चिप निर्माण गर्ने विश्वकै प्रभावशाली कम्पनी बनेको थियो। तर पछिल्ला दिनमा उनीसँग जोडिएको व्यक्तिगत सम्बन्ध र त्यससँगै उठेका राष्ट्रिय सुरक्षा तथा निर्यात नियन्त्रणसम्बन्धी प्रश्नले कम्पनीमा नेतृत्व संकट निम्त्याएको थियो। हुआङको राजीनामासँगै अहिले अन्तर्राष्ट्रिय प्रविधि क्षेत्र र अमेरिकी नीति वृत्तमा अर्को प्रश्न चर्चामा छ, एलिस हुआङ को हुन्, जससँग जोडिएको विवाद एनभिडियाको शीर्ष नेतृत्वसम्म पुग्यो? बैंकिङबाट एआई चिप व्यवसायसम्म एलिस हुआङ, जसलाई हुआङ ले नामले पनि चिनिन्छ, चिनियाँ मूलकी व्यवसायी हुन्। प्रविधि क्षेत्रमा प्रवेश गर्नुअघि उनले चीनको वित्तीय तथा बैंकिङ क्षेत्रमा काम गरेकी थिइन्। रोयटर्सका अनुसार उनले हङकङस्थित एचएसबीसीको निजी बैंकिङ शाखा तथा चिनियाँ लगानी बैंक सिटिक सेक्युरिटिजमा काम गरेकी थिइन्। त्यसपछि सांघाईस्थित हेक्सी इन्भेस्टमेन्ट म्यानेजमेन्टमा उच्च व्यवस्थापकीय जिम्मेवारी सम्हालेकी थिइन्। सन् २०१५ देखि २०१७ सम्मका कम्पनीका अभिलेखमा उनलाई डेपुटी जनरल म्यानेजर, कार्यकारी निर्देशक तथा लगानी निर्णय समितिको सदस्यका रूपमा उल्लेख गरिएको छ। वित्तीय क्षेत्रबाट उनले पछि एआई र डेटा सेन्टर व्यवसायमा प्रवेश गरिन्। सन् २०२३ मा उनी सिंगापुरमा आधारित क्लाउड कम्प्युटिङ कम्पनी मेगास्पिड इन्टरनेसनलसँग जोडिइन् र कम्पनीको नियन्त्रणकारी सेयरधनी बनेकी थिइन्। मेगास्पिड एनभिडियाको आधिकारिक क्लाउड साझेदारको सूचीमा रहेको कम्पनी हो। पछिल्ला वर्षमा कम्पनीले एनभिडियाका अत्याधुनिक एआई चिप तथा सम्बन्धित उपकरण ठूलो परिमाणमा खरिद गरेको विषयले अमेरिकी अधिकारीहरूको ध्यान तानेको थियो। चीनमा एनभिडियाका चिप पुर्याएको आशंका मेगास्पिडमाथि अमेरिकी अधिकारीहरूले एनभिडियाका अत्याधुनिक एआई चिप चीनमा पुर्याउन अमेरिकी निर्यात नियन्त्रण छल्न सहयोग गरेको हुनसक्ने आशंकामा अनुसन्धान गरिरहेका थिए। अमेरिकी निर्यात नियन्त्रणअन्तर्गत चीनमा केही अत्याधुनिक एआई चिपको निर्यातमा प्रतिबन्ध लगाइएको छ। मेगास्पिडसँग सम्बन्धित विभिन्न कम्पनीले एनभिडियाका चिप तथा उपकरण आयात गरेको अभिलेख सार्वजनिक भए पनि त्यस्ता आयातले मात्र अमेरिकी निर्यात नियन्त्रण उल्लंघन भएको पुष्टि गर्दैन। रोयटर्सले पनि अहिलेसम्म मेगास्पिडले अमेरिकी निर्यात नियम उल्लंघन गरेको सार्वजनिक निष्कर्ष नभएको जनाएको छ। यही व्यवसायिक पृष्ठभूमिका कारण एलिस हुआङ अमेरिकी राष्ट्रिय सुरक्षा चासोको केन्द्रमा आएकी हुन्। चिनियाँ जासुसीको आरोप, तर पुष्टि छैन एलिस हुआङलाई लिएर सबैभन्दा गम्भीर आरोप उनी चीनको गुप्तचर निकायका लागि काम गर्ने व्यक्ति भएको हो। अमेरिकी पक्षसँग सम्बन्धित रिपोर्टमा उनी चीनको राज्य सुरक्षा मन्त्रालयसँग सम्बन्धित रहेको र एनभिडियाका सीईओ जेन्सेन हुआङसँगको सम्बन्धमार्फत संवेदनशील सूचना प्राप्त गर्न खोजेको आरोप लगाइएको छ। तर यो आरोप स्वतन्त्र रूपमा पुष्टि भएको छैन। रोयटर्सले अमेरिकी गुप्तचर निकायसँग सम्बन्धित आरोप स्वतन्त्र रूपमा पुष्टि गर्न नसकेको जनाएको छ। चीनले पनि एलिस हुआङलाई जासुसका रूपमा चित्रित गर्ने आरोप अस्वीकार गर्दै आएको छ। सिंगापुर सरकारले पनि एलिस हुआङमाथि जासुसीसम्बन्धी अनुसन्धान गरेको दाबी अस्वीकार गरेको छ। अक्टोबर ३१ मा जारी स्पष्टीकरणमा सिंगापुरको गृह मन्त्रालयले एलिस हुआङको चीन वा एनभिडियाका सीईओसँगको सम्बन्ध अथवा चिनियाँ गुप्तचर निकायसँग सम्बन्धबारे कुनै अनुसन्धान नगरिएको स्पष्ट पारेको थियो। सिंगापुरमा अनुसन्धान र पुनः प्रवेशमा रोक एलिस हुआङसँग सम्बन्धित अर्को विषय सिंगापुरमा भएको अनुसन्धान हो। सिंगापुरका अधिकारीहरूका अनुसार मेगास्पिडसँग सम्बन्धित सर्भर खरिद तथा तेस्रो मुलुकतर्फ निर्यातसम्बन्धी अनुसन्धानका क्रममा हुआङले आफ्नो भूमिकाबारे प्रहरीलाई सही जानकारी नदिएको पाइएको थियो। सिंगापुरको गृह मन्त्रालयका अनुसार उनले मेगास्पिडमा आफ्नो भूमिकालाई कम देखाउँदै प्रहरीलाई आफूलाई थाहा भएको गलत सूचना दिएकी थिइन्। तर अनुसन्धानले उनीमाथि आपराधिक कसुर गरेको पुष्टि गर्न पर्याप्त प्रमाण भने फेला पारेन। उनलाई कडा चेतावनी दिइएको र पुनः सिंगापुर प्रवेशमा रोक लगाइएको छ। सिंगापुर सरकारले उक्त अनुसन्धान जासुसीसम्बन्धी नभएको पनि स्पष्ट पारेको छ। जेन्सेन हुआङसँगको सम्बन्ध कसरी विवादमा आयो? एलिस हुआङ र जेन्सेन हुआङबीच व्यक्तिगत तथा प्रेम सम्बन्ध रहेको विषय सार्वजनिक भएपछि विवाद थप चर्किएको हो। जेन्सेन हुआङले आफ्नी पत्नीप्रति आफू अविश्वासी भएको स्वीकार गरेका छन्। यो व्यक्तिगत सम्बन्ध मात्रै नभएर राष्ट्रिय सुरक्षा चासोसँग जोडिएको कारण एनभिडियाका लागि गम्भीर विषय बनेको हो। एलिस हुआङमाथि चिनियाँ गुप्तचर निकायसँग सम्बन्ध रहेको अमेरिकी आरोप सार्वजनिक भएपछि अमेरिकी अधिकारी तथा सांसदहरूले एनभिडियासँग कम्पनीका संवेदनशील सूचना र राष्ट्रिय सुरक्षासँग सम्बन्धित विवरण प्रभावित भए–नभएकोबारे प्रश्न उठाएका थिए। एनभिडियाको सञ्चालक समितिले नोभेम्बर ८ मा स्वतन्त्र छानबिन सुरु गरेको थियो। समितिले कम्पनीका गोप्य सूचना वा अमेरिकी राष्ट्रिय सुरक्षासँग सम्बन्धित विवरणमा कुनै क्षति पुगेको विश्वास गर्ने आधार नरहेको जनाएको थियो। हुआङले पनि छानबिनमा पूर्ण सहयोग गर्ने बताएका थिए। अर्को सम्बन्धको विषय पनि सार्वजनिक एलिस हुआङसँगको सम्बन्धबाहेक जेन्सेन हुआङसँग एनभिडियाकै एक कर्मचारीसँग अर्को सम्बन्ध रहेको रिपोर्टसमेत सार्वजनिक भएको छ। यसपछि सञ्चालक समितिमाथि हुआङको नेतृत्वबारे निर्णय गर्न दबाब थपिएको थियो। यसअघि सञ्चालक समितिले हुआङको नेतृत्वप्रति विश्वास व्यक्त गरेको भए पनि पछिल्लो घटनाक्रमपछि उनको पदलाई लिएर पुनः छलफल भएको थियो। अन्ततः एनभिडियाले उनको राजीनामा स्वीकार गरेको हो। एनभिडियामा अब को? जेन्सेन हुआङको राजीनामापछि एनभिडियाको सीएफओ कोलेट क्रेसले अन्तरिम सीईओको जिम्मेवारी सम्हाल्नेछिन्। कम्पनीले स्थायी सीईओको खोजी सुरु गर्ने जनाएको छ। रोयटर्सका अनुसार एनभिडियाले पूर्व सिनोप्सिस सीईओ तथा कम्पनीका सञ्चालक सदस्य हार्भे जोन्सलाई बोर्डको अध्यक्षसमेत नियुक्त गरेको छ। हुआङको बहिर्गमन एनभिडियाका लागि मात्र नभई विश्वव्यापी एआई उद्योगका लागि पनि ठूलो घटनाका रूपमा हेरिएको छ। एआई चिपको विश्व बजारमा एनभिडियाको प्रभाव र कम्पनीको भविष्यको रणनीतिमा उनको भूमिका अत्यन्त महत्वपूर्ण रहँदै आएको थियो। व्यक्तिगत सम्बन्ध, कर्पोरेट सुशासन, अमेरिकी राष्ट्रिय सुरक्षा र एआई चिपको निर्यात नियन्त्रण एकै ठाउँमा जोडिएपछि विकसित भएको यो प्रकरणले विश्व प्रविधि उद्योगमा उच्चपदस्थ नेतृत्वका व्यक्तिगत निर्णयले कम्पनी र राष्ट्रिय सुरक्षासम्म पार्न सक्ने प्रभावबारे नयाँ बहससमेत सुरु गरेको छ।
एलिस हुआङ को हुन्, जससँग जोडिएको विवादपछि एनभिडियाका सीईओ जेन्सेन हुआङले दिए राजीनामा?

Read Complete Original Article
Published originally on टक्सार






