काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलमुक्त भएका पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी गृहजिल्ला अर्घाखाँची पुगेका छन् । उनलाई जिल्लामा अबिर र फूलमालासहित स्वागत गरिएको छ । रायमाझी गत कात्तिक २६ गते डिल्लीबजार कारागारबाट रिहा भएका थिए । ६५ वर्ष पूरा भएपछि ज्येष्ठ नागरिकका रूपमा कैद छुट पाउनुपर्ने मागसहित उनले अदालतमा निवेदन दिएका थिए । सोही निवेदनका आधारमा अदालतले ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाअनुसार कैद छुटको प्रक्रिया अघि बढाएको थियो । उनलाई श्रीमतीको जिम्मा लगाएर रिहा गरिएको थियो । ज्येष्ठ नागरिकले तोकिएको कैद सजायमा २५ प्रतिशत छुट पाउने कानुनी व्यवस्था छ । रायमाझी २०८० वैशाख २० गते पक्राउ परेका थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले उनलाई ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा दोषी ठहर गरेको थियो । अदालतले ठगीमा दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिबाना, संगठित अपराधमा तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिबाना तथा राज्यविरुद्धको कसुरमा एक वर्ष छ महिना कैद र १५ हजार रुपैयाँ जरिबाना सुनाएको थियो । यसबाहेक सोही कसुरमा थप छ महिना कैद हुने फैसला भएको थियो । सबै कसुरको सजाय एकीकृत गर्दा रायमाझीलाई चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिबाना हुने फैसला भएको थियो । ज्येष्ठ नागरिकको सुविधाअनुसार कैद छुट पाएपछि उनी कारागारबाट बाहिरिएका हुन् ।
टोपबहादुर रायमाझीलाई गृहजिल्लामा अबिर र फूलमालासहित स्वागत

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






