जलवायु नीतिको कार्यान्वयनमा केन्द्रित हुनेछ कोप–३१ः टर्कीकी उपविदेशमन्त्री

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) जलवायु परिवर्तनसम्बन्धी प्रतिबद्धतालाई व्यवहारमा उतार्ने विषयमा केन्द्रित हुने टर्कीकी उपविदेशमन्त्री बेरिस एकिन्चीले बताएकी छन्। संयुक्त राष्ट्रसंघ दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै उनले जलवायु परिवर्तनसम्बन्धी प्रतिबद्धताको ठोस कार्यान्वयनलाई सम्मेलनले प्राथमिकता दिने बताइन्। पेरिस सम्झौताको दोस्रो दशकमा नयाँ निर्णयका लागि वार्ता गर्नुभन्दा पनि यसअघि गरिएका प्रतिबद्धता कार्यान्वयन गर्नुपर्ने अपेक्षा बढिरहेको उल्लेख गर्दै उनले कोप–३१ लाई ‘कार्यान्वयन सम्मेलन’ का रूपमा अघि बढाइने जानकारी दिइन्। एकिन्चीले राष्ट्रिय जलवायु प्राथमिकतालाई वित्तीय स्रोतसँग जोड्नु आवश्यक रहेको बताउँदै संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) सँगको सहकार्यमा विकसित ‘क्लाइमेट इम्प्लिमेन्टेसन ब्रिज’ पहलको महत्त्व औँल्याइन्। उक्त पहलले जलवायुसम्बन्धी लक्ष्यलाई लगानीयोग्य परियोजनामा रूपान्तरण गर्न सहयोग गर्ने उनको भनाइ छ। उनका अनुसार सम्मेलनमा औपचारिक वार्तासँगै सहर, व्यवसाय, लगानीकर्ता, अनुसन्धानकर्ता, नागरिक समाज र युवाको सहभागितामा जलवायु कार्ययोजना पनि अघि बढाइनेछ। उक्त कार्ययोजनामा सन् २०३५ सम्म हासिल गर्ने छवटा विश्वव्यापी लक्ष्य समावेश छन्। टर्कीका लागि संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक बाबातुन्डे अहोन्सीले जलवायु परिवर्तनको सामना गर्न सरकारसँगै व्यवसाय, स्थानीय तह, महिला र युवासहित समाजका सबै पक्षको सहभागिता आवश्यक रहेको बताए। ‘समावेशी बहुपक्षीयता’ को अवधारणामा जोड दिँदै उनले कोप–३१ को तयारीका क्रममा व्यवसायी, नगरपालिका, युवा समूह र महिला संगठनसँग संवाद गरिएको जानकारी दिए। यसैबीच, टर्कीका वातावरण, सहरीकरण तथा जलवायु परिवर्तनमन्त्री मुरात कुरुमले आगामी महिना भूमध्यसागरीय तटीय सहर अन्ताल्यामा हुने सम्मेलनमा ८५ जना विश्वनेता सहभागी हुने अपेक्षा गरिएको बताएका छन्। सम्मेलनस्थलको निरीक्षणका क्रममा बिहीबार उनले करिब ३०० मन्त्रीले टर्कीको भ्रमण गर्ने अपेक्षा गरिएको जानकारी दिए। उनका अनुसार सम्मेलनका लागि १५९ वटा प्रदर्शनी तथा प्रतिनिधिमण्डलका पभिलियन र ९० वटा प्रतिनिधिमण्डल कार्यालयका आवेदन स्वीकृत भएका छन्। संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनका लागि यो अहिलेसम्मकै ठूलो संख्या भएको उनले बताए। सम्मेलन अवधिमा १० लाखभन्दा बढी आगन्तुक सहभागी हुने अनुमान गरिएको छ। सम्मेलनस्थलमा बैठक कक्ष, प्रदर्शनी क्षेत्र र चार हजार पत्रकारलाई सेवा दिन सक्ने क्षमताको सञ्चार केन्द्र निर्माण गरिएको मन्त्री कुरुमले जानकारी दिए। टर्कीका गृहमन्त्री मुस्तफा चिफ्चीले सम्मेलनको सुरक्षाका लागि प्रहरी, जन्डार्मरी र तटरक्षक बलका गरी २६ हजार सुरक्षाकर्मी परिचालन गरिने जानकारी दिए। उनका अनुसार सम्मेलनका क्रममा स्थल, हवाई तथा समुद्री क्षेत्रमा सुरक्षा व्यवस्था मिलाइनेछ। कोप–३१ आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीको अन्ताल्यामा आयोजना हुँदैछ। -सिन्ह्वा/न्युज एजेन्सी नेपाल
Read Complete Original Article
Published originally on टक्सार
Related News

२४ घण्टामा सवारी दुर्घटनामा ६ जनाको मृ*त्यु, २२९ घाइते
काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ भने २२९ जना घाइते भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार कोशी प्रदेशमा सबैभन्दा बढी ७८ जना घाइते भएका छन्। त्यसैगरी मधेश प्रदेशमा ५३, गण्डकी प्रदेशमा २३, काठमाडौं उपत्यकामा १९, सुदूरपश्चिम प्रदेशमा १८, लुम्बिनी प्रदेशमा १७, बागमती प्रदेशमा १५ र कर्णाली प्रदेशमा ६ जना घाइते ...

पाकिस्तानका कप्तान फरहान एनपीएल खेल्न आइपुगे काठमाडौं
काठमाडौं । पाकिस्तानका टी-२० टोलीका कप्तान साहिबजादा फरहान नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण खेल्न काठमाडौं आइपुगेका छन् । उनी कर्णाली याक्समा अनुबन्ध भएका छन् । फरहानलाई कर्णालीको व्यवस्थापन टोलीले विमानस्थलमा स्वागत गरेको थियो । फरहान यसपटक एनपीएल खेल्ने ठूला स्टार मध्ये एक हुन् । फरहानले सन् २०२६ मा भारत र श्रीलङ्कामा आयोजित आइसिसी टी–२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै विश्व क्रिकेटमा आफ्नो ...

विदुरलाई नयाँ आर्थिक केन्द्र बनाउने पुनर्निर्माण प्रस्तावको आधार के, चीनसँग कस्तो सहकार्य
EPA भोटेकोशी बाढीपछिको पुनर्निर्माणबारे नेपाल सरकार र दातृ निकायलाई सुझाव दिइरहेका एक जना विज्ञले नुवाकोटको विदुरलाई नयाँ आर्थिक केन्द्र बनाउने हिसाबले दीर्घकालीन नीति अवलम्बन गरिनुपर्ने बताएका छन्।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा ...

जलवायु परिवर्तनका असर अनुकूलन क्षमता अभिवृद्धिका लागि प्रस्तावित तीन परियोजना स्वीकृत
काठमाडौँ। कृषि वन तथा पर्यावरण मन्त्रालयले जलवायु परिवर्तनका असर अनुकूलन क्षमता अभिवृद्धिका लागि प्रस्ताव गरेका तीनवटै परियोजना अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका छन् । विश्वव्यापी रूपमा जलवायु अनुकूलनका लागि वित्तीय स्रोतको माग बढिरहेको र अनुकूलन कोषको स्रोत सीमित रहेको अवस्थामा नेपालका तीनवटै परियोजना स्वीकृत हुनुलाई कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएकी छिन् । मन्त्री चौधरीले यस ...


