काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को अध्यक्षमा जय शाह दोस्रो कार्यकालका लागि निर्विरोध पुनः नियुक्त भएका छन् । आईसीसी बोर्डले बालीमा बसेको बोर्ड तथा समितिको बैठकमा निर्देशकहरूले गरेको प्रस्तावपछि शाहलाई दोस्रो कार्यकालका लागि निरन्तरता दिने निर्णय गरेको हो । आईसीसीले विश्वव्यापी रूपमा क्रिकेटको विस्तार, समर्थकको सहभागिता वृद्धि र व्यावसायिक विकासलाई प्राथमिकतामा राखिरहेका बेला शाहको पुनर्नियुक्तिलाई नेतृत्वप्रतिको विश्वास र निरन्तरताका रूपमा हेरिएको छ । पुनः नियुक्तिपछि शाहले आईसीसी बोर्डले आफूलाई देखाएको विश्वासप्रति आभार व्यक्त गरेका छन् । आईसीसी अध्यक्षका रूपमा काम गर्नु आफ्नो लागि सम्मान र जिम्मेवारी दुवै भएको उल्लेख गर्दै उनले विश्वभर क्रिकेटको हितमा सदस्य राष्ट्रहरूसँग मिलेर काम गर्ने प्रतिबद्धता जनाएका छन् । क्रिकेट इतिहासकै महत्त्वपूर्ण र रोमाञ्चक समय सुरु हुन लागेको बताउँदै शाहले सन् २०२८ मा लस एन्जलसमा हुने ओलम्पिक खेलकुदमा क्रिकेटको पुनरागमनलाई नयाँ दर्शक र खेलाडीमाझ खेल विस्तार गर्ने ठूलो अवसरका रूपमा व्याख्या गरेका छन् । उनले प्रतियोगिता सफलतापूर्वक आयोजना गर्नुका साथै खेलाडी, समर्थक, व्यावसायिक साझेदार र अन्य सरोकारवालाको हितमा क्रिकेटको दिगो भविष्य निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । शाहले सन् २०२४ मा पहिलोपटक आईसीसी अध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए । त्यसअघि अध्यक्ष रहेका ग्रेग बार्कलेले तेस्रो कार्यकालका लागि उम्मेदवारी नदिने निर्णय गरेपछि शाहले नेतृत्व सम्हालेका थिए । उनी आईसीसीको इतिहासमा सबैभन्दा कम उमेरमा अध्यक्ष बन्ने व्यक्ति हुन् । ३८ वर्षीय शाह आईसीसीको नेतृत्व गर्ने पाँचौँ भारतीय पनि हुन् । उनीभन्दा अघि जगमोहन डालमिया, शरद पवार, एन श्रीनिवासन र शशांक मनोहरले उक्त जिम्मेवारी सम्हालिसकेका छन् । शाहले भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) को मानार्थ सचिव तथा एसियाली क्रिकेट परिषद् (एसीसी) को अध्यक्षका रूपमा पनि काम गरिसकेका छन् । सन् २०१९ मा उनी बीसीसीआईको सबैभन्दा कम उमेरका मानार्थ सचिव निर्वाचित भएका थिए । उनको कार्यकालमा भारतीय क्रिकेटमा इन्डियन प्रिमियर लिग (आईपीएल) को कीर्तिमानी मिडिया अधिकार सम्झौता, महिला प्रिमियर लिग (डब्ल्यूपीएल) को सुरुवात, अत्याधुनिक सेन्टर अफ एक्सिलेन्सको स्थापना र टेस्ट क्रिकेट प्रोत्साहन योजना लागू गर्नेजस्ता महत्त्वपूर्ण काम भएका थिए । क्रिकेट प्रशासनमा उनको यात्रा सन् २००९ मा जिल्ला तथा राज्यस्तरबाट सुरु भएको थियो । त्यसपछि उनी गुजरात क्रिकेट एसोसिएसन हुँदै क्रिकेट प्रशासनको उच्च तहमा पुगेका हुन् ।
जय शाह आईसीसी अध्यक्षमा दोस्रो कार्यकालका लागि पुनः नियुक्त

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु




.jpeg)

