Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

जमिनमा देखिएको एउटा समस्याले हजारौँ माइल टाढाका उडानलाई कसरी प्रभावित गर्न सक्छ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
जमिनमा देखिएको एउटा समस्याले हजारौँ माइल टाढाका उडानलाई कसरी प्रभावित गर्न सक्छ?
Photo / Coverage: टेक्नोलोजी खबर

अमेरिकाका क्षेत्रीय हवाई ट्राफिक नियन्त्रण केन्द्रहरूले जटिल सञ्चार सञ्जालमार्फत एकअर्कासँग सम्पर्क गर्छन्। यो सञ्जाल देशकै सबैभन्दा ठूलो दूरसञ्चार प्रणालीमध्ये एक हो। हवाई उड्डयन विज्ञका अनुसार शुक्रबार देखिएको जस्तो समस्या र देशभरका उडान घण्टौँसम्म रोक्नुपर्ने अवस्थाले व्यापक असर पार्न सक्छ। उडान मार्ग परिवर्तन गर्न बाध्य भएका एयरलाइन्सको सेवा आइतबार रातिसम्म पूर्ण रूपमा सामान्य अवस्थामा फर्किने संघीय अधिकारीहरूले अनुमान गरेका छन्। अमेरिकाको संघीय उड्डयन प्रशासन (एफएए) का पूर्व हवाई क्षेत्र व्यवस्थापक माइकल म्याककर्मिकका अनुसार यसपटकको समस्या ‘रोलिङ आउटेज’ भनिने प्रकारको थियो। यस्तो समस्याले हवाई ट्राफिक नियन्त्रण केन्द्रहरूलाई अप्रत्याशित रूपमा प्रभावित गर्न सक्छ। शुक्रबार के भएको थियो, क्षेत्रीय हवाई ट्राफिक नियन्त्रण केन्द्रहरूले कसरी काम गर्छन्, हवाई ट्राफिक नियन्त्रकहरूले पाइलटसँग कसरी सम्पर्क गर्छन् र जमिनमा देखिएको समस्याले हजारौँ माइल टाढाका उडानलाई किन प्रभावित गर्न सक्छ? यी विषयका सटिक उत्तर यस्तो छ: सञ्चार प्रणालीमा बीचबीचमा अवरोध आएको उच्च अधिकारीको भनाइ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका अधिकारीहरूले शनिबार पत्रकार सम्मेलनमा देशको हवाई ट्राफिक नियन्त्रण प्रणालीमा पुराना उपकरणका कारण समस्या आएको बताएका छन्। यसले सञ्चार र रडार प्रणालीमा बीचबीचमा अवरोध सिर्जना गरेपछि शुक्रबार चार घण्टाभन्दा बढी समय उडान रोक्नुपरेको थियो। यातायातमन्त्री सिन डफीका अनुसार शुक्रबार दिउँसो एक ठेकेदारले दुर्गम क्षेत्रमा प्रणालीमा प्रयोग हुँदै आएको पुरानो र उत्पादन बन्द भइसकेको तामाको तारको एउटा भागलाई नयाँ फाइबर तारले प्रतिस्थापन गर्ने काम गरिरहेका थिए। यस्ता काम दशकौँदेखि विभिन्न उद्योग र देशका विभिन्न क्षेत्रमा हुँदै आएको उनले बताए। “विशेष रूपमा, प्रत्येक चारदेखि पाँच सेकेन्डमा एक हजारभन्दा बढी पटक कनेक्सन गर्ने प्रयास भइरहेको थियो,” डफीले भने, “यसले विमानसँगको सञ्चारमा समस्या ल्यायो र रडारबाट प्राप्त हुने सूचनामा पनि अवरोध सिर्जना गर्‍यो। यस्तो अवस्था देखिएपछि यात्रुको सुरक्षालाई प्राथमिकता दिँदै हामीले हवाई क्षेत्र बन्द गर्‍यौँ।” शुक्रबार उडान रोकिएको समयमा आकाशमा रहेका विमानहरू भने यस्ता परिस्थितिका लागि पहिल्यै तय गरिएका प्रक्रियाहरू अपनाएर सुरक्षित रूपमा अवतरण गर्न सफल भएको डफीले बताएका थिए। अमेरिकी सरकारले हवाई ट्राफिक नियन्त्रकहरूले प्रयोग गर्ने पुरानो प्रविधि सुधार गर्ने काम गरिरहेको छ। यसका लागि गत वर्ष अमेरिकी संसद्ले १२ अर्ब ५० करोड डलर बजेट स्वीकृत गरेको थियो। पुराना तामाका तारलाई फाइबर अप्टिक तारले प्रतिस्थापन गर्ने र विमानस्थलमा पुराना रेडियो प्रणालीलाई क्रमशः नयाँ प्रणालीले बदल्ने काम भइरहेको छ। तर यो काम अझै पूरा भएको छैन। डफीले शुक्रबार र शनिबारको पत्रकार सम्मेलनमा संसद्लाई थप बजेट उपलब्ध गराउन आग्रह गरेका थिए। लामो दूरीका उडानमा क्षेत्रीय हवाई नियन्त्रण केन्द्रको महत्त्वपूर्ण भूमिका एफएएको सूचनाअनुसार क्षेत्रीय हवाई ट्राफिक नियन्त्रण केन्द्रहरूमा देखिएको समस्याका कारण शुक्रबार अमेरिकाभरका उडान रोकिएका थिए। म्याककर्मिकका अनुसार अमेरिकामा एफएएको व्यवस्थापनमा २२ वटा क्षेत्रीय हवाई ट्राफिक नियन्त्रण केन्द्र छन्। यी केन्द्रले विमानस्थलबाट उडान भरेदेखि गन्तव्यमा अवतरण नगरेसम्म लामो दूरीको उडान नियन्त्रण गर्छन्। उनी एम्ब्री–रिडल एरोनोटिकल युनिभर्सिटीको एप्लाइड एभिएसन साइन्सेस विभागका सहप्राध्यापक तथा कार्यक्रम संयोजक हुन्। उनका अनुसार यी नियन्त्रण केन्द्रहरूले सामान्यतया १० हजार फिटभन्दा माथि उडिरहेका विमानको जिम्मेवारी लिन्छन्। अलास्काको एन्कोरेज, ह्युस्टन र इन्डियानापोलिसलगायत स्थानमा रहेका यी केन्द्र पाइलटलाई मार्गनिर्देशन गर्ने तीन तहका प्रणालीमध्ये एक हुन्। एपीन्युजका अनुसार पहिलो तहमा विमानस्थलका टावरहरूले ५०० भन्दा बढी टावर भएका विमानस्थलमा विमान उड्ने र अवतरण गर्ने समयमा पाइलटलाई निर्देशन दिन्छन्। त्यसपछि विमानस्थलबाट केही टाढा पुगेका विमानको जिम्मेवारी टर्मिनल रडार एप्रोच कन्ट्रोल केन्द्रले लिन्छन्। त्यसपछि क्षेत्रीय नियन्त्रण केन्द्रले विमानको उडान व्यवस्थापन गर्छन्। विमान गन्तव्यतर्फ झर्दै जाँदा भने यही प्रक्रिया उल्टो क्रममा अघि बढ्छ। विज्ञहरूका अनुसार क्षेत्रीय नियन्त्रण केन्द्रका नियन्त्रकहरू रडार डिस्प्लेसामु बसेर आफ्नो जिम्मेवारीमा रहेको हवाई क्षेत्रको निगरानी गर्छन्। हवाई ट्राफिक कन्ट्रोल उपकरण उत्पादक कम्पनीहरूको व्यापारिक संस्था एयर ट्राफिक कन्ट्रोल एसोसिएसनका अध्यक्ष तथा सीईओ स्टेफन क्रिमरले भने, “विमान उडिरहँदा यसको नियन्त्रण एउटा नियन्त्रकबाट अर्को नियन्त्रकमा हस्तान्तरण हुन्छ। यो प्रक्रियामा एउटा स्क्रिनमा देखिएको विमान अर्को नियन्त्रकको स्क्रिनमा पनि देखिएको सुनिश्चित गरिन्छ। त्यसपछि मात्र अर्को नियन्त्रकसँग सञ्चार सुरु गर्न र पाइलटलाई उनीसँग कुरा गर्न निर्देशन दिइन्छ।” पाइलटले रेडियो फ्रिक्वेन्सीमार्फत सम्पर्क गर्छन् म्याककर्मिकका अनुसार अमेरिकाका क्षेत्रीय तथा उच्च उचाइमा उडान नियन्त्रण गर्ने केन्द्रहरू दुर्गम स्थानमा रहेका रेडियो ट्रान्समिटर वा रिसिभर साइटसँग जोडिएका हुनुपर्छ। यसले विमानसँग रेडियो फ्रिक्वेन्सीमार्फत सम्पर्क गर्न मद्दत गर्छ। ती ट्रान्समिटर साइटहरू दूरसञ्चार प्रणालीमार्फत नियन्त्रण केन्द्रसँग जोडिएका हुन्छन्। अहिले यस्तो प्रणालीमा प्रयोग भइरहेका तामाका तारलाई फाइबर अप्टिक तारले प्रतिस्थापन गर्ने काम भइरहेको छ। विमानहरूबीच सुरक्षित दूरी कायम राख्नेलगायतका कामका लागि दुईतर्फी सञ्चार महत्त्वपूर्ण हुने उनले बताए। तर म्याककर्मिक र अन्य हवाई उड्डयन विज्ञका अनुसार एफएए अहिले ‘कन्ट्रोलर पाइलट डेटा लिंक’ नामक प्रणालीतर्फ पनि अघि बढिरहेको छ। यो डिजिटल तथा टेक्स्टमा आधारित सन्देश प्रणाली हो। यसमार्फत नियन्त्रक र पाइलटले नियमित उडान अनुमति, निर्देशन र अनुरोध रेडियोमा बोलेर नभई डिजिटल सन्देशमार्फत आदानप्रदान गर्न सक्छन्। जमिनमा देखिएको समस्याले हजारौँ माइल टाढाका उडानलाई प्रभावित गर्न सक्छ सेप्टेम्बरमा न्युयोर्कको नेवार्क लिबर्टी अन्तर्राष्ट्रिय विमानस्थलमा विमानसँगको रडार सञ्चार अस्थायी रूपमा बन्द भएको थियो। रेलमार्ग निर्माणमा संलग्न कामदारले गल्तीले वैकल्पिक फाइबर अप्टिक तार काटेपछि यस्तो समस्या आएको थियो। त्यसका कारण एफएएले विमानस्थलबाट उड्ने र त्यहाँ अवतरण गर्ने सयौँ उडान तत्काल रद्द गर्नुपरेको थियो। तर एयरलाइन्स क्षेत्रका विज्ञहरूका अनुसार शुक्रबार भएको समस्या त्यसभन्दा फरक थियो। एफएएका प्रशासक ब्रायन बेडफोर्डले शनिबार पत्रकारहरूलाई बताएअनुसार सञ्चार फ्रिक्वेन्सीमा देखिएको अस्थिरताले अमेरिकाका २२ मध्ये १७ वटासम्म क्षेत्रीय हवाई नियन्त्रण केन्द्रलाई प्रभावित पारेको थियो। एमआईटीका एरोनोटिक्स प्राध्यापक आर. जोन हान्सम्यानले भने, “यसपटकको समस्या फरक थियो, किनभने यो कुनै एउटा स्थानमा मात्र सीमित थिएन। यो सञ्चार प्रणालीसँग सम्बन्धित समस्या थियो र देशभर फैलियो।” पूर्ण सञ्चार अवरोध हुँदा पनि पाइलटले सम्पर्क गर्न सक्छन् हवाई उड्डयन विज्ञहरूका अनुसार सञ्चार प्रणालीमा बीचबीचमा अवरोध आए पनि पाइलटले अन्य माध्यमबाट विमानसँग सम्पर्क गर्न सक्छन्। उदाहरणका लागि, धेरै विमानमा स्याटेलाइट फोन प्रणाली हुन्छ। हान्सम्यानका अनुसार पाइलटले रेडियोमार्फत आसपास उडिरहेका अन्य विमानका पाइलटसँग पनि सीधै कुरा गर्न सक्छन्। विमानमा आसपास अन्य विमान छन् कि छैनन् भन्ने जानकारी दिने उपकरणसमेत हुन्छ। यदि कुनै विमानस्थलको कन्ट्रोल टावरमा रेडियो सञ्चार प्रणालीले काम गर्न छाडेमा उच्च तीव्रताको प्रकाश किरणमार्फत पनि पाइलटलाई संकेत दिन सकिन्छ। यस्तो प्रकाश संकेतले विमानलाई अवतरण गर्न सुरक्षित छ कि छैन भन्ने जानकारी दिन्छ। उनले भने, “हामीसँग धेरै वैकल्पिक प्रणाली छन्। रेडियोमार्फत हवाई ट्राफिक नियन्त्रणले विमानसँग सीधै सम्पर्क गर्न सक्ने अवस्थासम्म यी प्रणालीले विमानलाई सुरक्षित रूपमा उडान गर्न मद्दत गर्छन्।” The post जमिनमा देखिएको एउटा समस्याले हजारौँ माइल टाढाका उडानलाई कसरी प्रभावित गर्न सक्छ? appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एआई संगीत र यसका सर्जकलाई सम्मान गर्न अमेरिकामा पहिलो अवार्ड समारोह
TechnologyJust now

एआई संगीत र यसका सर्जकलाई सम्मान गर्न अमेरिकामा पहिलो अवार्ड समारोह

कृत्रिम बुद्धिमता (एआई) को सहयोगमा तयार पारिएका गीत र तिनका सर्जकलाई सम्मान गर्न अमेरिकामा शुक्रबार पहिलो पटक एआई म्युजिक अवार्ड समारोह आयोजना गरिएको छ। एआईको प्रयोगबाट संगीत सिर्जना गर्ने विषयले आलोचना र कानुनी विवाद निम्त्याइरहेका बेला यस्तो संगीतले लाखौँ पटक स्ट्रिमिङ पाउनुका साथै संगीत चार्टमा समेत स्थान बनाउन थालेको छ। लस एन्जलसको डाउनटाउनमा आयोजित समारोहमा प्रस्तोता र पुरस्कार विजेताहरूले एआईबाट तयार ...

टेक्नोलोजी खबर
एन्ड्रोइड फोनमा लुकेको ‘टास्क म्यानेजर’ कसरी हेर्ने? यस्तो छ तरिका
TechnologyJust now

एन्ड्रोइड फोनमा लुकेको ‘टास्क म्यानेजर’ कसरी हेर्ने? यस्तो छ तरिका

एन्ड्रोइड स्मार्टफोनमा पनि कम्प्युटरमा जस्तै ब्याकग्राउन्डमा चलिरहेका एप तथा प्रक्रियाहरू हेर्न सकिने सुविधा छ। तर यो सुविधा प्रयोग गर्न पहिले फोनमा डेभलपर मोड सक्रिय गर्नुपर्छ। यसबाट कुन एपले कति र्‍याम प्रयोग गरिरहेको छ भन्ने जानकारी लिन सकिन्छ। कम्प्युटर प्रयोगकर्ताका लागि टास्क म्यानेजर नौलो सुविधा होइन। यसबाट कम्प्युटरमा चलिरहेका प्रोग्राम, ब्याकग्राउन्ड प्रक्रिया र तिनले प्रयोग गरिरहेको मेमोरी हेर्न सकिन्छ। यस्तै सुविधा एन्ड्रोइड ...

टेक्नोलोजी खबर
ओप्पोको पकेट गिम्बल क्यामेरा यसै वर्ष सार्वजनिक हुने, वाइड फोल्डेबल फोन पनि चाँडै आउने
TechnologyJust now

ओप्पोको पकेट गिम्बल क्यामेरा यसै वर्ष सार्वजनिक हुने, वाइड फोल्डेबल फोन पनि चाँडै आउने

टिपस्टर डिजिटल च्याट स्टेसनले ओप्पोले चाँडै सार्वजनिक गर्ने तयारी गरेका विभिन्न फ्ल्यागसिप उत्पादनबारे विवरण सार्वजनिक गरेका छन्। यी उत्पादनमा पकेट गिम्बल क्यामेरा, वाइड स्क्रिन फोल्डेबल फोन र १६:९ डिस्प्ले भएको फराकिलो बार शैलीको फ्ल्यागसिप फोन रहनेछन्। लीक भएको जानकारीअनुसार ओप्पोको पकेट गिम्बल क्यामेरा यस वर्षको अन्त्यसम्ममा सार्वजनिक हुनेछ। यस क्यामेराको कोडनेम ‘फुयाओ’ रहेको बताइएको छ। यसअघि सार्वजनिक भएका विभिन्न विवरणअनुसार उक्त गिम्बल ...

टेक्नोलोजी खबर
जेन्सन हुआङलाई पुनः सीईओ बनाउन आग्रह गर्दै इलन मस्कसहित प्रविधि क्षेत्रका अधिकारीहरूले गरे हस्ताक्षर
Technology27m ago

जेन्सन हुआङलाई पुनः सीईओ बनाउन आग्रह गर्दै इलन मस्कसहित प्रविधि क्षेत्रका अधिकारीहरूले गरे हस्ताक्षर

एनभिडियाका हालै पदबाट हटाइएका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सन हुआङलाई पुनः पदमा फर्काउन माग गर्दै सुरु गरिएको अनलाइन याचिकामा शनिबार दिउँसोसम्म एक लाख १५ हजारभन्दा बढी हस्ताक्षर संकलन भएको देखिएको छ। याचिकाको वेबसाइटका अनुसार हस्ताक्षर गर्नेमा एनभिडियाका हाल कार्यरत ५ हजार ९६५ कर्मचारी, पूर्वकर्मचारी १ हजार १०८ जना र कम्पनीका ६३ हजार ६३ जना सेयरधनी छन्। याचिकालाई समर्थन गर्ने चर्चित व्यक्तिहरूमा ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play