Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

जनकपुरमा सर्वसाधारणको घरमा बसेर छठ मनाउने रवि लामिछानेको तयारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
जनकपुरमा सर्वसाधारणको घरमा बसेर छठ मनाउने रवि लामिछानेको तयारी
Photo / Coverage: पर्दाफास

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले यस वर्षको छठ पर्व जनकपुरधाममा सर्वसाधारण नागरिकको घरमा बसेर मनाउने तयारी गरेका छन्। पार्टीसँग आबद्ध नभएका स्थानीय नागरिकको घरमा परिवारसहित बसेर छठका धार्मिक विधिमा सहभागी हुने व्यवस्था मिलाउन उनले आग्रह गरेका हुन्। रास्वपाका नेता तथा प्रतिनिधि सभा सदस्य मनिष झाले बिहीबार जनकपुरधाममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछानेले छठ पर्वका सम्पूर्ण विधिमा सहभागी हुने गरी तयारी अघि बढाइएको जानकारी दिए। उनका अनुसार लामिछाने पत्नी निकिता पौडेलसहित परिवारका सदस्यसँग जनकपुरधाम आउनेछन्। निकिताले खरनादेखि उदाउँदो सूर्यलाई अर्घ्य दिने समयसम्म व्रत बसेर धार्मिक अनुष्ठानमा सहभागी हुने इच्छा व्यक्त गरेकी छन्। छठ पर्व मनाउन लामिछानेले जनकपुरधामस्थित गंगासागरलाई मुख्य स्थानका रूपमा रोजेका छन्। उनले यसअघि नै सामाजिक सञ्जालमार्फत राष्ट्रिय एकताको सन्देशसहित जनकपुरधाममा छठ मनाउने घोषणा गरेका थिए। सांसद झाका अनुसार लामिछानेले जनकपुर बसाइका क्रममा पार्टीका नेता, कार्यकर्ता वा उनीहरूका आफन्तको घरमा नबस्ने इच्छा व्यक्त गरेका छन्। उनले राजनीतिक सम्बन्धका आधारमा नभई सामान्य नागरिकको घरमा बसेर स्थानीय परम्पराअनुसार छठ पर्व मनाउने व्यवस्था गर्न आग्रह गरेको झाले बताए। ‘सभापतिज्यूले जनकपुरको कुनै एक सामान्य नागरिकको घरमा बसेर सपरिवार सबै विधिमा सहभागी हुने भन्नुभएको छ,’ झाले भने, ‘त्यो व्यक्ति पार्टीसँग सम्बन्धित वा पार्टी सदस्यको आफन्त पनि नहोस् भन्ने उहाँको आग्रह छ।’ पार्टीसँग सम्बन्धित व्यक्तिको घरमा बस्दा धार्मिक कार्यक्रममा राजनीतिक आग्रह जोडिन सक्ने भएकाले यस्तो व्यवस्था गर्न खोजिएको झाको भनाइ छ। उनका अनुसार लामिछानेले पत्नी तथा परिवारका सदस्यसहित छठका धार्मिक विधि स्थानीय नागरिकसँगै बसेर पूरा गर्ने योजना बनाएका छन्। जनकपुरधाम भ्रमणका क्रममा लामिछानेले राजनीतिक कार्यक्रमभन्दा धार्मिक तथा सांस्कृतिक गतिविधिलाई प्राथमिकता दिने तयारी गरेका छन्। सांसद झाले भ्रमणलाई राजनीतिक सभा, औपचारिक भेटघाट वा पार्टीगत गतिविधिमा केन्द्रित नगर्ने जानकारी दिए। उनका अनुसार लामिछानेले जनकपुरधामका विभिन्न छठ घाटमा पुगेर स्थानीय नागरिकसँग भेटघाट गर्ने कार्यक्रमसमेत मिलाइँदै छ। गंगासागरमा छठका मुख्य अनुष्ठानमा सहभागी हुने तयारी भए पनि श्रद्धालुको भीडलाई ध्यानमा राखेर उनको आवागमन र उपस्थितिको समय व्यवस्थापन गरिनेछ। रास्वपाले लामिछानेको जनकपुर भ्रमणका क्रममा सर्वसाधारणको आवतजावत तथा धार्मिक गतिविधिमा असहजता नहुने गरी व्यवस्थापन गर्ने जनाएको छ। सांसद झाले विगतमा जनकपुरधाममा आयोजित विवाह पञ्चमीलगायत कार्यक्रममा राजनीतिक नेतृत्वको आवागमनका कारण व्यापार व्यवसाय र सर्वसाधारणको आवतजावत प्रभावित भएको अनुभवलाई ध्यानमा राखिएको बताए। उनका अनुसार यसपटक धार्मिक अनुष्ठानमा सहभागी हुने श्रद्धालुलाई असर नपर्ने गरी भ्रमण व्यवस्थापन गर्ने तयारी छ। विशेष गरी गंगासागरलगायत प्रमुख छठ घाटमा ठुलो सङ्ख्यामा व्रतालु र श्रद्धालु भेला हुने भएकाले भीड तथा सुरक्षा व्यवस्थापनलाई प्राथमिकता दिइने उनले बताए। यसैबीच, प्रधानमन्त्री वालेन्द्र शाह पनि छठ पर्वका अवसरमा जनकपुरधाम आउने चर्चाबारे सांसद झाले औपचारिक जानकारी प्राप्त नभएको बताएका छन्। उनले प्रधानमन्त्रीको सम्भावित भ्रमणबारे शुक्रबारसम्म थप स्पष्ट हुन सक्ने जानकारी दिएका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
शोकाकुल सुन्दरपुर
OthersJust now

शोकाकुल सुन्दरपुर

मकवानपुरको भीमफेदीमा भएको दुर्घटनामा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ को एउटै टोल सुन्दरपुर १३ जना र चालकसहित १४ जनाको मृत्यु भयो । उनीहरू काठमाडौंमा गर्थे तरकारी र फलफूलको व्यापार ...

अनलाइन खबर
उद्योगमन्त्री र आन्ध्र प्रदेशका मुख्यमन्त्रीबीच शिष्टाचार भेट
OthersJust now

उद्योगमन्त्री र आन्ध्र प्रदेशका मुख्यमन्त्रीबीच शिष्टाचार भेट

भारतको विशाखापटनममा जारी सिआइआईको ३१औँ साझेदारी सम्मेलनमा सहभागी हुन पुगेका मन्त्री यादवले बिहीबार मुख्यमन्त्री नायडुसँग भेट गरेका हुन् । ...

अनलाइन खबर
भीमफेदी दुर्घटनाको छानबिन गर्न समिति गठन
OthersJust now

भीमफेदी दुर्घटनाको छानबिन गर्न समिति गठन

मकवानपुरको भीमफेदी गाउँपालिका-६ स्थित चिसापानी गढीमा आज बिहान भएको यात्रुवाहक विद्युतीय गाडी (ईभी) दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ । समितिले दुर्घटनाको कारण पहिचान गरी एक साताभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको छ । समितिमा जिल्ला ट्राफिक प्रहरी कार्यालय ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play