Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

जनकपुर-अयोध्या रेलले जोड्दै धार्मिक आस्था र पर्यटन

Share:WhatsAppFacebookX (Twitter)Telegram
जनकपुर-अयोध्या रेलले जोड्दै धार्मिक आस्था र पर्यटन
Photo / Coverage: नेपालन्युज

माता सीताको जन्मभूमि जनकपुरधाम र भगवान् रामको जन्मभूमि अयोध्याबीच रेल सेवा सुरु भएपछि धार्मिक पर्यटन, स्थानीय व्यापार र नेपाल–भारतको जनस्तरको सम्बन्ध विस्तार हुने अपेक्षा जनकपुरधाम। त्रेतायुगीन रामायणकालीन सभ्यतासँग जोडिएका दुई ऐतिहासिक धार्मिक नगरी जनकपुरधाम र अयोध्या अब रेलमार्गबाट प्रत्यक्ष जोडिएका छन्। माता सीताको जन्मभूमि जनकपुरधाम र भगवान् रामको जन्मभूमि अयोध्याबीच रेल सेवा सञ्चालन हुन लागेपछि नेपाल–भारतबीच सदियौँदेखि कायम धार्मिक, सांस्कृतिक तथा भावनात्मक सम्बन्धले नयाँ आयाम पाउने अपेक्षा गरिएको छ। रामायणमा वर्णित राम–सीताको प्रेम, आदर्श, त्याग र समर्पणसँग जोडिएका यी दुई सहरबीच रेल सेवा सुरु हुनुलाई यातायात सुविधामा भएको विस्तारका रूपमा मात्र हेरिएको छैन। यसलाई साझा धार्मिक सभ्यता र सांस्कृतिक विरासतलाई थप बलियो बनाउने माध्यमका रूपमा पनि लिइएको छ। रेल सेवाले दुवै देशका श्रद्धालु तथा पर्यटकलाई आवागमन सहज बनाउनुका साथै धार्मिक पर्यटन, स्थानीय व्यापार र आर्थिक गतिविधिमा नयाँ सम्भावना खोल्ने विश्वास गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा मङ्सिर ७ गते नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा हरियो झण्डा देखाएर रेल सेवाको शुभारम्भ गरेका थिए। जनकपुरधाम र अयोध्याबीच धार्मिक यात्रा सहज बनाउने उद्देश्यले सुरु गरिएको सरयू–कमला एक्सप्रेस रेल सेवा यही शनिबारदेखि व्यावसायिक रूपमा सञ्चालनमा आउने तयारी छ। नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार उद्घाटन भएको एक साताभित्रै व्यावसायिक सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। अयोध्याबाट शनिबार बिहान जनकपुरधाम आइपुग्ने रेलका लागि टिकट बुकिङ खुला गर्ने तयारी भइरहेको छ। भाडादर निर्धारणबारे छलफल भइरहेको र केही प्राविधिक काम बाँकी रहे पनि जनकपुरधाम रेल्वे स्टेसनबाटै टिकट खरिद गर्न सकिने व्यवस्था मिलाउन लागिएको उनले बताए। अनलाइनबाट टिकट लिन चाहने यात्रुले भारतको टिकट प्रणाली प्रयोग गर्न सक्नेछन्। नेपालबाट टिकट लिन चाहनेले भने जनकपुरधाम रेल्वे स्टेसनमा पुगेर खरिद गर्न सक्नेछन्। नेपाली यात्रुले टिकट लिँदा नागरिकता, राहदानी वा मतदाता परिचयपत्रमध्ये कुनै एक प्रस्तुत गर्नुपर्ने व्यवस्था गरिएको पराजुलीले जानकारी दिए। ६०४ किलोमिटर यात्रा, सातामा एकपटक सेवा जनकपुरधाम–अयोध्या रेलमा १७ वटा डिब्बा रहनेछन्। तीमध्ये वातानुकूलित द्वितीय श्रेणीका दुई, वातानुकूलित तृतीय श्रेणीका तीन, तृतीय इकोनोमी श्रेणीका तीन, शयनयान श्रेणीका सात र एसएलआरका दुई डिब्बा छन्। यात्रुले आफ्नो आवश्यकता र सुविधाअनुसार डिब्बा छनोट गर्न सक्नेछन्। निर्धारित समयतालिकाअनुसार प्रत्येक शनिबार जनकपुरधामबाट अयोध्याका लागि रेल प्रस्थान गर्नेछ भने सोमबार अयोध्याबाट फर्कनेछ। करिब ६०४ किलोमिटर दूरी तय गर्ने रेलले भारतको बिहार र उत्तर प्रदेशका विभिन्न सहर हुँदै यात्रा गर्नेछ। रेलमार्गमा जयनगर, मधुबनी, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्याधामलगायत स्थानमा व्यावसायिक बिसौनी रहने पराजुलीले बताए। ती स्थानबाट यात्रु चढ्न र ओर्लन सक्ने व्यवस्था गरिएको छ। यसबाट जनकपुरधाम र अयोध्या जाने यात्रुका साथै रेलमार्गमा पर्ने विभिन्न सहरका बासिन्दाले पनि लाभ लिन सक्ने अपेक्षा गरिएको छ। धार्मिक पर्यटन र स्थानीय अर्थतन्त्रको अवसर जनकपुरधाम उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष जितेन्द्र महासेठले जनकपुरधाम–अयोध्या रेल सेवा सञ्चालनले धार्मिक पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने बताए। उनका अनुसार माता सीताको जन्मभूमि र भगवान् रामको जन्मभूमिबीच प्रत्यक्ष रेल सम्पर्क स्थापित हुनु दुवै देशका श्रद्धालुका लागि महत्त्वपूर्ण अवसर हो। रेल सेवाले जनकपुरधामलाई धार्मिक तथा सांस्कृतिक पर्यटनको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा विकास गर्न सहयोग पुग्ने महासेठको विश्वास छ। भारतका विभिन्न क्षेत्रबाट जनकपुरधाम आउने पर्यटकको सङ्ख्या बढ्न सक्ने र त्यसबाट मधेश प्रदेशको कृषि, उद्योग, व्यापार तथा पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पर्न सक्ने उनले बताए। धार्मिक पर्यटकको आगमन बढ्दा होटल, यातायात, खानपान, हस्तकला र स्थानीय उत्पादनसँग जोडिएका व्यवसायले लाभ लिन सक्नेछन्। पर्यटकको बसाइ अवधि बढाउन सके स्थानीय व्यवसाय र रोजगारीका अवसरसमेत विस्तार हुने उनको भनाइ छ। जनकपुरधाम धार्मिक आस्थाको केन्द्र मात्र होइन, मिथिला सभ्यता, कला, संस्कृति र परम्पराको विशिष्ट पहिचान बोकेको सहर पनि हो। यहाँस्थित जानकी मन्दिर, राम मन्दिर, विवाहमण्डप, धनुषाधाम, पोखरी तथा अन्य धार्मिक सम्पदाले सहरको ऐतिहासिक र सांस्कृतिक महत्त्व झल्काउँछन्। कानुन व्यवसायी राजकुमार महासेठका अनुसार रेल सेवाले जनकपुरधामका धार्मिक स्थलसँगै मिथिलाको मौलिक कला, संस्कृति र सम्पदालाई अन्तर्राष्ट्रिय पर्यटन बजारसँग जोड्न सहयोग पुर्‍याउन सक्छ। पर्यटकलाई धार्मिक स्थलको दर्शनसँगै मिथिलाको कला, खानपान र परम्परागत जीवनशैलीको अनुभव गराउन सके पर्यटनको सम्भावना थप विस्तार हुने उनले बताए। मिथिला चित्रकला, लोकगीत, लोकनृत्य, परम्परागत हस्तकला, विवाह संस्कार तथा विभिन्न सांस्कृतिक पर्व जनकपुरधामका महत्त्वपूर्ण पर्यटकीय आकर्षण हुन्। रेलमार्गबाट पर्यटकको आवागमन बढेपछि यी सम्पदाको प्रचारप्रसार र बजार विस्तारमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ। रेल सेवाबाट आउने पर्यटकलाई लक्षित गरी धार्मिक भ्रमण प्याकेज, सांस्कृतिक कार्यक्रम, मिथिला भोजन, हस्तकला प्रदर्शनी तथा स्थानीय पर्यटकीय गन्तव्यको भ्रमण व्यवस्था गर्न सकिने राजकुमार महासेठको सुझाव छ। त्यसका लागि पर्यटकमैत्री पूर्वाधार, सरसफाइ, आवास, सुरक्षा, सूचना र यातायात व्यवस्थापनमा सुधार गर्नुपर्ने उनले बताए। रामायण सर्किट विस्तारको सम्भावना जनकपुरधाम र अयोध्या रामायणसँग सम्बन्धित दुई महत्त्वपूर्ण धार्मिक केन्द्र हुन्। यी सहरबीच रेल सम्पर्क स्थापित हुँदा रामायण सर्किटको अवधारणालाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। जनकपुरधाममा विवाहपञ्चमी, रामनवमी, जानकी नवमी तथा अन्य धार्मिक पर्वका अवसरमा भारतका विभिन्न स्थानबाट ठूलो सङ्ख्यामा श्रद्धालु आउने गरेका छन्। अयोध्यामा पनि धार्मिक तथा सांस्कृतिक गतिविधिका अवसरमा स्वदेशी र विदेशी पर्यटकको आवागमन हुने गरेको छ। रेल सेवाले तीर्थयात्रीलाई एउटै यात्रामा दुवै धार्मिक स्थलको दर्शन गर्ने अवसर प्रदान गर्न सक्छ। अधिकारकर्मी सिजेन्द्र सदाका अनुसार रेल सेवाले दुवै देशका धार्मिक तथा सांस्कृतिक संस्थाबीच सहकार्य र सम्पर्क विस्तारको सम्भावना पनि बढाएको छ। रामायणसँग सम्बन्धित अन्य धार्मिक तथा ऐतिहासिक स्थललाई एउटै पर्यटन मार्गमा जोड्न सके धार्मिक पर्यटनको दायरा अझ फराकिलो हुन सक्ने उनले बताए। नागरिक समाजकी अगुवा रेखा झाले लामो समयदेखि पहल हुँदै आए पनि सञ्चालन हुन नसकेको रेल सेवा कार्यान्वयनको चरणमा पुग्नु सकारात्मक उपलब्धि भएको बताइन्। उनका अनुसार यसको दीर्घकालीन सफलता नियमित सञ्चालन, यात्रुको सुरक्षा, सहज टिकट व्यवस्था र प्रभावकारी व्यवस्थापनमा निर्भर रहनेछ। धार्मिक पर्यटनबाट स्थानीय समुदायले लाभ लिन सक्ने वातावरण बनाउन सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उनले बताइन्। नियमित सञ्चालन र व्यवस्थापन मुख्य चुनौती हाल भारतको जयनगरदेखि नेपालको जनकपुरधाम हुँदै महोत्तरीको बिजलपुरासम्म नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ। यही रेल सञ्जाललाई आधार बनाएर जनकपुरधाम–अयोध्या विशेष रेल सेवा व्यावसायिक रूपमा सञ्चालन गर्न लागिएको हो। स्थानीय व्यवसायी अम्बुप्रसाद साहले नयाँ रेल सेवाले धार्मिक आस्थाका दुई ऐतिहासिक केन्द्रबीच पर्यटकको आवागमन सहज बनाउनुका साथै स्थानीय आर्थिक गतिविधि र नेपाल–भारतको जनस्तरको सम्बन्धलाई गति दिने विश्वास व्यक्त गरे। धार्मिक आस्थालाई पर्यटन, व्यापार र आर्थिक समृद्धिसँग जोड्न सके जनकपुरधामले अन्तर्राष्ट्रिय पर्यटन बजारमा थप पहिचान स्थापित गर्ने उनको भनाइ छ। तर रेल सेवा सुरु हुनु मात्रै पर्याप्त हुने छैन। यसलाई नियमित र भरपर्दो बनाउने, यात्रुको सहज आवागमन सुनिश्चित गर्ने, पर्यटकीय पूर्वाधार सुधार गर्ने तथा दुवै देशका सम्बन्धित निकायबीच प्रभावकारी समन्वय कायम गर्नुपर्ने चुनौती पनि उत्तिकै महत्त्वपूर्ण छ। यी पक्षमा ध्यान दिन सके जनकपुरधाम–अयोध्या रेल सेवा धार्मिक यात्राको माध्यम मात्र नभई पर्यटन, व्यापार र सांस्कृतिक सम्बन्ध विस्तारको आधार बन्न सक्नेछ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
कांग्रेस केन्द्रीय समितिमा भीम पराजुलीले राखे ‘सनातन हिन्दु राष्ट्र’को माग
Latest NewsJust now

कांग्रेस केन्द्रीय समितिमा भीम पराजुलीले राखे ‘सनातन हिन्दु राष्ट्र’को माग

विराटनगर । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा पार्टीले ‘ओमकार परिवारसहितको सनातन हिन्दु राष्ट्र’ को एजेन्डा अघि सार्नुपर्ने जोडदार माग उठेको छ । बैठकमा आफ्ना धारणा राख्दै केन्द्रीय सदस्य भीम पराजुलीले... ...

रातोपाटी
महाधिवेशनका लागि कांग्रेस देउवा समूहले तोक्यो ५ उपसमिति संयोजक
Latest NewsJust now

महाधिवेशनका लागि कांग्रेस देउवा समूहले तोक्यो ५ उपसमिति संयोजक

आगामी २१ देखि २३ मंसिरसम्म हुने १५औँ महाधिवेशन लक्षित तयारी समितिले प्रचार, अतिथि सत्कार, प्रशासन, संस्कृति र स्वास्थ्य समितिको जिम्मेवारी बाँडफाँट गरेको हो । ...

कान्तिपुर
बिहान स्कुल गएका बालबालिका साँझ कहाँ फर्किने ? सुकुम्बासीलाई बोडेबाट पनि उठिबासको त्रास
Latest NewsJust now

बिहान स्कुल गएका बालबालिका साँझ कहाँ फर्किने ? सुकुम्बासीलाई बोडेबाट पनि उठिबासको त्रास

काठमाडौं । बिहानै स्कुल गएका तीन जना बालबच्चा साँझ घर फर्किंदा कहाँ आउलान् ? कसैका बच्चा विद्यालय जान पाएनन् । पटक–पटक बस्ती र विद्यालय सार्दा बालबच्चाको शिक्षामा कस्तो असर पर्ला ? आफूहरू बस्दै आएको ठाउँ खाली गर्नुपरेपछि अब कुन छानामुनि रात बिताउलान् ? साँझ चुल्हो कसरी बल्छ ? यी प्रश्न र समस्या भक्तपुरको बोडेस्थित कृषि तालिम केन्द्रमा आश्रित सुकुम्बासी परिवारका ...

केन्द्रबिन्दु
शीतल निवासमा प्रधानमन्त्रीको २० मिनेट, ‘होल्ड’ अध्यादेशबारे चासो
Latest NewsJust now

शीतल निवासमा प्रधानमन्त्रीको २० मिनेट, ‘होल्ड’ अध्यादेशबारे चासो

काठमाडौँ । सरकारले राष्ट्रपति समक्ष सिफारिस गरेका विभिन्न अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले होल्ड गरेपछि प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले चासो देखाएका छन् । शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवास पुगेर प्रधानमन्त्री शाहले राष्ट्रपति... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement