ओपनएआईले च्याटजीपीटीमा च्याट र वर्क सुविधालाई एउटै प्रणालीमा एकीकृत गर्ने प्रक्रिया केही प्रयोगकर्ताका लागि सुरु गरेको छ। तर, यो एकीकरणले आफ्नो प्रयोगमा सीमा लगाउन सक्ने भन्दै केही सदस्यता लिएका प्रयोगकर्ताले असन्तुष्टि जनाएका छन्। उत्पादन प्रमुख थिबो ‘टिबो’ सोतियोक्सले मंगलबार सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै केही प्रो सदस्यका लागि यो अपडेट लागू गर्न थालिएको जानकारी दिएका छन्। यसअघि ओपनएआईले प्रयोगकर्तालाई पठाएको इमेलमार्फत च्याट र वर्क सुविधा एकीकृत गर्ने घोषणा गरेको थियो। ओपनएआईका प्रवक्ताले टेकक्रन्चलाई बताएअनुसार अधिकांश प्रयोगकर्ताले पहिलेभन्दा छिटो प्रयोग सीमा सकिने समस्या भोग्ने अपेक्षा गरिएको छैन। तर, सबैभन्दा धेरै प्रयोग गर्ने थोरै प्रयोगकर्ताले भने पहिलेको तुलनामा छिट्टै आफ्नो उपयोग सीमा पुग्न सक्नेछन्। हालै सामाजिक सञ्जाल र ओपनएआईको कम्युनिटी फोरममा केही च्याटजीपीटी सदस्यले यस्तै चिन्ता व्यक्त गरेका छन्। उनीहरूका अनुसार च्याट र वर्क सुविधाको उपयोग सीमा एउटै बनाउँदा अहिलेको तुलनामा उन्नत तर्क क्षमता भएका एआई मोडेलमा पहुँच कम हुन सक्छ। तर, सदस्यता शुल्क भने पहिलेझैँ तिर्नुपर्नेछ। टेकक्रञ्चका अनुसार नयाँ प्रणालीमा च्याटजीपीटीका च्याट र वर्क सुविधाले एउटै उपयोग सीमा साझा गर्ने ओपनएआईका प्रवक्ताले टेकक्रन्चलाई बताएका छन्। यद्यपि, इन्स्ट्यान्ट मोडेल प्रयोग गरेर गरिने कुराकानी असीमित रहनेछन् र साझा उपयोग सीमामा गणना हुने छैनन्। प्रयोगकर्ताले आफ्नो उपयोग सीमा सकिएपछि पनि इन्स्ट्यान्ट मोडेल प्रयोग गर्न सक्नेछन्। ओपनएआईले सदस्यता योजनाबाट प्रयोगकर्ताले अझ बढी लाभ लिन सकून् भनेर सेवा सञ्चालनको दक्षता सुधार गर्ने काम जारी राख्ने प्रवक्ताले बताएका छन्। हाल थोरै प्रयोगकर्ताका लागि मात्र यो सुविधा लागू गर्न थालिएको भए पनि ओपनएआईले आफ्नो सहायता पृष्ठमा उल्लेख गरेअनुसार डिसेम्बरमा साझा उपयोग सीमा व्यापक रूपमा लागू गर्ने योजना बनाएको छ। ओपनएआईको प्रतिस्पर्धी एन्थ्रोपिकले पनि यसअघि सेप्टेम्बरमा आफ्नो संवादमा आधारित एआई सेवा क्लाउड र काममा केन्द्रित कोवर्कलाई एउटै इन्टरफेसमा ल्याएको थियो। एआई कम्पनीहरूले बढ्दो पूर्वाधार खर्च र अझ सक्षम मोडेलको मागका कारण कम्प्युटिङ स्रोत व्यवस्थापनमा दबाब सामना गरिरहेका बेला यी परिवर्तन आएका हुन्। संवाद र कामसम्बन्धी उपकरणलाई एउटै इन्टरफेसमा ल्याउँदा एआई च्याटबट प्रयोग गर्न पनि सजिलो हुन सक्छ। यसले प्रयोगकर्तालाई फरक–फरक ट्याबमा जानुपर्ने झन्झटबिना सामान्य कुराकानीदेखि जटिल कामसम्म एउटै स्थानबाट गर्न सुविधा दिनेछ। The post च्याटजीपीटीमा च्याट र वर्क सुविधालाई एउटै प्रणालीमा एकीकृत गर्दै ओपनएआई appeared first on Technology Khabar.
च्याटजीपीटीमा च्याट र वर्क सुविधालाई एउटै प्रणालीमा एकीकृत गर्दै ओपनएआई

Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर






