नवलपरासी । नवलपरासीमा चोरीका गाडी सेकेन्ड ह्यान्ड भन्दै बिक्री गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामग्राम नगरपालिका–१४ घर भई हाल बर्दघाट नगरपालिका–४ बस्दै आएका ३६ वर्षीय विजय हरिजन रहेका छन्। प्रहरीले उनलाई दुईवटा शंकास्पद गाडीसहित नियन्त्रणमा लिएको हो। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार हरिजनले पुराना गाडी चोरी गरी सेकेन्ड ह्यान्ड भन्दै बिक्री गर्ने गरेको खुलेको छ। उनले बर्दघाट नगरपालिका–९ भुताहाकी ४८ वर्षीया दुर्गी गुरुङलाई बा.१९.च ८१९५ नम्बरको सुजुकी स्विफ्ट डिजायर गाडी बिक्री गर्ने सहमति गरेका थिए। उक्त गाडीको मूल्य १२ लाख २० हजार रुपैयाँ तोकिएकोमा गुरुङले पटक–पटक गरी ६ लाख ५० हजार रुपैयाँ बुझाइसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन थापाले जानकारी दिए। बाँकी रकम बुझाएर गाडी नामसारी गर्न खोज्दा पास गर्न नमिल्ने भन्दै हरिजनले बा.प्र.च ५१८१ नम्बरको रातो हुन्डाई गाडी र त्यसका कागजातसमेत उपलब्ध गराएको बताइएको छ। तर, सवारी दर्ता किताबमा उल्लेख भएको इन्जिन र च्यासिस नम्बर गाडीमा रहेको नम्बरभन्दा फरक भेटिएपछि गुरुङले चोरीको आशंका गर्दै इलाका प्रहरी कार्यालय बर्दघाटमा जानकारी गराएकी थिइन्। प्रहरीले हरिजनलाई अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ।
चोरीका गाडी सेकेन्ड ह्यान्ड भन्दै बेचेपछि…

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






