काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चीनको सिचुवान प्रान्तसँग सीमापार यातायात, पर्वतीय विज्ञान, स्वच्छ ऊर्जा, हवाई सम्पर्क र डिजिटल प्रविधिका पाँच क्षेत्रमा सहकार्य गर्न प्रस्ताव गरेको छ। चिनियाँ कम्युनिस्ट पार्टीका सिचुवान प्रान्तीय सचिव तथा प्रान्तीय जनकंग्रेस स्थायी समितिका अध्यक्ष वाङ स्याओहुई र रास्वपाका महामन्त्री विपिनकुमार आचार्य नेतृत्वको प्रतिनिधिमण्डलबीच मंगलबार चीनको चेङ्दुमा भएको भेटवार्तामा यस्तो प्रस्ताव गरिएको हो। भेटमा नेपाली पक्षले सुरक्षित सीमापार सडक तथा भन्सार प्रणाली, मौसम पूर्वानुमान र विपद् पूर्वसूचना, जलविद्युत् तथा हरित उद्योग, चेङ्दुबाट नेपालका प्रमुख शहरमा थप हवाई उडान र कृत्रिम बुद्धिमत्ता तथा डिजिटल प्रविधिमा सहकार्यको प्रस्ताव राखेको थियो। त्यस्तै, नेपालका जडीबुटी, चिया, फलफूल र हस्तकलाको चिनियाँ बजारमा पहुँच विस्तार गर्न प्रशोधन, भण्डारण र गुणस्तर सुधारमा सहयोग गर्न पनि आग्रह गरिएको थियो। भेटमा सिचुवानका सचिव वाङले नेपाल र चीनबीचको उच्च गुणस्तरीय बेल्ट एण्ड रोड सहकार्यलाई अघि बढाउन तथा दुवै पक्षबीचको राजनीतिक र सरकारी सम्बन्ध थप सुदृढ बनाउन प्रतिबद्धता जनाए। उनले दुई देशबीचका समझदारी कार्यान्वयनमा सिचुवानले योगदान गर्ने बताए। महामन्त्री आचार्यले सिचुवानको आर्थिक तथा सामाजिक विकासको प्रशंसा गर्दै नेपालको पूर्वाधार तथा आर्थिक विकासमा चीनले पुर्याउँदै आएको सहयोगप्रति आभार व्यक्त गर्नुभयो। नेपाली प्रतिनिधिमण्डलले गत अगस्टमा सीमावर्ती क्षेत्रमा आएको बाढीपहिरो र भोटेकोशी विपद्का बेला चीनले गरेको सहयोग तथा ऐक्यबद्धताको प्रशंसा गर्दै विपद् व्यवस्थापनमा सहकार्य बढाउनुपर्नेमा जोड दिएको थियो। भेटमा रास्वपाले एक चीन सिद्धान्तप्रतिको नेपालको प्रतिबद्धता दोहोर्याउँदै नेपाली भूमि चीनको सार्वभौमसत्ता र सुरक्षाविरुद्ध प्रयोग हुन नदिने धारणा राखेको थियो। साथै राजनीतिक स्थिरता र स्पष्ट कार्यान्वयन योजनामार्फत नेपाल–चीन सहकार्यलाई व्यावहारिक नतिजामा पुर्याउनुपर्नेमा जोड दिएको थियो। नेपाली प्रतिनिधिमण्डलले सहकार्यका प्रस्तावलाई समयबद्ध कार्ययोजनामा रूपान्तरण गर्न आग्रह गर्दै सिचुवानका सचिव वाङलाई नेपाल भ्रमणको निमन्त्रणासमेत दिएको छ। भेटमा सिचुवानका अन्य प्रान्तीय नेता तथा चिनियाँ कम्युनिस्ट पार्टीका अधिकारीहरूको पनि सहभागिता थियो। The post चीनको सिचुवानसँग पाँच क्षेत्रमा सहकार्य गर्न रास्वपाको प्रस्ताव appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
चीनको सिचुवानसँग पाँच क्षेत्रमा सहकार्य गर्न रास्वपाको प्रस्ताव

Read Complete Original Article
Published originally on कर्पोरट खबर





