Friday, October 30, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/चाडपर्व खर्च नपाएको भन्दै ६ सयभन्दा बढी श्रमिकको उजुरी, सरकार एक्सनमा

चाडपर्व खर्च नपाएको भन्दै ६ सयभन्दा बढी श्रमिकको उजुरी, सरकार एक्सनमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
चाडपर्व खर्च नपाएको भन्दै ६ सयभन्दा बढी श्रमिकको उजुरी, सरकार एक्सनमा

काठमाडौँ । दसैँमा चाडपर्व खर्च नपाएको भन्दै ६ सयभन्दा बढी श्रमिकले उजुरी दिएका छन् । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार दसैँअघि कार्यालय समयभित्रै इमेल र पोर्टलमार्फत ६ सयभन्दा बढी श्रमिकले श्रम ऐनमा भएको व्यवस्थाअनुसार चाडपर्व खर्च नपाएको भन्दै उजुरी दिएका हुन् । श्रम ऐन, २०७४ मा वर्षमा एकपटक चाडपर्व खर्च उपलब्ध गराउनुपर्ने व्यवस्था छ । श्रमिकले कुनै चाडपर्वका लागि माग गरेको अवस्थामा सोही चाडपर्वमा र माग नगरेको अवस्थामा दसैँमा चाडपर्व खर्च उपलब्ध गराउनुपर्ने कानुनी व्यवस्था छ । श्रम ऐन, २०७४ को दफा ३७ अनुसार प्रत्येक श्रमिकले आफूले खाइपाइ आएको एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम चाडपर्व खर्चका रूपमा पाउनुपर्छ । एक वर्ष सेवा अवधि पूरा नगरेका श्रमिकलाई भने काम गरेको अवधिको अनुपातमा चाडपर्व खर्च उपलब्ध गराउनुपर्छ । तर, रोजगारदाता तथा प्रतिष्ठानले कानुनअनुसार चाडपर्व खर्च नदिएको भन्दै श्रमिकले उजुरी गरिरहेका छन् । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशक चक्रपाणि पाण्डेका अनुसार उजुरी प्राप्त भएपछि ऐनमा भएको व्यवस्था कार्यान्वयन गर्न रोजगारदाता तथा प्रतिष्ठानलाई कडा निर्देशन दिइएको छ । उनका अनुसार विभागले दसैँ बिदाअघि नै नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई), नेपाल उद्योग परिसङ्घ (सीएनआई) र नेपाल चेम्बर अफ कमर्स (एनसीसी) लाई पत्राचार गरेको थियो । विभागले असोज २३ गते ती सङ्गठनलाई पत्र पठाउँदै आफ्ना आबद्ध रोजगारदाता तथा प्रतिष्ठानलाई जानकारी गराएर श्रमिकलाई चाडपर्व खर्च उपलब्ध गराउने व्यवस्था मिलाउन भनेको थियो । त्यस्तै, असोज २६ गते निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई पत्राचार गरी निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको चाडपर्व खर्च सुनिश्चित गर्न निर्देशन दिइएको थियो । अहिले पनि उजुरीमाथि आवश्यक कारबाही भइरहेको पाण्डेले बताए । पाण्डेका अनुसार चाडपर्व खर्च नपाएको भन्दै श्रमिकले उजुरी दिएपछि श्रम तथा रोजगार कार्यालय बुटवलले रुपन्देहीस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पताललाई कर्मचारीको चाडपर्व खर्च भुक्तानी गर्न निर्देशन दिएको थियो । कार्यालयले २०८३ असोज ३० गते अस्पताललाई पत्र पठाउँदै श्रम ऐनअनुसार कर्मचारीलाई चाडपर्व खर्च उपलब्ध गराउन भनेको थियो । त्यसपछि अस्पतालले २४० जना कर्मचारीलाई चाडपर्व खर्चबापत कुल ४२ लाख ५४ हजार रुपैयाँ भुक्तानी गरेको विवरण कार्यालयमा पेस गरेको छ । अस्पतालले २०८३ कात्तिक ९ गते पठाएको जवाफमा कर्मचारीलाई असोज २९ गते नै एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम भुक्तानी गरिसकेको उल्लेख गरेको छ । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा पाण्डेले भुक्तानीको पुष्टि गर्न अस्पतालले बैंकिङ कारोबारका प्रमाणित विवरणसमेत पेस गरेको बताए । महानिर्देशक पाण्डेका अनुसार उजुरी प्राप्त भएपछि विभाग र मातहतका कार्यालयले समस्या समाधानका लागि पहल गरिरहेका छन् । सामाजिक सञ्जालमार्फत आएका गुनासाका आधारमा समेत सम्बन्धित कार्यालयले रोजगारदातासँग सम्पर्क गरी रकम उपलब्ध गराउन अग्रसरता लिएको उनले बताए । उनका अनुसार सम्बन्धित विद्यालयका प्रिन्सिपलसँग सम्पर्क गर्दा चाडपर्व खर्च उपलब्ध नगराएको स्वीकार गर्दै तत्काल भुक्तानीको व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन् । तर, श्रमिकका गुनासा चाडपर्व खर्चमा मात्रै सीमित छैनन् । कतिपय श्रमिकले न्यूनतम पारिश्रमिकसमेत नपाएको र नियमित तलब भुक्तानी नहुने गरेको गुनासो गरेको पाण्डेले बताए । महानिर्देशक पाण्डेले भने, “श्रम ऐन, २०७४ मा वर्षमा एकपटक चाडपर्व खर्च उपलब्ध गराउने व्यवस्था छ । श्रमिकले कुनै चाडपर्वका लागि माग गरेको अवस्थामा सोही चाडपर्वमा र माग नगरेको अवस्थामा दसैँमा चाडपर्व खर्च उपलब्ध गराउनुपर्ने व्यवस्था छ । यस विषयमा हामीले दसैँ बिदा हुनुअघि निर्देशन नै दियौँ । रोजगारदाताका छाता सङ्गठनदेखि निजी विद्यालय सञ्चालकका सङ्गठन प्याब्सन र एनप्याब्सनलाई समेत पत्राचार गरेका थियौँ । विज्ञप्ति जारी गरेपछि यस विषयमा व्यापक प्रचारप्रसार भयो र उजुरी दिनसमेत आह्वान गर्‍यौँ । दसैँअघि कार्यालय समयभित्रै विभागको इमेल र पोर्टलमा मात्रै ६ सयभन्दा बढी उजुरी प्राप्त भएका थिए । त्यसबाहेक पनि अहिलेसम्म धेरै उजुरी परेका छन् । उजुरीका आधारमा समस्या समाधानका प्रयाससमेत भइरहेका छन् । “आजै एक व्यक्तिले सामाजिक सञ्जालमा एउटा विद्यालयले चाडपर्व खर्च उपलब्ध नगराएको विषयमा पोस्ट गर्नुभएको थियो । उहाँले पोस्टको स्क्रिनसट मलाई पठाउनुभयो । मैले सम्बन्धित कार्यालयमा पठाएपछि कार्यालयका कर्मचारीले विद्यालयका प्रिन्सिपललाई फोन गर्नुभयो । त्यस क्रममा प्रिन्सिपलले ‘हो सर, हामीले दिएका छैनौँ । तर, अब तपाईंको फोन आयो, हामी तत्कालै अध्यक्षज्यूसँग कुरा गरेर उपलब्ध गराउँछौँ’ भनेर प्रतिबद्धता जनाउनुभयो । “त्यस्तै, उजुरी प्राप्त भएपछि बुटवलस्थित श्रम तथा रोजगार कार्यालयले असोज ३० गते एउटा अस्पताललाई पत्राचार गरेको थियो । त्यसको जवाफमा अस्पतालले २४० जना कर्मचारीलाई चाडपर्व खर्च उपलब्ध गराएको बैंक स्टेटमेन्टसहितको विवरण पठायो । यसले गर्दा यसको प्रभाव देखिन थालेको छ । रोजगारदाताहरूमा पनि ‘श्रम ऐनअनुसार चाडपर्व खर्च उपलब्ध गराउनुपर्ने रहेछ’ भन्ने बुझाइ व्यापक हुँदै गएको छ । श्रमिकहरूमा पनि यसबारे सचेतना बढेको छ । “धेरै श्रमिकले फोनमार्फत आफ्ना गुनासा राख्ने गर्नुभएको छ । उहाँहरूका गुनासा सुन्दा कतिपयले न्यूनतम पारिश्रमिकसमेत नपाएको, नियमित रूपमा पारिश्रमिक नपाएको र चाडपर्व खर्चको त कुरै छाडौँ भन्ने अवस्था रहेको पाइएको छ । यसरी रोजगारदाता र श्रमिक दुवै पक्षमा चाडपर्व खर्चसम्बन्धी कानुनी व्यवस्थाबारे सचेतना सिर्जना भएको छ । यसको सकारात्मक नतिजा पनि देखिन थालेको छ ।” श्रम ऐनले सुनिश्चित गरेको चाडपर्व खर्च उपलब्ध गराउनु रोजगारदाताको कानुनी दायित्व भएको बताउँदै पाण्डेले ऐनमा भएको व्यवस्था कडाइका साथ कार्यान्वयन गरिने बताए । – न्युज एजेन्सी नेपाल

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लुम्बिनी सञ्चार

Visit Publisher Site →

Related News

कांग्रेस देउवा समूहको महाधिवेशन पनि खुलामञ्चमै
ताजा खबरJust now

कांग्रेस देउवा समूहको महाधिवेशन पनि खुलामञ्चमै

काठमाडौँ । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको समानान्तर महाधिवेशन खुलामञ्चमा गर्ने भएको छ । महाधिवेशनका लागि काठमाडौँ महानगरपालिकासँग राष्ट्रिय सभा गृह र भृकुटीमण्डप पनि मागेर पत्राचार गरिएको महाधिवेशन... ...

रातोपाटी
नेपालगन्ज अन्तर्राष्ट्रिय पौडी च्याम्पियनसिपको तयारी अन्तिम चरणमा
ताजा खबरJust now

नेपालगन्ज अन्तर्राष्ट्रिय पौडी च्याम्पियनसिपको तयारी अन्तिम चरणमा

सिराज खाननेपालगन्ज, कात्तिक १३ गते । यही शनिबार र आइतबार (कात्तिक १४ र १५ गते) नेपालगन्जमा आयोजना हुने तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिपको तयारी पूरा भएको आयोज... ...

गोरखापत्र
ऐतिहासिक सम्पदा र प्राकृतिक सुन्दरता हुँदाहुँदै मकवानपुर किन बनेन आकर्षक पर्यटकीय गन्तव्य ?
ताजा खबरJust now

ऐतिहासिक सम्पदा र प्राकृतिक सुन्दरता हुँदाहुँदै मकवानपुर किन बनेन आकर्षक पर्यटकीय गन्तव्य ?

प्रकृति र संस्कृतिका साथै ऐतिहासिकताका दृष्टिले सम्पन्न जिल्ला हो मकवानपुर । प्रकृति, संस्कृति र इतिहासलाई पर्यटकीय सम्पदाका रुपमा जोड्नका लागि निरन्तर प्रयासहरू भइरहे पनि यहाँका ...

घुमफिर
सरकारको निर्देशन अटेर गरेपछि एन प्याब्सन निलम्बित
ताजा खबरJust now

सरकारको निर्देशन अटेर गरेपछि एन प्याब्सन निलम्बित

काठमाडौं । सरकारी निर्देशन पटक–पटक अवज्ञा गरेको आरोपमा सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) लाई निलम्बन गरेको छ । गृह मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको सूचनामार्फत राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ६ को उपदफा (२) बमोजिम संस्थालाई निलम्बन गरिएको जानकारी दिएको हो । मन्त्रालयका अनुसार एन प्याब्सनले सरकारबाट जारी विभिन्न निर्देशनको […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play