म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–५ पीपलबोटका ६१ वर्षीय चक्रपाणि भण्डारीले गौरिया धान खेती र चामलको व्यापारबाट वार्षिक चार लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन् । पुख्र्यौली खेतीकिसानीलाई निरन्तरता दिएका भण्डारीले यस वर्ष ७० मुरी धान उत्पादन गरेका छन् । भण्डारी परिवार पीपलबोट क्षेत्रमा सबैभन्दा धेरै धान उत्पादन गर्ने किसानका रूपमा परिचित छ । उनले बाउबाजेको पालादेखि २३ रोपनी जग्गामा गौरिया र जेठोबुढो जातको धान खेती गर्दै आएका छन् । यस वर्ष उत्पादन भएको ७० मुरी धानमध्ये ६० मुरी आफ्नै खेतमा र १० मुरी अधियाँमा खेती गरेर प्राप्त गरेको उनले बताए । उनका अनुसार बिक्रीका लागि ४५ मुरी गौरिया धान भण्डारण गरिएको छ भने २५ मुरी जेठोबुढो धान घरायसी उपभोग र आफन्तलाई कोसेली पठाउन छुट्याइएको छ । गौरिया धानको बास्ना राम्रो आउने र उत्पादन पनि राम्रो हुने उनले बताए । धानलाई घुन र मुसाबाट जोगाउन काठको बाकस बनाएर बाहिर गोबरले टालेर सुरक्षित भण्डारण गर्ने गरेको उनले बताए । घरमै विद्युतीय मिलबाट धान कुटेर चामल बिक्री गर्दै आएका भण्डारीको गौरिया चामलको माग बेनी, पोखरा, काठमाडौं र दरवाङसम्म पुग्ने गरेको छ । भण्डारीले प्रतिपाथी गौरिया चामल एक हजार रुपैयाँमा बिक्री गर्दै आएका छन् । वर्षमा पाँच सय पाथीसम्म चामल बिक्री हुने गरेको उनले बताए । पछिल्लो समय यातायात र सञ्चार सुविधाका कारण व्यापार गर्न सहज भएको उनकी बुहारी गीता सुवेदी भण्डारीले बताइन् । पहिले चामल बोकेर बजार पुर्याउनुपर्ने भए पनि अहिले फोनबाटै माग आउने र गाडीमार्फत चामल पठाएपछि उपभोक्ताले बैंक खातामा रकम जम्मा गरिदिने गरेको उनले बताइन् । स्वाद र विशिष्ट बास्नाका कारण गौरिया चामल व्यापारी, उच्चपदस्थ कर्मचारी, सुरक्षाकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तिको रोजाइमा पर्ने गरेको छ । म्याग्दीको मौलिक रैथाने बालीका रूपमा परिचित गौरिया धान पाकेपछि आउने विशेष बास्ना, स्वादिलो भात र आडिलोपनका लागि प्रख्यात छ । मङ्गला गाउँपालिकाका छिस्वाङ, रणवाङ, पीपलबोट, सेराफाँट, कुरसिम्ला, खोप्ती, तल्लोपोक, बाबियाचौर, सिमलचौर, सातबिसे, सिम र कोत्रवाङ क्षेत्रमा गौरिया धान खेती हुँदै आएको छ । स्थानीय किसान छविलाल सापकोटाका अनुसार पीपलबोट र सेराफाँटका किसानले सरदर ४० मुरीसम्म धान उत्पादन गर्छन् । यस क्षेत्रबाट वार्षिक करिब दुई हजार पाँच सय मुरी गौरिया धानको चामल बिक्री हुने गरेको उनले बताए । म्याग्दी नदीको तटीय क्षेत्रका गैरीखेतमा खेती हुने भएकाले यसको नाम गौरिया रहन गएको स्थानीय किसानको भनाइ छ । पछिल्लो समय खेतीयोग्य जमिन बाँझिने क्रम बढिरहेका बेला भण्डारी परिवारले निरन्तर धान खेती गर्दै आएको र व्यावसायिक रूपमा सफल भएको स्थानीय शिक्षक रेशमलाल सापकोटाले बताए । यसले अन्य किसानलाई पनि खेतीकिसानीप्रति प्रोत्साहित गरेको उनको भनाइ छ । भण्डारीले खेतीबाट भएको आम्दानीले घरव्यवहार चलाउनुका साथै एक छोरा र दुई छोरीलाई उच्च शिक्षा प्रदान गरेका छन् । विदेश नगई पुख्र्यौली पेसालाई निरन्तरता दिएका उनले पछिल्लो समय रोपाइँ र बाली भित्र्याउने समयमा श्रमिक अभाव हुँदा खेतीको लागत बढेको र बचत घटेको बताए । आफ्ना छोरानातिले पनि आधुनिक प्रविधिको प्रयोग गर्दै उर्वर जमिनको सदुपयोग गरेर खेतीकिसानीलाई निरन्तरता दिऊन् भन्ने चाहना रहेको उनले बताए ।
गौरिया धान खेती र चामल बिक्रीबाट वार्षिक चार लाख आम्दानी गर्दै चक्रपाणि

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु





