काठमाडौं । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन्। ४१ वर्षीय रोनाल्डोले नोभेम्बरको अन्तर्राष्ट्रिय खेलपछि राष्ट्रिय टोलीबाट बिदा हुने निर्णय सार्वजनिक गरेका हुन्। रोनाल्डोले बिहीबार सामाजिक सञ्जालमार्फत आफ्नो निर्णय सार्वजनिक गर्दै पोर्चुगलको प्रतिष्ठित ७ नम्बर जर्सी नयाँ पुस्तालाई हस्तान्तरण गर्ने बताएका छन्। उनले आफ्नो पोस्टमा ‘पोर्चुगल सधैँ मेरो मनमा रहनेछ’ भन्ने सन्देश पनि दिएका छन्। २३ वर्ष लामो अन्तर्राष्ट्रिय करियरमा रोनाल्डोले पोर्चुगलका लागि २३४ खेल खेल्दै कीर्तिमानी १४६ गोल गरेका छन्। उनी अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक खेल खेल्ने र सर्वाधिक गोल गर्ने खेलाडी हुन्। सन्यासको निर्णयबारे उनले आफूले पोर्चुगलका लागि सक्दो योगदान दिएको र आफ्नो यात्राप्रति गर्व रहेको बताएका छन्। ‘आज राष्ट्रिय टोलीसँग मैदानमा मेरो यात्रा समाप्त गर्दैछु। मैले गर्वका साथ आफ्नो यात्रा पूरा गरेको छु र पोर्चुगलका लागि आफ्नो तर्फबाट सबै कुरा दिएको छु भन्नेमा विश्वस्त छु,’ उनले भनेका छन्। उनले गोल, उपाधि र कीर्तिमान समयसँगै बिर्सिए पनि समर्थकको मनमा बनाएको स्थान कहिल्यै नमेटिने उल्लेख गरेका छन्। साथै, २३ वर्षसम्म आफूलाई विश्वास गरेकोमा टोलीका साथी, प्रशिक्षक, परिवार र विश्वभरका पोर्चुगिज समर्थकलाई धन्यवाद दिएका छन्। ‘यी २३ वर्षका लागि धन्यवाद। मलाई विश्वास गर्नुभएकोमा धन्यवाद। पोर्चुगल सधैँ मेरो मनमा रहनेछ। सधैँका लागि,’ उनले लेखेका छन्। रोनाल्डोले सन् २००३ मा पोर्चुगलको राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय फुटबल यात्रा सुरु गरेका थिए।
क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट लिए सन्यास

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






