धनकुटा । आर्थिक संकट, कच्चा पदार्थको अभाव र उत्पादन लागत बढ्दै गएपछि बन्द भएको धनकुटाको एकमात्र ठूलो सिमेन्ट उद्योग ‘निगाले सिमेन्ट’ लामो समय बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन । कोरोना महामारीसँगै बन्द भएको उद्योग पुनः सञ्चालन हुने सम्भावना न्यून देखिएपछि त्यहाँ कार्यरत १५० भन्दा बढी कर्मचारी तथा मजदुर बेरोजगार बनेका छन् । उद्योग बन्द हुँदा कोशी प्रदेशका पहाडी जिल्लामा सिमेन्ट आपूर्तिसमेत प्रभावित भएको छ । छथर जोरपाटी गाउँपालिका–६, सिधुवामा सञ्चालित उद्योगको दैनिक उत्पादन क्षमता ६ हजार बोरा थियो । तर, आर्थिक मन्दी, बजारमा सिमेन्टको माग घट्नु र कच्चा पदार्थको मूल्य बढ्दै जानुका कारण उद्योगको उत्पादन दैनिक तीन हजार बोरामा सीमित भएको थियो । निरन्तर घाटा हुन थालेपछि उद्योग बन्द गर्नुपरेको सञ्चालकको भनाइ छ । उद्योग सञ्चालक दिनेश पौडेलले तत्काल उद्योग सञ्चालन गर्ने कुनै तयारी नरहेको बताए । सानो उद्योग भएकाले ठूला सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्न नसक्दा बन्द गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ । ठूलो लगानी जोखिममा परेको उल्लेख गर्दै उनले नेपालमा लगानी गरे पनि अपेक्षित प्रतिफल प्राप्त गर्न कठिन रहेको बताए । उद्योग स्थापना भएदेखि नै भौगोलिक अवस्था र चिसो मौसमका कारण पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको पौडेलले बताए । दैनिक ३०० टन उत्पादन क्षमता भए पनि वास्तविक उत्पादन १५० टनमा सीमित हुने गरेको थियो । त्यसमा पनि कोरोना महामारीपछि अर्थतन्त्रमा आएको मन्दीले उद्योगलाई थप संकटमा पारेको थियो । भारतबाट आयात गर्नुपर्ने कोइला, बक्साइट, लेटराइट र जिप्समलगायत कच्चा पदार्थको मूल्य अत्यधिक बढेपछि उत्पादन लागतसमेत वृद्धि भएको थियो । एकातिर उत्पादन खर्च बढ्दै जानु र अर्कोतर्फ सिमेन्टको बिक्री घट्नुले उद्योग निरन्तर घाटामा गएको पौडेलले बताए । उद्योग सञ्चालनमा रहँदा धनकुटासहित तेह्रथुम, भोजपुर र संखुवासभाको सिमेन्ट मागको करिब ८० प्रतिशत आपूर्ति गर्दै आएको थियो । उद्योग बन्द भएपछि यी जिल्लाको बजारमा अन्य जिल्लाका उद्योगबाट उत्पादित सिमेन्टमा निर्भर हुनुपर्ने अवस्था आएको छ ।
कोरोनापछि थलिएको निगाले सिमेन्ट उद्योग अझै सञ्चालनमा आउन सकेन

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु





