काठमाडौं, मंसिर १ । दक्षिण कोरिया रोजगारीका लागि लिइने कोरियन भाषा परीक्षा आजदेखि सुरु हुँदैछ । ईपीएस कोरिया शाखाले आजदेखि सेवा क्षेत्रको परीक्षा सञ्चालन गर्न लागेको हो । परीक्षाको पहिलो दिन आज सेवा क्षेत्रका लागि मात्रै परीक्षा सञ्चालन हुनेछ । यस क्षेत्रमा एक हजार ३९ जनाले आवेदन दिएका छन् । यसपटक कोरियन भाषा परीक्षामा दुई नयाँ क्षेत्र थपिएका छन् । यसअघि उत्पादनमूलक तथा कृषि र पशुपालन क्षेत्रमा मात्रै परीक्षा हुँदै आएकोमा यस वर्षदेखि सेवा र वन क्षेत्र पनि थपिएका हुन् । परीक्षा क्षेत्रअनुसार छुट्टाछुट्टै मितिमा सञ्चालन हुनेछ । वन क्षेत्रको परीक्षा नोभेम्बर १८ देखि, कृषि तथा पशुपालन क्षेत्रको नोभेम्बर २० देखि र उत्पादनमूलक क्षेत्रको परीक्षा डिसेम्बर ११ देखि सुरु हुनेछ । आजदेखि सुरु हुने परीक्षा सन् २०२७ फेब्रुअरी २५ सम्म सञ्चालन हुने ईपीएस कोरिया शाखाले जनाएको छ । यसपटक परीक्षाका लागि कुल ७६ हजार १७३ जनाले आवेदन दिएका छन् । तीमध्ये उत्पादनमूलक क्षेत्रमा ५३ हजार १०३, कृषि तथा पशुपालन क्षेत्रमा २० हजार ९०७, वन क्षेत्रमा एक हजार १२४ र सेवा क्षेत्रमा एक हजार ३९ जनाले आवेदन दिएका छन् । उत्पादनमूलक क्षेत्रमा सबैभन्दा बढी आवेदन परेको छ भने सेवा क्षेत्रमा सबैभन्दा कम आवेदन परेको छ ।
कोरियन भाषा परीक्षा आजदेखि सुरु, ७६ हजारभन्दा बढी परीक्षार्थी सहभागी हुँदै

Read Complete Original Article
Published originally on जनताटाइम्स






