तेहरान । इरानले ‘स्ट्रेट अफ हर्मुज’मा अवस्थित केश्म टापुमाथि दुईवटा अमेरिकी एमक्यू–९ ड्रोन खसालेको दाबी गरेको छ। इरानी सरकारी सञ्चारमाध्यम प्रेस टीभीका अनुसार इरानको हवाई प्रतिरक्षा बलले शनिबार सो दाबी गरेको हो।इरानी सरकारी समाचार संस्था इर्नाका अनुसार, स्थानीय प्रत्यक्षदर्शीले केश्म टापुको सुजा क्षेत्रमा दुईवटा वस्तु खसेको बताएका थिए। यसैबीच, अल जजिराले अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) का एक अधिकारीलाई उद्धृत गर्दै शनिबार सामाजिक सञ्जाल एक्समा उक्त कमान्डले केश्म टापुसम्बन्धी समाचारबारे जानकारी पाएको जनाएको छ। ती अधिकारीले त्यहाँको अवस्था तुलनात्मक रूपमा शान्त रहेको बताउँदै यस विषयमा थप टिप्पणी गर्न अस्वीकार गरेको अल जजिराले जनाएको छ। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार अमेरिकी सेनाले इरानको हवाई प्रतिरक्षा प्रणालीलाई लक्षित गरी नयाँ आक्रमण गरेको बताएका थिए। उनले उक्त सैन्य कारबाहीलाई ‘सामान्य’ प्रकृतिको भन्दै त्यस क्रममा इरानको एउटा सानो हवाई प्रतिरक्षा उपकरण नष्ट गरिएको दाबी गरेका थिए। फ्लोरिडाको वेस्ट पाम बिचमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले उक्त उपकरण करिब १५ मिनेट, सम्भवतः पाँच मिनेटमै नष्ट गरिएको बताएका थिए। यसैबीच, अमेरिकी सेन्ट्रल कमान्डले शुक्रबार राति सामाजिक सञ्जाल एक्समार्फत इरानको आणविक कार्यक्रमबारे सूचना दिनेलाई दुई करोड अमेरिकी डलरसम्म पुरस्कार दिने घोषणा गरेको छ। आणविक कार्यक्रमसँग सम्बन्धित संरचना, उपकरण, वैज्ञानिक तथा अन्य कर्मचारी र तिनका गतिविधिबारे जानकारी दिनेलाई पुरस्कारका साथै अन्यत्र स्थानान्तरणको अवसरसमेत उपलब्ध गराइने कमान्डले जनाएको छ। इरानले भने युरेनियम संवर्धन आफ्नो आणविक उद्योगको अभिन्न अङ्ग भएको बताउँदै आएको छ। आफ्नो आणविक कार्यक्रम अन्तरराष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) सँगको सुरक्षा सम्झौता तथा आणविक हतियार अप्रसार सन्धिको पूर्ण पालना गर्दै अघि बढिरहेको इरानको दाबी छ। एएफपी
केश्म टापुमा अमेरिका र इरानको भिडन्त, इरानको सूचना दिनेलाई दुई करोड डलर पुरस्कार दिने घोषणा

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






