काठमाडौं । काठमाडौंका ठमेल र दरबारमार्गमा सीमित चौबिसै घण्टा व्यापार व्यवसाय सञ्चालनको व्यवस्था अब जिल्लाका अन्य क्षेत्रमा पनि विस्तार गर्ने तयारी प्रशासनले थालेको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरराज पाण्डेले मंगलबार सूचना जारी गर्दै काठमाडौंका सबै बजार क्षेत्रमा व्यापार व्यवसाय चौबिसै घण्टा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिएका हुन्। हाल काठमाडौंका ठमेल र दरबारमार्ग क्षेत्र मात्रै चौबिसै घण्टा खुला छन्। अन्य क्षेत्रलाई पनि रातदिन खुला राख्ने व्यवस्था मिलाउन स्थानीय तह, विभिन्न विभाग तथा कार्यालय, यातायात व्यवसायी र निजी क्षेत्रसँग समन्वय गरिने प्रशासनले जनाएको छ। संघीय राजधानी तथा महत्वपूर्ण क्षेत्र भएकाले आवश्यक सुरक्षा व्यवस्था र पूर्वाधार सुनिश्चित गरेर मात्रै जिल्लाका सबै क्षेत्र चौबिसै घण्टा खुला गरिने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताएका छन्। यसका लागि सडक यातायात, स्वास्थ्य सेवा, विद्युत्, इन्टरनेट, सीसीटीभी, सडक बत्ती लगायतका पूर्वाधार पर्याप्त बनाउनुपर्ने प्रशासनको भनाइ छ। साथै यातायात, व्यापार व्यवसाय, वस्तु तथा सेवाको आपूर्ति र सुरक्षालाई भरपर्दो बनाउने गरी रणनीतिक तयारी भइरहेको सूचनामा उल्लेख छ। प्रशासनका अनुसार आवश्यक तयारी र समन्वय पूरा भएपछि मात्रै काठमाडौंका सबै क्षेत्र चौबिसै घण्टा खुला गर्ने निर्णय हुनेछ। त्यसअघि अर्को सूचना जारी नभएसम्म ठमेल र दरबारमार्गबाहेक अन्य क्षेत्रका व्यवसायीले साविककै निर्धारित समयअनुसार व्यवसाय सञ्चालन गर्नुपर्नेछ।
काठमाडौंका सबै क्षेत्र २४ घण्टा खुला गर्ने प्रशासनको तयारी

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






