नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले नेकपा एमालेमा असन्तुष्ट भएर बसिरहेका नेता तथा कार्यकर्तालाई विद्रोह गरेर एकता प्रक्रियामा आउन आह्वान गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीचको एकता घोषणा कार्यक्रममा बोल्दै नेपालले एमाले व्यक्ति विशेषले कब्जा गरेको टिप्पणी गर्दै उकुसमुकुस भएर बसिरहेका नेता–कार्यकर्तालाई नेकपासँगको एकता प्रक्रियामा सहभागी हुन आग्रह गरेका हुन् । उनले मुलुकका विद्यमान समस्या समाधानका लागि कम्युनिस्ट शक्तिहरू एकताबद्ध हुन आवश्यक रहेको भन्दै विभिन्न कम्युनिस्ट घटकमा रहेका नेता तथा कार्यकर्तालाई पनि एकतामा आउन आह्वान गरे । ‘एमालेमा विभिन्न हिसाबले उकुसमुकुसका साथ बसिरहेकाहरूलाई विद्रोह गरेर आउन भन्ने कि, सिंगै पार्टी लिएर आउन भन्ने ? यस अर्थमा त्यति मात्रै होइन, अरू थुप्रै घटकहरू हुनुहुन्छ,’ नेपालले भने, ‘मोहनविक्रम सिंहको नेतृत्वको होस्, चाहे मोहन वैद्यजीको नेतृत्व, नेत्रविक्रम चन्दजीलाई समेत म एकतामा आउन आह्वान गर्न चाहन्छु ।’ नेपालले नेत्रविक्रम चन्दसहितका नेताहरूसँग विगतमा समाजवादी मोर्चा निर्माण गरी देशव्यापी अभियान सञ्चालन गरिएको स्मरण गरे । उक्त अभियानमार्फत हजारौँ कार्यकर्ता आन्दोलनमा जोडिएको उनले बताए । उनले सहकार्यका लागि उपेन्द्र यादवसहितका अन्य राजनीतिक शक्तिलाई पनि आह्वान गरे । राष्ट्रियताको रक्षा, संविधानको संरक्षण, गणतन्त्र र समावेशीताको नीति जोगाउन तथा जनअधिकारको रक्षाका लागि सबै शक्तिबीच एकता र सहकार्य आवश्यक रहेको उनको भनाइ थियो । विश्वव्यापी रूपमा कम्युनिस्ट आन्दोलनप्रति देखिएको निराशा र विभिन्न देशमाथि भइरहेको अमेरिकी हस्तक्षेपले चुनौती बढाएको भन्दै नेपालले चिन्ता व्यक्त गरे । नेपाललाई पनि अमेरिकी रणनीतिक स्वार्थ पूरा गर्ने स्थानका रूपमा हेरिएको उनको दाबी थियो । उनले राष्ट्रिय स्वार्थको संरक्षण र राजनीतिक उपलब्धिको रक्षाका लागि कम्युनिस्टसहित अन्य राजनीतिक शक्तिबीच एकता र सहकार्य आवश्यक रहेको बताए ।
एमालेमा असन्तुष्ट नेता कार्यकर्तालाई विद्रोह गर्न माधव नेपालको सुझाव

Read Complete Original Article
Published originally on पर्दाफास






