काठमाडौं । नेकपा एमालेले आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय भेलामा ३ हजार ५१४ जना सहभागी हुने जनाएको छ । आगामी स्थानीय तह निर्वाचनको तयारी, पार्टीको वैचारिक स्पष्टता र संगठनात्मक एकता सुदृढ गर्ने उद्देश्यले एमालेले राष्ट्रिय भेला आयोजना गर्न लागेको हो । सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख निरज आचार्यले भेलाको तयारी र उद्देश्यबारे जानकारी दिँदै केन्द्रीय नेतृत्वदेखि पालिका तहका कमिटीका पदाधिकारी तथा पार्टीबाट निर्वाचित जनप्रतिनिधिसम्मको सहभागिता रहने बताउनुभयो । उहाँका अनुसार पार्टीको इतिहासमै पहिलोपटक पालिका तहका कमिटीदेखि केन्द्रीय नेतृत्व र संघीय संसददेखि स्थानीय तहसम्मका जनप्रतिनिधिलाई एउटै मञ्चमा सहभागी गराएर राष्ट्रिय भेला आयोजना गर्न लागिएको हो । सहभागी संख्याका आधारमा यो महाधिवेशनपछिको ठूलो कार्यक्रम हुने उहाँले बताउनुभयो । भेलाको उद्घाटन मंसिर २ गते बिहान ११ बजे ललितपुरस्थित हाइटफिल्ड क्याटरिङ ब्याङ्क्वेटमा पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुने कार्यक्रम छ । आचार्यका अनुसार भेलाको मुख्य उद्देश्य आगामी स्थानीय तह निर्वाचनको व्यवस्थित पूर्वतयारी गर्नु, पार्टीका निर्णय र राजनीतिक बुझाइमा एकरूपता कायम गर्नु तथा वैचारिक र संगठनात्मक एकतालाई थप मजबुत बनाउनु हो । मुलुकमा पछिल्लो समय देखिएको कुशासन, राजनीतिक अन्योल र निराशालाई चिर्दै जनतामाझ नयाँ आशा र ऊर्जा सञ्चार गर्ने लक्ष्य पनि भेलाले राखेको छ । भेलामा अध्यक्ष ओलीले मुलुकको वर्तमान राजनीतिक अवस्थाको विश्लेषण, पार्टीको दृष्टिकोण र आगामी कार्यदिशाबारे सम्बोधन गर्नुहुनेछ । उहाँले केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकले पारित गरेका दुई प्रमुख कार्यभार र गर्नुपर्ने १५ कामका विषयमा पनि राजनीतिक तथा वैचारिक मार्गनिर्देशन गर्नुहुने कार्यक्रम छ । त्यस्तै, पार्टीका वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समसामयिक राजनीतिक विषय र पार्टीका कार्यभारबारे विशेष सम्बोधन गर्नुहुनेछ । भेलामा उपाध्यक्ष रामबहादुर थापाले संसदीय संघर्षसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुहुनेछ भने अर्का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमाले सरकारमा रहँदा भएका महत्वपूर्ण काम तथा उपलब्धिहरूको समीक्षा प्रस्तुत गर्नुहुनेछ । महासचिव शंकर पोखरेलले पार्टी सुदृढीकरण, शुद्धीकरण तथा स्थानीय निर्वाचनसम्बन्धी कार्ययोजना प्रस्तुत गर्ने कार्यक्रम रहेको आचार्यले जानकारी दिनुभयो । भेलामा केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी, प्रवासी नेपाली मञ्चका प्रतिनिधि र पालिका कमिटीका अध्यक्ष तथा उपाध्यक्ष सहभागी हुनेछन् । त्यसैगरी संघीय सांसद, प्रदेशसभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख, पालिका प्रमुख तथा उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष र जनसंगठनका प्रतिनिधिको पनि सहभागिता रहनेछ । राष्ट्रिय भेलामा सहभागी सबैबाट स्थानीय निर्वाचन केन्द्रित सुझाव लिखित रूपमा संकलन गरिने एमालेले जनाएको छ । प्राप्त सुझावका आधारमा आगामी निर्वाचनको रणनीति र पार्टीको संगठनात्मक तयारीलाई थप प्रभावकारी बनाउने एमालेको अपेक्षा छ । भेलाको व्यवस्थापनका लागि १९० जना स्वयंसेवक परिचालन गरिनेछ । सहभागीहरूको आवास व्यवस्था आफैँ गर्नुपर्ने भए पनि त्यसो गर्न नसक्नेहरूका लागि सम्बन्धित जिल्ला सम्पर्क कमिटीले समन्वय गर्नेछ । त्यस्तै, कार्यक्रमस्थलको मुख्य प्रवेशद्वारमा स्वास्थ्य सहायता कक्ष स्थापना गरिने र सवारीसाधनको पार्किङ व्यवस्था पार्टी केन्द्रीय कार्यालय च्यासलमा मिलाइएको आचार्यले बताउनुभयो । उद्घाटन समारोहमा सञ्चारकर्मीलाई समाचार संकलन, श्रव्यदृश्य सामग्री छायांकन तथा सम्प्रेषणका लागि सभाहलमा पहुँच दिइनेछ । बन्दसत्रका गतिविधिबारे भने पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले मिडिया सेन्टरमार्फत नियमित जानकारी उपलब्ध गराउने एमालेले जनाएको छ । स्थानीय निर्वाचनलाई केन्द्रमा राखेर आयोजना गर्न लागिएको भेलालाई एमालेले पार्टीको संगठनात्मक अवस्था समीक्षा गर्ने, नेतृत्वदेखि स्थानीय तहसम्म राजनीतिक बुझाइमा एकरूपता कायम गर्ने र आगामी निर्वाचनको रणनीति तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको छ ।
एमालेको राष्ट्रिय भेलामा ३ हजार ५१४ सहभागी हुँदै, स्थानीय निर्वाचनको तयारी मुख्य एजेण्डा

Read Complete Original Article
Published originally on हिमालय टाइम्स




.jpeg)

