काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको निलम्बनसहित प्रशासनिक तथा आर्थिक प्रतिबन्ध फुकुवा गरेको छ। राखेपको कार्यकारी समितिले यसअघि विभिन्न समयमा एन्फामाथि लगाएका सबै प्रकारका प्रतिबन्ध हटाउने निर्णय गरेको हो। राखेपका सदस्यसचिव रामचरित्र मेहताले पत्र पठाउँदै एन्फालाई निर्णयबारे औपचारिक जानकारी गराएका छन्। राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २९ (३) बमोजिम निलम्बन तथा प्रतिबन्ध फुकुवा गरिएको पत्रमा उल्लेख छ। राखेपले आफ्नो निर्णयबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा तथा खेलकुद मन्त्रालय, सम्बन्धित मन्त्रीको सचिवालयसँगै अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) लाई समेत जानकारी गराएको छ। यसअघि राखेपले पटक–पटक दिएको निर्देशन पालना नगरेको भन्दै गत चैत ११ गते एन्फालाई निलम्बन गरेको थियो। त्यसपछि एन्फाको आन्तरिक मामिलामा तेस्रो पक्षबाट हस्तक्षेप भएको भन्दै फिफाले गत असार ११ गते एन्फालाई अनिश्चितकालका लागि निलम्बन गरेको थियो। राखेपको पछिल्लो निर्णयसँगै नेपालभित्र एन्फामाथि लगाइएको प्रशासनिक तथा आर्थिक प्रतिबन्ध हटेको छ। तर, फिफाले लगाएको निलम्बन भने छुट्टै विषय भएकाले त्यसको अवस्था र फुकुवाबारे छुट्टै निर्णय आवश्यक हुनेछ।
एन्फामाथि राखेपले लगाएको प्रशासनिक र आर्थिक प्रतिबन्ध फुकुवा

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






