अमेरिकी गुप्तचर निकायको एक गोप्य प्रतिवेदनमा प्रविधि कम्पनी मेगास्पिडकी कार्यकारी अधिकारी एलिस हुआङलाई एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङमाथि निगरानी गर्न चीनले परिचालन गरेको दाबी गरिएको छ। विभिन्न सञ्चारमाध्यमका अनुसार चीनको राज्य सुरक्षा मन्त्रालयले एलिसलाई जेन्सेनमाथि जासुसी गर्न भर्ती गरेको दाबी प्रतिवेदनमा गरिएको छ। यस विषयमा सबैभन्दा पहिले द न्युयोर्क टाइम्सले गत नोभेम्बर ६ मा समाचार प्रकाशित गरेको थियो। यसअघि पनि उक्त पत्रिकाले एनभिडियाका प्रमुख चिनियाँ गुप्तचर निकायको निगरानीमा रहेको समाचार सार्वजनिक गरेको थियो। फाइनान्सियल टाइम्सका अनुसार अमेरिकी गुप्तचर प्रतिवेदनमा जेन्सेन हुआङ र सिंगापुरमा मुख्यालय रहेको कम्पनी मेगास्पिडकी कार्यकारी एलिस हुआङबीच प्रेम सम्बन्ध रहेको दाबीसमेत गरिएको छ। यस विषयमा एनभिडियाका प्रवक्ताले न्युयोर्क टाइम्सलाई जेन्सेन र एलिसबीचको भेटघाट तथा कुराकानी असामान्य नभएको बताएका छन्। कम्पनीले आफ्ना ग्राहकसँग गोप्य सरकारी सूचना भने साझा नगर्ने उनको भनाइ छ। यसैबीच, न्युयोर्क टाइम्सले छुट्टै समाचारमार्फत अमेरिकाको वाणिज्य मन्त्रालयबाट एनभिडियाका उन्नत चिप खरिद गर्ने अनुमति पाएको चिनियाँ कम्पनी ‘न्यु म्याट्रिक्स’ बारे पनि अनुसन्धान गरेको छ। समाचारअनुसार उक्त कम्पनीले आफ्नो कार्यालयको ठेगाना दिएको स्थानमा पत्रकारहरू पुग्दा त्यहाँ कार्यालयको सट्टा खाली रित्तो भवनजस्तो संरचना मात्रै फेला परेको थियो। यसले उक्त कम्पनी प्रतिबन्धित एक निजी लगानी कम्पनीको आवरणमा सञ्चालन भइरहेको हुन सक्ने आशंका जन्माएको छ। एनभिडियाका प्रवक्ताले भने कम्पनीले आफ्नो प्रविधिमध्ये सबैभन्दा उत्कृष्ट र ठूलो हिस्सा अमेरिकामै बिक्री गर्ने गरेको बताएका छन्। The post एनभिडियाका प्रमुखलाई निगरानी गर्न चीनले मेगास्पिडका अधिकारीलाई परिचालन गरेको अमेरिकी गुप्तचरको दाबी appeared first on Technology Khabar.
एनभिडियाका प्रमुखलाई निगरानी गर्न चीनले मेगास्पिडका अधिकारीलाई परिचालन गरेको अमेरिकी गुप्तचरको दाबी

Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर






