काठमाडौं । नेपाल फुटबल लिग (एनएफएल) मा थप तीन टोली सहभागी गराउने उद्देश्यले आह्वान गरिएको बोलपत्र पेस गर्ने म्याद शुक्रबारसम्म थप गरिएको छ । चाडपर्वको बिदालाई मध्यनजर गर्दै इच्छुक पक्षलाई आवश्यक तयारीका लागि थप समय उपलब्ध गराउन बोलपत्र पेस गर्ने अन्तिम मिति मंसिर ४ (नोभेम्बर २०, २०२६) सम्म पुर्याइएको एनएफएलका चेयरमेन कल्याण गुरुङले बताउनुभएको छ । यसअघि कात्तिक ३० (नोभेम्बर १६) सम्मको समय दिइएको थियो । एनएफएलले विराटनगर, धरान, जनकपुर, वीरगञ्ज, हेटौँडा, भक्तपुर, नेपालगञ्ज र सुर्खेत सहरको प्रतिनिधित्व गर्ने नयाँ फुटबल क्लब स्थापनाका लागि बोलपत्र आह्वान गरेको थियो । नयाँ क्लबका लागि आवेदन दिने पक्षले आफ्नो व्यावसायिक तथा वित्तीय इतिहास, आगामी १० वर्षको क्लब सञ्चालन योजना र सामाजिक विश्वसनीयतासम्बन्धी विवरण पेस गर्नुपर्नेछ । नेपाली फुटबललाई व्यावसायिक दिशातर्फ अघि बढाउने लक्ष्यसहित एनएफएलको पहिलो संस्करण आगामी फागुन १ गतेदेखि सुरु हुने घोषणा भइसकेको छ । पहिलो संस्करणमा घरेलु फुटबलका सात क्लबले सहभागिता जनाउने निश्चित छ । नेपाल फुटबल लिगमा काठमाडौं रेजर्स, ललितपुर सिटी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी, धनगढी एफसी र झापा एफसी पुरानै क्लबका रुपमा हुनेछन् । थप तीन टोली समावेश भएपछि लिगमा सहभागी क्लबको संख्या १० पुग्नेछ । रंगशालाको उपलब्धताका आधारमा प्रतियोगिता होम एण्ड अवे प्रणालीमा सञ्चालन गर्ने जनाएको छ । तयारी अवधिसहित एनएफएल करिब चार महिना सञ्चालन हुनेछ ।
एनएफएलमा तीन नयाँ टोली थप्ने बोलपत्रको म्याद थपियो

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






