काठमाडौं । सूर्य उपासनाको महापर्व छठ आज (सोमबार) बिहान उदाउँदो सूर्यलाई विधिपूर्वक अर्घ्य अर्पण गरेसँगै सम्पन्न हुँदैछ। चार दिनसम्म विभिन्न धार्मिक विधि र परम्पराअनुसार मनाइने छठ पर्वको अन्तिम दिन आज देशभरका व्रतालुहरूले उदाउँदो सूर्यको पूजा–आराधना गरी अर्घ्य अर्पण गरिरहेका छन्। छठ पर्वको मुख्य दिन आइतबार कात्तिक शुक्ल षष्ठीका अवसरमा व्रतालुहरूले दिनभर निराहार व्रत बसेर साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए। त्यसपछि रातभर नदी, पोखरी तथा जलाशयका किनारमा जाग्राम बसेका उनीहरूले सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरी पर्वको समापन गरेका हुन्। छठ मनाइरहेका देशभरका नदी, पोखरी तथा जलाशयका किनारमा बिहानैदेखि व्रतालु र श्रद्धालुहरूको भीड लागेको छ। विशेषगरी तराई–मधेस क्षेत्रमा छठको उल्लास देखिएको छ भने काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा पनि श्रद्धा र भक्तिपूर्वक पर्व मनाइएको छ। पर्वलाई लक्षित गर्दै नदी, पोखरी तथा जलाशयका किनार सरसफाइ गरी आकर्षक रूपमा सजाइएको छ। पूजास्थलहरूमा झिलिमिली बत्ती, फूलमाला तथा विभिन्न सजावटका सामग्री राखेर सिँगारिएको छ। व्रतालुहरूले बाँसका ढाकी, नाङ्लो र सुपलीमा ठकुवा, भुसुवा तथा विभिन्न फलफूललगायत प्रसाद राखेर सूर्यदेवलाई अर्घ्य अर्पण गर्ने परम्परा छ। यसैबीच, सरकारले छठ पर्वको अन्तिम दिन सोमबार पनि सार्वजनिक बिदा दिएको छ। यसअघि छठको मुख्य दिन कात्तिक शुक्ल षष्ठीमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिने दिन मात्रै सार्वजनिक बिदा दिँदै आएको सरकारले यस वर्ष पहिलोपटक सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिने अवसरमा समेत बिदा दिएको हो। छठ पर्वलाई सत्य, अहिंसा, शुद्धता, आस्था र प्रकृतिप्रतिको सम्मानको प्रतीकका रूपमा लिइन्छ। यस पर्वमा सूर्यदेव र छठी माताको पूजा–आराधना गर्दै परिवारको सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको कामना गर्ने धार्मिक मान्यता रहेको छ।
उदाउँदो सूर्यलाई अर्घ्य दिइँदै समापन गरिँदैछ छठ पर्व

Read Complete Original Article
Published originally on नेपालन्युज






