Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

उत्कृष्ट करदाता बनेको सिजी इम्पेक्स क्रेडिट रेटिङमा भने ‘असहयोगी’,पारदर्शितामा प्रश्न

Share:WhatsAppFacebookX (Twitter)Telegram
उत्कृष्ट करदाता बनेको सिजी इम्पेक्स क्रेडिट रेटिङमा भने ‘असहयोगी’,पारदर्शितामा प्रश्न
Photo / Coverage: टक्सार

काठमाडौँ । वस्तु व्यापारतर्फ सर्वाधिक आयकर तिरेर सरकारबाट ‘उत्कृष्ट करदाता’ को सम्मान पाएको चौधरी ग्रुप अन्तर्गतको सिजी इम्पेक्स प्रालि क्रेडिट रेटिङ प्रक्रियामा भने ‘असहयोगी’ सूचीमा परेको छ । सिजी इम्पेक्स आर्थिक वर्ष २०८१÷८२ मा वस्तु व्यापारतर्फ सर्वाधिक आयकर तिरेको भन्दै सरकारले २०८३ मङ्सिर १ गते उत्कृष्ट करदाताको रूपमा सम्मान गरेको थियो । पहिलोपटक उत्कृष्ट करदाता बनेलगत्तै सिजि इम्पेक्स क्रेडिट रेटिङ प्रक्रियामा ‘असहयोगी’ सूचीमा परेको हो । कम्पनीले ३ अर्ब ९० करोड रुपैयाँ बराबरको अल्पकालीन कर्जा सीमाको रेटिङ अद्यावधिक गर्न आवश्यक वित्तीय विवरण उपलब्ध नगराएपछि क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई ‘असहयोगी’ श्रेणीमा राख्दै रेटिङ फिर्ता लिने सूचना जारी गरेको हो । इक्रा नेपालले कम्पनीको रेटिङलाई ‘इक्राएनपी एथ्री प्लस एट द रेट इस्युअर नट कोअपरेटिङ’ कायम गरेको छ । अघिल्लो रेटिङको म्याद सकिनु दुई महिना अघिदेखि नै पटक–पटक ताकेता गर्दा पनि सिजी इम्पेक्स व्यवस्थापनले आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण उपलब्ध नगराएर अन्य जानकारी पनि अधुरो मात्र पठाएको इक्राले जनाएको छ । सरकारी राजस्व कार्यालयमा समयमै विवरण बुझाएर सम्मान थापेको देशकै प्रतिष्ठित व्यावसायिक घरानाले सर्वसाधारणको निक्षेप जोडिएको बैंक कर्जाको जोखिम मूल्याङ्कनमा भने विवरण लुकाउन खोज्नुलाई ‘चयनमुखी पारदर्शिता’ का रूपमा हेरिएको छ । उत्कृष्ट करदाता बनेको कम्पनी किन एक्कासि रेटिङ प्रक्रियाबाट पन्छिन खोज्यो भन्ने प्रश्नको उत्तर प्रतिवेदनमा उल्लेखित तथ्याङ्क र पछिल्ला घटनाक्रमसँग जोडिएको देखिन्छ । कम्पनीले बुझाएको अपरिष्कृत विवरणमा आर्थिक वर्ष २०८१/८२ मा करिब १८ प्रतिशत र आर्थिक वर्ष २०८२/८३ मा करिब २० प्रतिशतले आम्दानी बढेको तथा सञ्चालन नाफा मार्जिन विगतकै लयमा रहेको देखाइएको छ । तर, आर्थिक वर्ष २०८१/८२ सकिएलगत्तै भदौ २०८२ (सेप्टेम्बर २०२५) मा देशमा भएको जेनजी आन्दोलन(दङ्गा तथा प्रदर्शन)का कारण कम्पनीको मौज्दातमा परेको असर उक्त वित्तीय विवरणमा समावेश भए वा नभएको भन्नेबारे स्पष्ट जानकारी नै छैन । दङ्गा(जेनजी आन्दोलन)को वास्तविक क्षति नखुलेकाले कम्पनीको कर्जा तिर्न सक्ने क्षमता र समग्र वित्तीय स्वास्थ्यमा कति असर पर्‍यो भन्ने यकिन गर्न नसकिएको इक्राले जनाएको छ । यसका साथै पछिल्ला वर्षहरूमा कम्पनीको कुल बाह्य दायित्व र खुद सम्पत्तिबिचको अनुपात तथा ऋणभार बढ्दै गएको प्रतिवेदनमा उल्लेख छ । एकातिर बाह्य दायित्व बढ्दै जाने र अर्कोतिर कम्पनीले बीचमै लाभांश वितरण समेत गरेकाले वित्तीय दबाब बढेको प्रतिवेदनले औंल्याएको छ । दङ्गाको क्षति र बढ्दो दायित्वको वास्तविक हिसाब जोड्दा कम्पनीको कर्जा तिर्न सक्ने क्षमता कमजोर देखिने र रेटिङ घट्ने डरले व्यवस्थापनले पूर्ण विवरण दिन आनाकानी गरेको जानकारहरू बताउँछन । क्रेडिट रेटिङ भनेको कुनै पनि कम्पनीले लिएको ऋण समयमै साँवा र ब्याजसहित तिर्न सक्छ कि सक्दैन भनी स्वतन्त्र निकायले गर्ने ‘वित्तीय स्वास्थ्य परीक्षण’ हो । सर्वसाधारणको निक्षेप सुरक्षित राख्न नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन अनुसार ५० करोड रुपैयाँ वा सोभन्दा बढीको बैंक कर्जा लिने वा नवीकरण गर्ने प्रत्येक कम्पनीले अनिवार्य रूपमा क्रेडिट रेटिङ गराउनुपर्छ । यस्तै, नेपाल धितोपत्र बोर्डको ‘क्रेडिट रेटिङ नियमावली, २०६८’ अनुसार रेटिङ गराइसकेपछि कम्पनीले प्रत्येक वर्ष वित्तीय विवरण बुझाएर रेटिङ अद्यावधिक गराउनुपर्छ र विवरण नदिएमा एजेन्सीले ‘असहयोगी’ सूचीमा राखेर रेटिङ फिर्ता लिने कानुनी व्यवस्था छ । यो पनि पढ्नुहोस कर बक्यौता देखिएपछि उत्कृष्ट करदाता सम्मान सूचीबाट भाटभटेनी हटाइएको खुलासा राष्ट्र बैंकको नियम अनुसार ५० करोडभन्दा माथिको कर्जा नवीकरण गर्दा मान्य रेटिङ अनिवार्य चाहिने भएकाले रेटिङ ‘असहयोगी’ सूचीमा पर्दा र पछि फिर्ता हुँदा बैंकहरूलाई सिजी इम्पेक्सको ३ अर्ब ९० करोड रुपैयाँको अल्पकालीन कर्जा नवीकरण गर्न कानुनी र नीतिगत जटिलता आउनेछ । त्यस्तै, रेटिङ अनिश्चित हुँदा बैंकहरूका लागि यो कर्जा उच्च जोखिमयुक्त बन्ने भएकाले बैंकहरूले कर्जाको ब्याजदर बढाउन सक्नेछन् भने राष्ट्र बैंकको नियम अनुसार बैंकहरूले उक्त कर्जाबापत बढी पुँजी जोहो गर्नुपर्ने दबाब सिर्जना हुनेछ । एलजी, सिजी, ब्ल्याक एन्ड डेकर, क्रम्प्टन र पिजन जस्ता ब्रान्डको कारोबार गर्ने तथा उत्कृष्ट करदाता बनेको कम्पनीमाथि ‘विवरण लुकाएको’ दाग लाग्दा विदेशी आपूर्तिकर्ता र व्यावसायिक साझेदारहरूमाझ समेत विश्वसनीयता कमजोर हुने जोखिम बढेको छ । पूर्ण विवरणको अभावमा वास्तविक जोखिम मूल्याङ्कन गर्न असम्भव भएपछि इक्रा नेपालले बैंक, वित्तीय संस्था र लगानीकर्ताहरूलाई यो रेटिङ प्रयोग गर्दा विशेष सावधानी अपनाउन सचेत गराउँदै कम्पनीको वास्तविक जोखिम हाल देखाइएको रेटिङ सङ्केतभन्दा धेरै बढी हुन सक्ने चेतावनी दिएको छ । कम्पनीले बैंकिङ प्रणालीको अर्बौं कर्जा उपभोग गरिरहँदा देखाएको यो अपारदर्शिताले समग्र कर्पोरेट सुशासनमाथि नै गम्भीर संशय पैदा गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
सुकुमवासीले ७ महिना बित्दासमेत पाएनन् बास, होल्डिङ सेन्टरसमेत छाड्न उर्दी
Latest NewsJust now

सुकुमवासीले ७ महिना बित्दासमेत पाएनन् बास, होल्डिङ सेन्टरसमेत छाड्न उर्दी

थापाथली, मनोहरा, सिनामंगललगायत खोला किनाराका बस्ती हटाइएको ७ महिना बितिसक्दा पनि विस्थापित सुकुमवासी अझै होल्डिङ सेन्टरमा ...

कान्तिपुर
नेपाल–भारत सहमतिले भैरहवा विमानस्थलमा उडान विस्तारको आशा बढायो
Latest NewsJust now

नेपाल–भारत सहमतिले भैरहवा विमानस्थलमा उडान विस्तारको आशा बढायो

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय उडान विस्तारको सम्भावना बढेको छ । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएको यो... ...

रातोपाटी
पाल्पाको रामपुरमा नेपाल विश्वविद्यालय स्थापनाका लागि सम्भाव्यता अध्ययन
Latest NewsJust now

पाल्पाको रामपुरमा नेपाल विश्वविद्यालय स्थापनाका लागि सम्भाव्यता अध्ययन

रामपुर क्षेत्रका विभिन्न स्थानको अवलोकन गरेको टोलीले रामपुर नगरपालिकामा भएको अन्तरक्रियामा पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुर क्षेत्रका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, शिक्षाविद् तथा विभिन्न क्षेत्रका सरोकारवालाको सहभागिता थियो । ...

कान्तिपुर
यी १४ जनालाई प्रहरी सेवाबाट हटाउने तयारी
Latest NewsJust now

यी १४ जनालाई प्रहरी सेवाबाट हटाउने तयारी

काठमाडौं । एकजना प्राविधिक प्रहरी नायव निरीक्षक (सई), एक जना प्रहरी नायव निरीक्षक (असई)सहित १४ जना प्रहरीलाई एक साताभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले आग्रह गरेको छ। प्रहरी प्रधान कार्यालयको कानुन शाखाले बिहीबार सूचना जारी गर्दै १४ जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेका जनाएको छ। उनीहरूलाई सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले सात दिनको समय दिएको हो। लामो सयमदेखि सम्पर्कविहीन हुनेमा एकएक जना ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement