काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिस्रीले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी)ले तयार पारेको प्रतिवेदन अहिले सान्दर्भिक नरहेको बताएका छन्। नेपालका प्रधानमन्त्री वालेन्द्र शाहको दुईदिने भारत भ्रमण सम्पन्न भएपछि सोमबार नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा उनले ईपीजी प्रतिवेदन विगतको विषय भइसकेको टिप्पणी गरेका हुन्। प्रतिवेदनबारे सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै मिस्रीले भारत र नेपाल अब विगतका विषयमा अल्झिनुभन्दा भविष्य केन्द्रित भएर अघि बढ्नुपर्ने बताए। ‘त्यो विगतको विषय हो। हामी भविष्यकेन्द्रित दृष्टिकोण अपनाइरहेका छौँ। पछाडि फर्केर हेर्ने पक्षमा छैनौँ। त्यसैले अहिलेको सन्दर्भमा त्यो प्रतिवेदन सान्दर्भिक छैन,’ उनले भने। नेपाल–भारत सीमा व्यवस्थापनका विषयमा भने दुवै देशका प्रधानमन्त्रीले परराष्ट्र सचिवहरूलाई आवश्यक काम अघि बढाउन निर्देशन दिएको मिस्रीले जानकारी दिए। उनका अनुसार सीमा व्यवस्थापनका लागि दुवै देशबीच विभिन्न तहका संयन्त्र क्रियाशील छन्। तल्लो तहमा रहेका प्राविधिक टोलीले वरिष्ठ अधिकारीहरूको समितिमा प्रतिवेदन पेस गर्ने व्यवस्था रहेको र सीमा कार्यदलले समेत काम गरिरहेको उनले बताए। मिस्रीले पछिल्ला वर्षहरूमा नेपाल–भारत सीमा व्यवस्थापनको प्राविधिक क्षेत्रमा उल्लेखनीय प्रगति भएको दाबी गरे। सहमति भइसकेको सीमाको ठूलो हिस्सामा सीमा स्तम्भको मर्मतसम्भार तथा अतिक्रमणसम्बन्धी प्रतिवेदनको अनुसन्धानलगायतका काम भइरहेको उनको भनाइ छ। यी विषय नेपाल र भारतका प्रधानमन्त्रीले स्वीकृत गरेको संयुक्त दृष्टिकोणपत्रमा समेत समेटिएको उनले बताए। सीमा व्यवस्थापनसम्बन्धी विद्यमान संयन्त्रको बैठक निकट भविष्यमै बस्ने अपेक्षा पनि उनले व्यक्त गरे। हैदरावाद हाउसमा प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको छलफल तथा संयुक्त दृष्टिकोणपत्रको भावनाअनुसार दुवै देशले आगामी दिनमा सहकार्यलाई अघि बढाउने मिस्रीले बताए। यसैबीच, गोर्खा भर्तीसम्बन्धी विषय भने प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा छलफल नभएको पनि भारतीय विदेश सचिव मिस्रीले स्पष्ट पारेका छन्।
ईपीजी प्रतिवेदन अब सान्दर्भिक छैन : भारतीय विदेश सचिव मिस्री

Read Complete Original Article
Published originally on नेपालन्युज






